BIZMANDU
www.bizmandu.com

अंशबण्डापछि छुट्टिएका अनिल अम्बानी टाट उल्टिदैछन्? रिलायन्सको लिलामी

२०७५ माघ २४

अंशबण्डापछि छुट्टिएका अनिल अम्बानी टाट उल्टिदैछन्? रिलायन्सको लिलामी
अंशबण्डापछि छुट्टिएका अनिल अम्बानी टाट उल्टिदैछन्? रिलायन्सको लिलामी

भारतको ब्यापारिक घराना अम्बानीका दुई प्रतिस्पर्धी अर्बपति दाजुभाईको सम्बन्धमा अचानक ट्विस्ट आएको छ। अनिल अम्बानीको  वायरलेस क्यारियर आरकमले जब लिलामीको लागि फाइल गर्यो यसको स्पष्ट र एकमात्र क्रेताका रुपमा दृश्यमा आयो उनकै जेठा दाई मुकेशको मोबाइल फोन युनिट रिलायन्स जियो। 

Tata
GBIME
Nepal Life

गत शुक्रबार मुम्बईमा अनिलको रिलायन्स टेलिकम्युनिकेसन्स अर्थात आरकमले २७० दिनभित्र ऋण तिर्न वा लिक्वेडेट गर्नकालागि प्रक्रिया सुरु गरेको छ। यो प्रक्रिया सुरु भएपछि भारतीय टेलिकम्युनिकेसन बजारमा तरंग छाएको छ। 

यसअघि नै कम्पनीले स्वेच्छिक निर्णय अनुसार आफ्नो टावर, स्पेक्ट्रम तथा फाइबरहरु दाजु मुकेशको रिलायन्स जियो इन्फोकम लिमिटेडलाई बेच्न चाहेको थियो।  १७३ अर्ब भारुको यो डिलका बिरुद्ध कम्पनीका ऋणदाताहरुले मुद्दा हालेपछि रोकियो। उनीहरुले कम्पनी लिलामी प्रक्रियामा नगइकनै सहमतिबाट कर्जाको भुक्तानी मागेका थिए।  

तर आरकमले लिलामीका लागि प्रक्रिया थालेपछि यसलाई किन्ने एकमात्र संभावित र योग्य कम्पनी मुकेशकै जियोलाई मानिएको छ। 
मुकेशले अनिलको लिलामी गर्न लागिएको सम्पति खरिद गरेमा उनको सन् २०१६ मा स्थापना भएको जियोको फोन बजार बिस्तारलाई नै सहयोग गर्छ। 

गत जनवरीमै अदालतले लिलामीमा जाने कम्पनीहरुमा शेयरधनीको परिवारका सदस्यहरुले बिड गर्न नपाउने नियमलाई खुकुलो बनाइदिएपछि आरकम मुकेशको पोल्टामा पर्ने लगभग निश्चित जस्तै भएको छ। 

'आरकम लिलामीमा गएमा त्यसको भ्यालु नराम्री घट्ने डर ऋणदाताहरुलाई छ भने  लिलामीका लागि बोलकबोलमा जाने बिडर्सले पनि ऋणदाताहरुसँग मिलेर कम्पनीको मूल्य निकै तल झार्न प्रयास गर्नेछन्'-  एलएण्डएल पार्टनर्सका अपूर्व जयन्त बताउँछन्। 

आरकमको शेयर यसको लिलामीमा जाने समाचार बाहिर आउनासाथ निकै ओरालो लागेको छ। यसको शेयर ४९ प्रतिशतसम्म घटेको छ। यसैगरी अनिलकै अरु कम्पनीहरु रिलायन्स क्यापिटल लिमिटेडको १७ प्रतिशत,  रिलायन्स पावर लिमिटेडको ४१ प्रतिशत र रिलायन्स नाभल एण्ड इन्जिनियरिङको २२ प्रतिशतले शेयर भ्यालु घटेको छ। 

आरकमको डाउनफलले दुबै दाजुभाईलाई एक स्थानमा ल्याउन सक्ने विश्लेषण भैरहेको छ। यो मुकेशकालागि पनि सहज टर्न हो। 
तर नेशनल कम्पनी ल अपिलेट ट्रिब्यूनलले आरकमलाई उच्च अदालतको अनुमति बिना सम्पत्ति बेच्न रोकेकोले अझै पनि अनिलको सम्पतित मुकेशको पोल्टामा जाने पूर्ण निश्चित मान्न सकिँदैन। ऋणदाता र कम्पनीबीचको लडाई लम्बिएको खण्डमा भने मुकेशले चाहे जस्तो नहुन पनि सक्छ। 

