BIZMANDU
www.bizmandu.com

प्रानपछि अर्को बंगलादेशी एफएमसिजी नेपालमा जम्दै, पोटाटो क्रयाकरपछि लिच्ची ड्रिंक्स उत्पादन

२०७५ पुष २८

प्रानपछि अर्को बंगलादेशी एफएमसिजी नेपालमा जम्दै, पोटाटो क्रयाकरपछि लिच्ची ड्रिंक्स उत्पादन
प्रानपछि अर्को बंगलादेशी एफएमसिजी नेपालमा जम्दै, पोटाटो क्रयाकरपछि लिच्ची ड्रिंक्स उत्पादन

काठमाडौं। प्रान फुड्सपछि अर्को बंगलादेशी बहुर्राष्ट्रिय कम्पनी सजिव ग्रुप्सले पनि नेपाली बजारमा पाइला जमाउने प्रयास गरिरहेको छ।

Tata
GBIME
Nepal Life

तीनवर्ष अघि बंगलादेशबाट दैनिक उपभोग्य वस्तु निर्यात गरेर बजार प्रवर्द्धन शुरु गरेको सजिव फुड्स ग्रुप्सले नेपालमै उत्पादन शुरु गरेको छ।

आफ्ना उत्पादनको बजार बिस्तार गर्दै बजार मागको आधारमा स्थानीयस्तरमै उत्पादन गर्ने रणनीति अन्तर्गत सजिव फुड्स ग्रुपले आउट सोर्सिङ गरेर पोटाटो क्र्याकर (आलुको चिप्स आकारको खाजा) उत्पादन र वितरण गरिरहेको हो।

कम्पनीको नेपाल प्रमुख जहिदुल इस्लामले भने, सानो भूगोल भएपनि यहाँका उपभोक्तामा उपभोग दर उच्च छ, यो विशेषता दैनिक उपभोग्य वस्तुको उत्पादकको लागि निक्कै आकर्षक हो।

सजिव फुड्सले नेपालमा सफ्ट ड्रिंक्स, जुस, चाउचाउ, चकलेटको विविध १४ वटा उत्पादन बिक्री वितरण गरिरहेको छ। योमध्ये झापा बिर्तामोडको श्याम फुडस एण्ड वेभरेजसँग 'पोटाटो क्र्याकर' उत्पादनमा सहकार्य गरिरहेको हो।

स्थानीय स्तरमै उत्पादन गर्ने रणनीति अन्तर्गत यसै वर्षदेखि लिच्ची ड्रिंक्स (लिच्चीको स्वाद भएको पेय) उत्पादन शुरु गर्ने सजिव फुड्सका नेपाल प्रमुख जहिदुल इस्लामले जानकारी दिए।

सन् १९८२ मा बंगलादेशमा स्थापित सजिव फुड्स समूहले बंगलादेशमा दैनिक उपभोग्य वस्तु, खाध्यान्न, आवास, तयारी पोशाक, बीमा, दूरसञ्चार र आम संचार कम्पनी संचालन गरिरहेको छ।

विश्व प्रसिद्ध दैनिक उपभोग्य ब्राण्ड ट्याङ, बोर्नभिटा, ओरियो, सेजान, कोलसन, नोसिलाका लागी बंगलादेशमा उत्पादन गर्दै आएको छ। यो कम्पनीले नेपाल बाहेक भुटान, मलेशिया, सिंगापुर,अष्ट्रेलिया, अमेरिका, मध्य पूर्व र केही दक्षिण अफ्रिकी मुलुकमा समेत निर्यात गर्दै आएको छ।

अर्को बंगलादेशी बहुर्राष्ट्रिय कम्पनी प्रान फुड्सले नेपालमा अदत फुड्स प्रालि, काठमाडौं र हिमाड्री फुड्समार्फत् नेपालमा उत्पादन र वितरण गरिरहेको छ।