BIZMANDU
www.bizmandu.com

बैंकर संघले सरकार, नियामक र ऋणीलाई ‘बेवकुफ’ बनायो, घटेको आधार दरलाई प्रिमियममा जोडिने

२०७५ माघ ७

बैंकर संघले सरकार, नियामक र ऋणीलाई ‘बेवकुफ’ बनायो, घटेको आधार दरलाई प्रिमियममा जोडिने
बैंकर संघले सरकार, नियामक र ऋणीलाई ‘बेवकुफ’ बनायो, घटेको आधार दरलाई प्रिमियममा जोडिने

काठमाडौं। अर्थमन्त्रीको कार्यदलले दिएको सुझाब अनुसार राष्ट्र बैंकले आधार दर घटाएर ऋणको ब्याज कम गर्न निर्देशन दिएपछि त्यसलाई पालना गर्न नसक्ने भन्दै बैंकर्स संघले पत्र लेखेको छ।

Tata
GBIME
Nepal Life

बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले राष्ट्र बैंकलाई पत्र लेख्दै नयाँ ऋणीका हकमा निर्देशन अनुसार काम गर्न सकिए पनि पुरानो ऋणीको ब्याज घटाउन अस्वीकार गरेको हो।

डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानसहितको कार्यदलले आधार दरमा सम्पतिमा प्रतिफल जोड्न नपाउने सुझाब दिएको थियो। त्यसै अनुसार राष्ट्र बैंकले सम्पतिको प्रतिफल बराबर ०.७५ प्रतिशतलाई घटाएर नयाँ आधार दर तय गर्न निर्देशन दिएको थियो।

संघले आधार दरको गणनाबाट ०.७५ प्रतिशत घटाएर त्यसलाई फेरि प्रिमियममा जोडेर ब्याज निर्धारण गरिने जानकारी राष्ट्र बैंकलाई गराएको हो। सर्वसाधारणको ऋणको ब्याज घटोस् भन्ने उद्देश्यले आधार दरबाट ०.७५ प्रतिशत सम्पतिको प्रतिफल हटाइएको थियो, यसलाई प्रिमियममा जोड्ने भएपछि सर्वसाधारणको ब्याज नघट्ने भएको हो। 

पुरानो ऋणमा सम्पतिको प्रतिफललाई प्रिमियममा नजोडि ब्याज निर्धारण गर्न नसकिने भन्दै राष्ट्र बैंकलाई पत्र लेखेका हुन्। राष्ट्र बैंकले यो पत्रका बारेमा बैंकर्स संघसँग थप छलफलसमेत गरेको छैन। बैंकहरुले ०.७५ प्रतिशतले आधार दर नघटाएपछि ऋणको भाउ घटेको छैन।

राष्ट्र बैंकका अधिकारीहरुले सुरुमा पत्रै नआएको बताएका थिए। एक साताअघि नै पत्र आएको हो भनेर सोधिएपछि 'बैंकर्स संघले पत्र लेखे पनि त्यसलाई इन्टरटेन गर्नु पर्छ भन्ने जरुरी छैन' भन्ने जबाफ फर्काएका थिए।
उनीहरुको जबाफ थियो, 'ब्याज यति उति गर भन्न मिल्दैन। स्प्रेड दरबाट उनीहरु आफै नियन्त्रित हुन्छन्।' बैंकहरुले निक्षेपको ब्याज भने भद्र सहमति गरेर घटाएका छन्। 

नियमन र बैंक सुपरिवेक्षण विभागका अधिकारीहरुले आवश्यक परे अध्ययन गरिने बताए।

यता बैंकरहरुले भने आधार दरबाट सम्पतिको प्रतिफल हटाए पनि प्रिमियममा त्यसलाई जोडिनु स्वभाविक भएको बताएका छन्।
 
'पुरानो शुत्र अनुसार हामीले ब्याज निर्धारण गरेका थियौं। बीचमा आएर खेलको नियम परिवर्तन गर्न मिल्दैन' बैंकर्स संघका अधिकारीहरुको तर्क छ, 'त्यसैले हामी पुरानो ऋणको ब्याज घटाउन सक्दैनौं।'

आफै बसेको कार्यदलमार्फत सुझाब दिएर आफै पालना गर्दिन भन्नु 'नैतिक बिचलन' भएको ब्यवसायीहरु बताउँछन्। उनीहरुको टिप्पणी छ- बैंकरहरुले ऋणको ब्याज दर नघटाउन अर्को 'कार्टेलिङ' गरे। 

बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले कार्यदलले दिएको सुझाब कार्यान्वयमा आएपछि ऋणको ब्याज दर कम्तिमा ०.७५ प्रतिशतले सस्तो हुने प्रतिकृया बिजमाण्डूलाई दिएका थिए। तर उनैले राष्ट्र बैंकलाई पत्र लेखेर सम्पतिको प्रतिफल घटाएर त्यसलाई प्रिमियममा जोड्ने जानकारी दिएका हुन्।

पुराना ऋणीको ब्याज नघट्ने भएपछि नयाँ ऋणीहरुमा पनि बैंकहरुको मनोमानी चल्ने भएको छ। नयाँ ऋणीलाई उच्च प्रिमियम राखेर बैंकहरुले लगानी गर्ने छन्।

उदाहरणका लागि, अहिले आधार दर १० प्रतिशत छ भने त्यसमा २ प्रतिशत प्रिमियम राखेर ग्राहकले १२ प्रतिशतमा ऋण पाउँदै आएका थिए। राष्ट्र बैंकले ऋणको ब्याज घटोस् भनेर आधार दरलाई ०.७५ प्रतिशत घटाउने गरी निर्देशन जारी गरेको थियो। यसो हुँदा ऋणको ब्याज ११.२५ प्रतिशतमा आउनु पर्थियो। तर बैंकहरुले आधार दरको हिसाबमा ०.७५ प्रतिशत घटाएर त्यसलाई फेरि प्रिमियममा जोडेर ब्याज १२ प्रतिशत नै पुर्याउने भन्ने ब्यहोराको पत्र राष्ट्र बैंकलाई लेखेका हुन्।

त्यही भएर माघ १ गतेबाट घट्नु पर्ने ऋणको ब्याज दर नघटेको हो।