BIZMANDU
www.bizmandu.com

भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्जमा होटल थपिँदै, डेढ अर्ब लगानीमा होटल र वाटर पार्क

२०७५ पुष २८

भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्जमा होटल थपिँदै, डेढ अर्ब लगानीमा होटल र वाटर पार्क
भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्जमा होटल थपिँदै, डेढ अर्ब लगानीमा होटल र वाटर पार्क


काठमाडौं। पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगंजमा स्थानीय होटल व्यवसायीले भारतीय पर्यटकलाई लक्षित गरी तीनतारे नयाँ होटल संचालनमा ल्याउँदैछन्।

Tata
GBIME
Nepal Life

राँझा विमानस्थल नजिकै गनापुरमा तीन बिघा क्षेत्रफलमा स्थानीय होटल व्यवसायी सीताराम यादवले होटल निर्माण गरिरहेका हुन्। 'द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ नाम दिइएको यो होटल २०७६ वैशाखदेखि संचालनमा ल्याउने योजना सहित द्रूतगतिमा निर्माण कार्य भइरहेको छ। 

होटलको भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्न भएर आन्तरिक सजावटको काम शुरु भएको होटल व्यवस्थापनले जानकारी दिएको छ। जानकी गाउँपालिका वडा नम्बर ६ मा नेपालगंज-सुर्खेत राजमार्ग नजिकै निर्माणाधीन होटलमा ७१ करोड रुपैयाँभन्दा बढी लगानी हुने होटलका प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए।

होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, क्यासिनो का साथै ३६ वटा डिलक्स, ४ वटा स्वीट, ४ वटा कर्पोरेट र ८ वटा सिंगल रुमसहित ५२ वटा कोठा तयार पारिँदैछ। 

होटलको प्रवद्धनको लागि बजार प्रवद्धन सेवा प्रदायक भारतीय कम्पनी ब्लिससँग सम्झौता गरेको छ। कैलाश मानसरोवरको यात्राको‌ लागि आउने विदेशी पर्यटकहरु हिल्सा हुँदै मानसरोवर यात्रामा आउजाउ गर्दा नेपालगञ्जमा बास बसेर हवाई मार्गबाट त्यहाँ पुग्ने गरेका छन्।

मानसरोवर यात्रामा जाने पर्यटकको लागि वर्षको छ महिना नेपालगञ्ज नै उपयुक्त प्रवेशद्वार हो, व्यवसायी यादवले भने, सीमित होटल हुँदा महँगो शुल्क तिर्दै आएका पर्यटकलाई होटलको संख्या थपिंदा थप सुविधा सहितको होटल सस्तो शुल्कमा उपलब्ध हुन थालेको छ।

गतवर्षदेखि नेपालगञ्जमा चारतारे होटल सोल्टी वेष्ट एण्ड र कोहलपुरमा सेन्ट्रल प्लाजा पाँचतारे होटल संचालनमा आएपछि तीनतारे स्तरदेखिको तारे होटलको संख्या आठ पुगेको छ।

वण्डर ल्याण्ड पार्क पनि आउँदै
निर्माणाधीन 'द गोल्डेन ब्लिस होटल' नजिकै वाटर फन (जल क्रिडा) आधारित मनोरञ्जन स्थल बनाउने योजना सहित 'वण्डर ल्याण्ड पार्क' निर्माण भइरहेको छ। 

करिब सत्तरी करोड रुपैयाँको‌ लगानीमा व्यवसायी सीताराम यादवको भानिज हिमांशु यादवले वाटर पार्क संचालनमा ल्याउन लागेका हुन्। हिमांशु अटोमोबाइल व्यवसायी तीन बिघा क्षेत्रफल जग्गामा १७ हजार वर्ग फुटमा फैलिएको स्वीमिङ पुल निर्माण गरिँदैछ।

साठ्ठी फिट उचाइबाट चिप्लेटी खेल्दै स्वीमिङ पुलमा छ्याप्लाङ डुबुल्की मार्दै आनन्द लिने सुविधा सहितको पार्क निर्माण भइरहेको छ, वण्डर ल्याण्ड पार्कबारे जानकारी दिंदै होटल व्यवसायी सीताराम यादवले भने, यो लखनउको वाटर पार्कजस्तै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने छ।

दाङदेखि सुदूर पश्चिमवासीसम्मको लागि मुख्य व्यापारीक केन्द्रको रुपमा रहेको नेपालगञ्जमा दैनिक एक हजारको संख्यामा बाहिरबाट आगन्तुकको प्रवेश हुने र पर्यटकीय मौसममा तारे होटल समेत भरिभराउ हुने भएकोले वाटर पार्कको संभाव्यता देखेर लगानी गरिएको संचालकले‌ बताए।

नेपालगंज र आसपासको क्षेत्रमा वर्षको आठ महिना पसिना छुट्ने गर्मी हुन्छ। यस्तो मौसम भएकोले जल क्रिडामा आधारित पर्यटकीय गन्तव्यको उच्च माग छ।