BIZMANDU
www.bizmandu.com

स्विस बैँकमा साढे दुई अर्बभन्दा बढी जम्मा गर्ने मिनु शाहको नखुलेको पाटो, छिब्बरको नेपाल नाता

२०७५ माघ ७

स्विस बैँकमा साढे दुई अर्बभन्दा बढी जम्मा गर्ने मिनु शाहको नखुलेको पाटो, छिब्बरको नेपाल नाता
स्विस बैँकमा साढे दुई अर्बभन्दा बढी जम्मा गर्ने मिनु शाहको नखुलेको पाटो, छिब्बरको नेपाल नाता


काठमाडौं। भारतमा प्रकाशित हुने सूर्या म्यागेजिनमा सन् १९७८ मा दुई पेजको एउटा फोटोकथा छापियो। म्यागेजिनका कन्सलटिङ एडिटर थिए, खुसवन्त सिंह। उनले छापिएको दुई पेजको फोटोकथामाथि टिप्पणी गर्दै भनेका थिए, यदि कामसूत्रमा ६४ आसन हुन्छ भने यो फोटोकथामा नौ वटा आसन छन्।

Tata
GBIME
Nepal Life

'सुस्मा पवन इन इन्टरनेशनल स्पाई रिंग' शीर्षकमा छापिएको यो फोटो भारतको पहिलो सेक्स स्क्याण्डल थियो। बीआरपि ६५१ नम्वरको आकाशे रङ्गको निलो मर्सिडिज कारभित्र ४० वर्ष उमेरका एक अधवैंशेले आफूभन्दा २० वर्ष कान्छी अर्थात २१ वर्षकी युवतीसँग यौन क्रियाकलाप गर्दै गर्दाको तस्वीर यो फोटोकथामा समावेश थियो।

फोटोकथा छापिएको ४१ वर्ष पछि त्यसको तार नेपालसँग जोडिएको छ र त्यो तार जोड्ने काम गरेको छ, इन्टरनेशनल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसिआइजे)को सहयोगमा सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिस्ट (सिआइजे)ले एक वर्ष लगाएर सार्वजनिक गरेको मिनु शाहको कथाले।

सिआइजेले सार्वजनिक गरेको ‘स्वीश बैंक: शंकास्पद धनको नेपाल कनेक्शन’ शीर्षकमा मिनु शाहको कथा उनेको छ। नेपाली भएर पनि मिनु शाहको परिवारले कसरी स्विस बैंकमा दुई अर्व ६१ करोड रुपैयाँ जम्मा गर्‍यो भनेर यो स्टोरीमार्फत सिआइजेले प्रश्न त उठाएको छ तर जवाफ भने दिएको छैन।

त्यसको जवाफ खोज्नका लागि पुग्नुपर्छ यही फोटो कथाको सेरोफेरोमा। 

फोटोमा देखिएका ती अधवैंशे थिए, सुरेश राम र युवती थिइन्, सुष्मा रानी चौधरी। मेरठमा जन्मिएकी युवती साधारण परिवारकी थिइन्, ४० प्रतिशत अङ्क पाएपछि उनी बल्लतल्ल दिल्लीको सत्यवती कलेजमा भर्ना हुन पाएकी थिइन्। 

तर ४० वर्षे ती अधवैंशे भने असाधारण थिए। उनी थिए, जनता दलका नेता  जगजीवन रामका छोरा सुरेश राम। जगजीवनकै छोरी मीरा कुमार २००९- २०१४ मा भारतमा लोकसभाकी सभामुख थिइन्। पछि अहिलेका राष्ट्रपति रामनाथ कोविदसँग काँग्रेसको नेतृत्वमा रहेको युनाइटेड प्रोग्रेसिभ एलाइन्स (युपिए)बाट राष्ट्रपति पदकी उम्मेदवार।