चाइना डेभलपमेन्ट बैंक, एरिक्सन तथा कम्पनीको पिआर एजेन्सीहरुले अझै पनि आरकमको लिलामी प्रक्रयामा सहमत भएका छैन्। 
बैंकहरुले आरकमलाई बैंकरप्सी कोर्टमा नलैजाने निर्णय गरेका थिए किनभने यसबाट कम्पनीको मूल्य घट्ने भएकाले उनीहरु बाहिरै नेगोसिएसन गरी समस्याको समाधान चाहेको आइडिबिआइ बैंकका डेपुटी  म्यानेजिङ डाइरेक्टर केपी नायरले बताए। आइडिबीआइ बैंक पनि कम्पनीको ऋणदातामध्ये एक हो। 

दुबै दाजुभाईले सन् २००५ मा आमा कोकिलाबेन अम्बानीको मध्यस्थतामा अंशबण्डा गरेका हुन्। 

अंशबण्डामा मुकेशले तेल रिफाइनरी तथा पेट्रोकेमिकलको कमान लिए भने अनिलले पावर जेनेरेसन, फाइनान्सियल सर्भिस तथा टेलिकम बिजनेस हात पारेका थिए। त्यसबेला टेलिकम कम्पनीलाई मुकेशले एग्रेसिभ ढंगले अघि बढाइरहेका थिए। 

अंशबण्डामा स्पष्ट रुपमा एउटा बुँदा राखिएको थियो -'दाजुभाइले पाँच वर्षसम्म एक अर्काको कम्पनीको प्रतिस्पर्धी कम्पनी खडा गर्न नपाउने।' 

यहीँ बुँदाका कारण मुकेश लामो समयसम्म टेलिकम बिजनेसमा आउन सकेनन्। तर सन् २०१० मा उक्त सम्झौता सकिएपछि भने मुकेशले फेरि टेलिकम्युनिकेसन बिजनेसमा हात हाल्ने योजना बनाए । उनले  रिलायन्स जियो स्थापना गरे जसले हाल भारतभर सस्तो सेवा दिएर एग्रेसिभ बजार बिस्तार गरिरहेको छ। 

आरकमलाइ दिएको लोनमा ६० प्रतिशतसम्म राइटअफ हुनसक्ने ऋणदाताहरुको अनुमान छ। तर आरकम ऋणमा डुबेपछि त्यसलाई स्वेच्छिक रुपमा लिलामीमा लैजान चाहनुमा एक मात्र संभाविवत क्रेता मुकेशले त्यसको ८० प्रतिशतसम्म राइटअफ गराउन सक्ने अनुमान भैरहेको छ। 

'आरकमको सम्पत्तिको एकमात्र संभावित क्रेता देखिएको छ यसको स्पष्ट अर्थ ऋणदाताहरुले यसको धेरै महंगो मूल्य चुकाउनुपर्नेछ' एसएनजि पार्टनर ल फर्मा राजेश नारायण गुप्ताले भने।  

कसरी ओरालो लाग्यो
एक दशक अघि पनि अनिल अम्बानीको वर्तमान अवस्थाबारे कसैले सोचेका थिएन्। रिलायन्स र अम्बानी दुबै एकअर्काको सफलताको पर्यायवाची थिए। 

ऋणमा चुर्लुम्म डुबेको अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्सले लिलामी अदालतको बाटो समाएसँगै कम्पनीको शेयर सोमबार ५४ प्रतिशतले ओरालो लाग्यो। आरकमको शेयर पनि रेकर्ड स्तरमै तल झर्यो।

कम्पनीको लागि यो नराम्रो खबर थियो तर नराम्रो खबर यही मात्रै थिएन। टेलिकम इक्विपमेन्ट कम्पनी एरिक्सनले सुप्रिम कोर्टमा मुद्दा दायर गरेर अध्यक्ष अनिल अम्बानीको सबै निजी सम्पत्तिमाथि पनि दावी गर्ने प्रक्रियामा छ। 

आरकम धिरुभाइ अम्बानीका कान्छा छोरा अनिल अम्बानीको कारोबारको अंश हो जसलाई सन् २००६ मा जेठा छोरा मुकेश अम्बानीबाट अंशबण्डामा पाएका थिए। 

रिलायन्स इन्डस्ट्रिजका संस्थापक धिरुभाई अम्बानी भारतमा 'शेयर संस्कृति' भित्र्याउने उद्योगी मानिन्छन्। 

सन् २००२ निधन भएका धिरुभाईको कम्पनी रिलायन्सको त्यसबेला झण्डै २० लाख शेयर होल्डर थिए। यो कुनै पनि भारतीय कम्पनीको सबैभन्दा ठूलो लगानीको आधार थियो। 

सन् १९७७ मा जब यो कम्पनी शेयर बजारमा सूचीकृत भयो तब हजारौं साना लगानीकर्ता यसप्रति आकर्षित भए। 
त्यसबेलासम्म बजारमा सरकारी बित्तीय संस्थानहरुको मात्रै दबदबा थियो। रिलायन्स कम्पनीको बार्षिक शेयर होल्डरको बैठकमा यति धेरै लगानीकर्ता पुग्थे की यसको आयोजना फुटबल स्टेडियममा हुन्थ्यो। 
संकटको सुरुवात

