BIZMANDU
www.bizmandu.com

कोकले बोतल बनाउन ल्यायो नयाँ प्रविधि, केएचएस जर्मनीसँगको सहकार्यमा हलुका तौलको बोतल

२०७५ माघ २४

कोकले बोतल बनाउन ल्यायो नयाँ प्रविधि, केएचएस जर्मनीसँगको सहकार्यमा हलुका तौलको बोतल
कोकले बोतल बनाउन ल्यायो नयाँ प्रविधि, केएचएस जर्मनीसँगको सहकार्यमा हलुका तौलको बोतल

काठमाडौं। चीसो पेयको बजार बिस्तारमा आक्रामक देखिएको कोकाकोलाको उत्पादक बोटलर्स नेपाल तराईले कोक उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोगमा ल्याउने भएको छ। 

Tata
GBIME
Nepal Life

अहिले प्रयोगमा रहेको पेट बोटलको तुलनामा हलुका तौल, लामो समयसम्म टिकाउ रहने र पेय पदार्थको उपभोग्य आयु समेत तेब्बर लामो बनाउने पेट बोटल बोटलिङ प्रविधीको प्रयोग गर्न लागिएको हो। 

'अहिले हामीले धमाधम त्यसका लागि काम गरिरहेका छौं' बोटलर्स नेपालका एक कर्मचारीले भने, 'चाँडै नै नयाँ बोटलमा कोक ल्याउने गरी कम भइरहेको छ। एक/दुई साताभित्रै त्यो मितिका बारेमा भन्न सकिन्छ।'

अहिले प्रयोगमा रहेको पेट बोटलमा पेय पदार्थको उपभोग्य अवधी जम्मा ७५ दिन रहेकोमा नयाँ प्रविधिको बोटलिङले नौ महिनासम्म सुरक्षित राख्न सकिने प्राविधिकले जानकारी दिएका छन्।

बोटलको बाहिरी सतह प्लाष्टिक र भित्री सतह शिशा (सिलिकन अक्साइड) को प्रयोग गरेर बनाइएको हुन्छ। बियर, मदिरा, जुस,चीसो पेय, पानीको बोटलिङको लागि विश्वमै सर्वाधिक लोकप्रिय कम्पनी केएचएस जर्मनीसँगको सहकार्यमा कोकाकोलाले हलुका तौल र टिकाउपन भएको पेट बोतल‌ विकसित गरेको हो।

यो बोटलको भित्री तह (इनर लेयर) सिलिकन अक्साइडबाट बनाइएको हुन्छ। सिलिकनबाट बनाइएकोले प्लाष्टिकको बोटलको तुलनामा हलुका र बढी पारदर्शी समेत छ। सिलिकनले बोटलभित्र रहेको पेय पदार्थलाई बाहिरी वातावरणबाट सामान्य बोटलको तुलनामा लामो समयसम्म सुरक्षित पनि राख्ने केएचएसको वेभसाइटमा उल्लेख छ। यो बोटललाई पुनर्प्रयोग (रिसाइक्लिङ) गर्न सकिन्छ।

यो कम्पनीले उत्पादन क्षमता बिस्तार गर्न चितवनको भरतपुरस्थित‌‌‌‌‌ उद्योगमा प्रतिमिनेट ७६६ बोतल उत्पादन क्षमताको 'बोइङ ७६६'  प्लान्ट जडान गरिरहेको छ। 

नयाँ प्लान्टबाट २५० मिलिलिटर (एमएल) को पेट बोतलमा कोकाकोलाका विभिन्न ब्राण्डका पेय उत्पादन गरिने  सम्बद्ध स्रोतले‌ जानकारी दिएको छ।  बोटलर्स तराईसँग अहिले तीन सय बोतल प्रति मिनेट उत्पादन क्षमताको प्लान्ट मात्र प्रयोगमा छ।

आगामी चैतसम्ममा नयाँ प्लान्टबाट उत्पादन शुरु गर्ने लक्ष्य रहेको छ। नयाँ प्लान्टको लागि बोटलर्सले स्टान्डर्ड ‌‌‌‌‌‌‌‌‌‌‌‌‌चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ आवधिक ऋण लिएको छ।

बोटलको पुनर्प्रयोगमा ३ करोड रुपैयाँ लगानी
कोकाकोला कम्पनीले पेट बोटल सन् २०३० सम्म शत प्रतिशत पुनः प्रयोगमा ल्याउने प्रतिबद्धता अनुसार नेपालमा पनि रिसाइक्लिङको लागि काम शुरु गरेको छ। कोकाकोलाले बोटलर्स नेपाल‌ तराईमार्फत् जर्मन सहयोग नियोगसँगको सहकार्यमा चार वर्षसम्म फोहोर प्रशोधन अभियान 'नगर मैत्री'  संचालन गरेको थियो। 

यस पटक भने विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा रिसाइक्लिङगको लागि २ लाख ७० हजार अमेरिकी डलर लगानी गर्ने घोषणा गत मङ्सिरमा गरिसकेको छ। बोटलर्सले आफ्नो प्रयोग भइसकेका बोटल संकलन, भण्डारण, प्रशोधनको‌ लागी विभिन्न संस्थासँग हातेमालो गर्ने घोषणा समेत गरेको छ।