सन् १९७८ मा जतिवेला छोरा सुरेश रामको सेक्स स्क्याण्डल भयो, त्यतिबेला जगजीवन राम जनता दलबाट प्रधानमन्त्री भएका मोरारजी देशाईका  उपप्रधानमन्त्रीसहित रक्षामन्त्री थिए। रक्षामन्त्री रामलाई मोरारजी देशाईको विकल्पमा समेत हेर्न थालिएको थियो।

जनता दलको विपक्षमा थिइन्, काँग्रेसकी  इन्दिरा गान्धी। सूर्या म्यागेजिन उनै इन्दिराकी बुहारी मेनका गान्धी (अहिले मोदी सरकारमा महिला मन्त्री)को सम्पादकत्वमा प्रकाशित हुन्थ्यो। मेनकाले नै सुरेश रामको सेक्स स्कायाण्डल सूर्या म्यागजीनमा छाप्ने निर्णय गरेकी थिइन्।

सुरेश रामको सेक्स स्कायाण्डल छापेपछि सूर्या म्यागजीन हिट भयो,  २४ अक्टोवर २०१६ मा हफिङ्टन पोस्टमा डट इनमा छापिएको एउटा रिपोर्टअनुसार यो म्यागेजिनको तीन पटकसम्म रिप्रिन्ट गर्नु परेको थियो।

भारतको राजनीतिमा यसलाई पहिलो सेक्स स्क्याण्डलको रुपमा व्याख्या गरिन्छ। यो सेक्स स्क्याण्डलले भारतको राजनीतिको हावा नै बदलिदियो। भारतको पहिलो दलित प्रधानमन्त्री हुने जगजीवन रामको सपना यही स्क्याण्डलले उडायो। जनता दलको लोकप्रियता हरायो र फेरि एकपटक इन्दिरा गान्धीको उदय भयो।

कारसँग जोडिएको कनेक्सन
३१ डिसेम्बर १९७८ मा इन्डिया टुडेमा प्रकाशित रिपोर्ट फेरि एकपटक १२ मार्च २०१४ को इन्डिया टुडेको अनलाइन संस्करणमा ‘ज्यागुआर एअरक्राफ्ट डिल: ह्यापेनिङ्स बिहाइन्ड दि सिन’ शीर्षकमा प्रकाशित भएको थियो।

रिपोर्टका अनुसार बिआरपि ६५१ नम्बरको आकाशे रङ्गको निलो मर्सिडिज कार जहाँबाट सुरेश रामको सेक्स स्क्याण्डल सुरु भएको थियो, त्यो कारको रजिष्ट्रेशन १३ अगस्ट १९६६ मा भारत आइस फ्याक्ट्री कंकरवाग पटनाका मालिक भाइ श्रीराम भारतका छोरा एसपी छिब्बरको नाममा थियो। उनको पूरा नाम थियो सर्वतेरा प्रकाश छिब्बर। 

कारधनी छिब्बर रावलपिण्डीका दत्त मोह्याल (ब्राहमण) परिवारबाट थिए। उनले भारतीय सेनामा नन ग्याजेटेड अफिसरबाट आफ्नो करिअर सुरु गरे र लामो समय कलकत्तामा काम गरे। रिपोर्टअनुसार राम्रो अवसर खोज्नका लागि उनले सन् १९५३ मा जागिर छाडे र दिल्ली आए।

राजनीतिज्ञको आडमा उनी भारतीय सेनाका शीर्ष अधिकारीहरु नजिक भए, जनरल केएस थिमैया उनका नजिकका साथी बने। सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध सुरु भयो। भारतलाई उपलब्ध सबै स्रोतबाट हतियार र गोलीगठ्ठा  चाहियो।

छिब्बरसँग क्यानेडियन कन्ट्याक्ट थियो। भारतीय सेनाले क्यानेडियन फर्मसँग हतियार र गोलीगठ्ठा खरिद गर्‍यो, छिब्बर त्यसको मध्यस्थकर्ता रहे। यसले उनलाई भारतको हतियार दलालीमा ठूलो पहुँच दियो। 

सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश छुट्टिने भयो। त्यतिबेलासम्म छिब्बरले फिल्ड मार्सल स्याम मानेकशाँसँग दोस्ती बनाइसकेका थिए। पाकिस्तानबाट बंगलादेश टुक्रयाउन भएको लडाईंका लागि छिब्बर मध्यस्थकर्ता बनेर इजरायलबाट भारतीय सेनालाई आधुनिक हतियार दिलाए। सन् १९६८ मा लण्डन सिफ्ट भएका उनले आफ्नो हतियारको व्यापारलाई लिबियासम्म विस्तार गरेका थिए।

इन्डिया टुडेकाअनुसार सूर्या म्यागेजिनले नोभेम्बर १९७८ को अङ्कमा भारतले ब्रिटिस एरोस्पेशसँग खरिद गरेका ज्यागुआर एअरक्राफ्टका बारेमा अर्को एउटा एक्स्पोज सार्वजनिक गर्‍यो। सूर्याको दावी थियो, १६ अर्ब २३ करोड भारतीय रुपैयाँको यो कारोबारमा भ्रष्टाचार भएको छ र त्यसमा रक्षामन्त्री जगजीवन राम, उनका छोरा सुरेश राम र हतियार डिलर एसपी छिब्बरको भूमिका छ।

इन्डिया टुडेकाअनुसार सूर्या म्यागेजिनमा ‘द ज्याग बम’ शीर्षकको एउटा अर्को रिपोर्ट पनि छापिएको थियो। रिपोर्टअनुसार २० डिसेम्बर १९७७ मा ब्रिटिस एयरोस्पेशका पब्लिक रिलेशन हेड जीबी हिललाई रक्षामन्त्रालयबाट अफिसियल नोट गएको थियो।

रक्षामन्त्री जगजीवन रामको हस्ताक्षर भएको त्यो नोटमा जीललाई भनिएको थियो, म विश्वस्त छु, तिमिले एसपी छिब्बरलाई पत्ता लगायौ होला, उसको भारतमा राम्रो कन्ट्याक्ट छ, ऊ तिम्रो कम्पनीका लागि सम्पत्ती हो। जब छिब्बरको मर्सिडिजमा सुरेश रामको सेक्स स्क्याण्डल भयो, तब केही भारतीय मिडियाले ज्यागुआर डिलका कागजात मर्सिडिज कारमा भेटिएको समेत बताए।

छिब्बरको नेपाल नाता
भारतको हतियार दलालीमा प्रख्यात एसपी छिब्बरका दुई विवाह भएका थिए। जब पहिलो श्रीमतीसँग डिभोर्स भयो, उनले नेपाली महिला मिनु शाहसँग विवाह गरे। तबदेखि मिनु शाह बनिन् मिनु शाह छिब्बर। र यसैसँग सुरु भयो मिनु शाह छिब्बरको स्वीस एकाउण्टको कनेक्शन।

सिआइजेले मिनु शाह छिब्बरको स्विस एकाउण्टकै प्रसङ्गमा दिल्ली अदालतको एउटा मुद्दाको प्रसङ्ग समेत उठाएको छ। सिआइजेले भारतीय पत्रकारको सहयोगमा उक्त मुद्दाका कागजात मगाए पनि ती कागजात भने इन्डियन कानुन  डट ओआरजीमा पनि सहजै पाउन सकिन्छ।

यो मुद्दा छिब्बरका जेठी श्रीमतीतर्फका छोरा रिटायर्ड लेफ्टिनेन्ट कर्नल एसएस छिब्बरले कान्छी आमा मिनु शाह छिब्बर र उनका दुई छोरा महेश र प्रवेशविरुद्ध हालेका हुन्।