प्राइस वार धेरै ऋण र मुनाफामा कमीले भारतीय टेलिकम सेक्टरलाई गाँज्यो। त्यसैबेला अनिल अम्बानीको कम्पनी आरकमले पनि यो दबाबलाई झेल्न सकेन। 

सन् २०१८ मा नेशनल कम्पनी ल अपिलेट ट्राइब्यूनल (एनसिएलटी)ले स्वीडिस कम्पनी एरिक्सनका तर्फबाट आरकमको बिरुद्ध तीनवटा इन्सल्वेन्सी पिटिसन प्राप्त गर्यो जसमा ११०० करोड रुपैयाँ माग गरिएको थियो। 

इन्सल्वेन्सी ट्राइब्यूनलले आरकमका सथै यसका दुइ अन्य इकाइहरु आरटिएल तथा रिलायन्स इन्फ्राटेलको ‍लागि भन्दै तीनजना फरक रेजोलुसन प्रोफेसनल नियुक्त गरेको थियो। 

वित्तीय संकटका कारण सन् २०१७ को अन्त्यमा वायरलेस कारोबार बन्द गरेको कम्पनीले नेशनल कम्पनी ल अपिलेट ट्राइब्यूनल एनसिएलएटीको सामना गर्नुपर्यो। 

आरकमले बैंकरप्सी प्रोसिडिङको बिरोध गर्दै रिलायन्स जियो तथा ब्रुकफिल्डसँग डिल गर्ने विकल्प पेश गर्यो। कम्पनीले एरिक्सनलाई सेटलमेन्टकालागि ५५० करोड रुपैयाँ दिने समेत बतायो तर अहिलेसम्म आरकमले एरिक्सनलाई कुनै पनि रकम भुक्तान गरेको छैन। 

सफलताले छोडेपछि

आरकमलाई ठूलो ऋण तथा बढ्दो घाटाका कारण सन् २०१७ को अन्त्यमा वायरलेस कारोबार बन्द गर्नुपर्ने बाध्यता आइपर्यो। आरकमको दुर्दशा अनिल अम्बानीको ग्रुपलाई नै ठूलो गिरावट तर्फ लैजाने कारक बन्यो। दाइसँग अंशबण्डा गरेपछि नै अनिल अम्बानीको सफलता खस्केको थियो। 

फोर्ब्सको सूचीका अनुसार सन् २००७ मा अनिल अम्बानीसँग ४५ अर्ब डलरको सम्पत्ति थियो। उनको सबैभन्दा ठूलो कम्पनी रिलायन्स कम्युनिकेसन्समा ६६ प्रतिशत शेयर थियो। दाइ मुकेशको नेटवर्थ ४९ अर्ब डलर थियो। तर सन् २०१८ मा दुबैको सम्पत्तिमा धेरै अन्तर आइसकेको थियो। 

सबैभन्दा धनी भारतीयको सूचीमा मुकेश अम्बानी ४७ अर्ब डलरका साथ टपमा छन् भने अनिल २.४४ अर्ब डलर सम्पत्तिकासाथ ६६ नम्बर सम्म खस्किएका थिए। 

समूहका कम्पनीहरुमा पनि यही ट्रेन्ड देखियो। ब्लुमबर्गका अनुसार अंशबण्डापछि १० वर्षमा मुकेशको रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कम्पाउन्ड एनुअल ग्रोथ रेट ११.२ प्रतिशत सेल्स ९.४ प्रतिशत प्रोफिट तथा १७.८ प्रतिशत रिटर्न छ भने अनिलको समूहको कम्पाउन्ड एनुअल ग्रोथ रेटका दरहरु क्रमश: ९.४, -१२.६ प्रतिशत तथा -१.७ प्रतिशत छ। 

सन् २०१७ मा आरकमले सम्पत्ति बेच्ने तथा डेट रेजोलुसन प्लानको घोषणा गरेको थियो। यो एक दशक पुरानो मार्केट लिडरको पतन थियो। सन् २००७ मा आरकमको १७ प्रतिशत मार्केट शेयरका साथ टेलिकम सेक्टरको दोस्रो ठूलो कम्पनी थियो।

सन् २०१६ मा यसको बजार १० प्रतिशतले घटेको थियो भने यो टप कम्पनीहरुमा कतै पनि थिएन। बजारमा हिस्सा कम भएसँगै यसको ऋण बढ्दै गयो। सन् २००९/२०१० मा कम्पनीको २५ हजार करोड रुपैयाँ ऋण अहिले बढेर ४५ हजार करोड पुगिसकेको छ। 

अनिल अम्बानीको कम्पनीहरुको मार्केट क्याप मात्र ४ अर्ब डलरभन्दापनि कम छ जबकी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको बजार पुँजीकरण ९८.७ अर्ब डलर छ। 
(एजेन्सीहरुको सहयोगमा)