भारतमा हतियार दलालीमा संलग्न एसपी छिब्बर मिनु शाहसँग विवाह गरेपछि सन् १९६८ देखि लण्डन बस्न थालेका थिए। त्यसको अर्को वर्ष सन् १९६९ मा लण्डनमा मिनुतर्फ जेठा छोरा प्रवेशको जन्म भएको थियो भने तीन वर्षपछि १९७२ मा कान्छा छोरा महेशको जन्म भएको थियो। 

सन् १९६८ देखि लण्डनमा बस्न थालेका एसपी छिब्बरको २४ जुलाई २००३ मा लण्डनमै निधन भयो। निधन हुनुभन्दा १० वर्ष पहिले उनले सम्पत्ति विभाजनसम्वन्धी एउटा ‘विल’ तयार गरेका थिए। 

त्यो विलमा एसपी छिब्बरले भारत नयाँदिल्लीको महँगोमध्येको एक नेहरु कन्क्लेभमा रहेको आर वान प्लट श्रीमती मिनुलाई हस्तान्तरण हुने व्यवस्था गरेका थिए। जेठी श्रीमतीतर्फका छोरा एसएस छिब्बरले त्यो ‘विल’ नक्कली भएको दावी गर्दै नेहेरु कन्क्लेभ र लण्डनमा भएको चलअचल सम्पत्ति आफूसमेत चार भागमा लगाउनु पर्ने माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

विल लण्डनमा तयार भए पनि त्यसको ठेगाना नेपालमा राखिएको भन्दै त्यो विल नक्कली भएको दावी उनको थियो। तर उच्च अदालतको संयुक्त बेञ्चले एसएस छिब्बरको दलीललाई खारेज गर्दै दिल्लीको सम्पत्ती समेत मिनु शाह छिब्बरको हुने निर्णय गर्‍यो।  

सिआइजेले स्विस बैंकको हवाला दिंदै मिनु शाहका दुवै छोराले नेपाली पासपोर्ट बनाएको दावी गरेको छ। छोरा महेशले नेपाली दूतावास लण्डनको सिफारिशमा १० फेब्रुअरी १९९७ मा र प्रवेशले २३ नोभेम्बर १९९९ मा नेपाली पासपोर्ट बनाएको दावी गरे पनि बेलायतमा स्थापना गरिएका कम्पनीहरुको विवरण दिने कम्पनीज हाउसमा उपलब्ध गराएको विवरणमा भने दुवैले आफू बेलायती नागरिक भएको विवरण दिएका छन्।  

मिनु शाह छिब्बरका जेठा छोरा प्रवेशले बेलायतमा साझेदारीमा आईरोनी १९ लिमिटेड कम्पनी चलाउँछन्। उनले आइरोनी १८ लिमिटेड कम्पनी बन्द गरेर आईरोनी १९ कम्पनी चलाउन सुरु गरेका हुन्। 

लगानी गरेको पाँच करोड ४० लाख युरो र ऋण दिएको  एक करोड ७२ लाख युरो गरी यो कम्पनीसँग सात करोड १२ लाख युरोको सम्पत्ती छ। यो अहिलेको विनिमयदरअनुसार करिब नौ अर्ब २० करोड रुपैयाँ बराबर हो। उता कान्छा छोरा महेशले अहिलेसम्म चार कम्पनीमा लगानी गरे पनि अहिले उनी बेलायतको कुनै पनि कम्पनीमा आवद्ध भएको देखिँदैन।

तर बन्द भएका कम्पनीका कागजात केलाउँदा उनी पनि अर्बौँ रुपैयाँमा कारोवार गर्ने व्यक्तिका रुपमा देखिन्छन्। एसपी छिब्बर आफै पनि लण्डनमा पुगेपछि हतियार व्यापारलाई रेष्टुरेण्ट व्यापारले 'कभर' गरेका थिए। इन्डिया टुडेको रिपोर्टअनुसार छिब्बरले लण्डनको अक्स्फोर्ड सर्कसमा फेसनेबल भारतीय रेष्टुरेण्ट गेलर्ड सञ्चालन गरेका थिए।

सन् १९७८ को एक घट्नाक्रमको जानकारी दिंदै इन्डिया टुडे लेख्छ, उनी (एसपी छिब्बर) एउटा विवाहका लागि भारतमा थिए, तर रोचक उनी दिल्लीमा हुँदै गर्दा जाम्बियन प्रधानमन्त्री ड्यानियल लिसुलो (हेर्नुहोस् अन्तराष्ट्रिय खुफिया सूचना)को पनि भ्रमण भएको छ । विश्वस्त जानकारी अनुसार भारत सरकारसँग प्रधानमन्त्री लिसुलोले ४५ करोड रुपैयाँको हतियार खरिद गर्ने सूची लिएर आएका छन् र छिब्बर जाम्बिया र भारत सरकारबीच दलालका रुपमा खडा छन्, उनी सौदाबाजीमा राम्रै कमिशनको दावी गरिरहेका छन्।

सिआइजेले छिब्बर परिवारले दुवईको पर्ल ग्लोबल फाइनान्स लिमिटेडमा लगानी गरेको र त्यसको साझेदारका रुपमा अमेरिकी नागरिक जोन मोरिशन एटवाटर रहेको जानकारी दिएको छ। आफ्नो रिपोर्टमा सिआइजेले एटवाटर होटल मल्लकी अध्यक्ष रमा मल्लको व्यवसायिक साझेदार भएको दावी समेत गरेको छ।

एटवाटर र मल्ल 'सिक्स्टीन अप्पर ब्रुक स्ट्रिट लिमिटेड'का साझेदार हुन्,  सिआइजेले आफ्नो रिपोर्टमा दावी गरेको छ। कम्पनिज हाउसमा उपलब्ध विवरणहरु केलाउँदा सिआइजेले दावी गरे जस्तो 'सिक्स्टीन अप्पर ब्रुक स्ट्रिट लिमिटेड' कुनै नाफा वितरण गर्ने कम्पनी भने देखिंदैन। किनभने यो पुँजी नै लगानी नभएको कम्पनी हो। 

लण्डनको सिक्स्टीन अपर ब्रुक स्ट्रिटमा ११ वटा फ्लायटको एउटा अपार्टमेन्ट छ। बरु मल्लको नाममा त्यो अपार्टमेन्टको १ नम्वर फ्ल्याट छ। मल्लले लिनुभन्दा पहिले त्यो अपार्टमेन्ट बेलायती नागरिक रमेशकुमार अग्रवालको नाममा थियो। त्यही अपार्टमेन्टको १० नम्वरको फ्ल्याट मल्लका साझेदार भनिएका एटवाटरको नाममा छ। 

त्यो अपार्टमेन्टको मेन्टिनेन्सका लागि अपार्टमेन्ट धनीहरुले एउटा गैरमुनाफामुखी व्यवस्थापन कम्पनी खोलेका छन्। त्यो गैरमुनाफामुखी कम्पनीमा अपार्टमेन्टधनीहरु बोर्ड डाइरेक्टरका रुपमा रहेका छन्। यसैलाई सिआइजेले व्यवसायिक साझेदारका रुपमा व्याख्या गरेको छ।

मिनु शाह छिब्बरका नाममा स्विस बैँकमा जम्मा भएको रकम उनैका पति एसपी छिब्बरबाट हस्तान्तरण भएको अनुमान गर्न सकिन्छ। हतियारको बिक्री गर्दा पाएको कमिसनको रकम भएकोले शायद् उनले भारतीय ठेगानाको साटो नेपाली ठेगाना भएकी श्रीमतीको नाममा स्विस बैँकमा जम्मा गरेका हुनसक्छन्। किनकि त्यसो गर्दा भारतमा उठ्ने सम्भावित प्रश्नहरुबाट जोगिन सजिलो।