BIZMANDU
www.bizmandu.com

चिनियाँ लगानीमा वीरगंजमा खुल्यो फाइबर रुफिङ उद्योग, फाइबरको छाना २० वर्ष टिक्ने, रिसेल पनि हुने

२०७५ पुष २३

Tata
GBIME
Nepal Life

वीरगंज। १८ करोड रुपैयाँको लगानीमा चीनको रुई डा कम्पनीले  वीरगंज कोरिडोरमा फाइबर उद्योग स्थापना गरेको छ । चिनियाँ उद्योगपति गु मिचाओले चीन र श्रीलंकापछि नेपालमा फाइबरको छाना उत्पादन कम्पनी बिस्तार गरेका हुन्।

वीरगंज–पथलैया औद्योगिक कोरिडोरका रामपुर टोकनीमा स्थापना भएको उद्योगले गत अगस्ट देखि उत्पादन थालेको उद्योगका प्रमुख मार्केटिङ अधिकृत दिनेश सिलवालले बताए ।

रुई डा कम्पनी प्रालिको नामले गत जुन देखि प्लान्ट सेटअप गरी अगस्ट देखि उत्पादन शुरु गएको उद्योगले हाल दैनिक ४ टन युपिभिसी जस्तापाता उत्पादन गरिरहेको  कम्पनीले जनाएको छ ।

चिनियाँ लगानीकै मासु कारखाना(हिमालयन फूड इन्टरनेशनल प्रालि)को उद्योग परिसर भित्रको एक विगाहा जग्गा भाडामा लिइ फाइबर उद्योग स्थापना भएको हो ।

शुरुमा ६ करोड लगानी गरी उत्पादन थालिएको उद्योगले एक वर्ष भित्रै लगानी थप्ने बताएको छ ।

उद्योगले हाल आंशिक रुपमा सञ्चालन भइरहेको छ । डबल फेजको उद्योग सेटअप भइसकेपछि उत्पादन थाल्दा दैनिक १८ टन जति फाइबरको छानो सामग्री उत्पादन हुने उनले बताए ।

‘चीनबाट प्रविधि तथा मेशिन भित्र्याई उत्पादन थालिएको छ, हाल ६ करोड खर्च भइसकेको छ, थप १२ करोड थपेर उत्पादन क्षमता वृद्धि गर्ने कम्पनीको योजना छ ’प्रमुख मार्केटिङ अधिकृत सिलवालले भने,‘नेपालमा यस्तो कम्पनी स्थापना भएपछि आयात भन्दा प्रति वर्गफुट ३० देखि ४० रुपैयाँ सस्तो परिरहेको छ ।’

उनले दिएको जानकारी अनुसार विदेशबाट आयात गर्दा  प्रति बर्गफूट १३५ देखि १५५ सम्म पर्ने फाइबरको जस्तापाता रुई डाले  ९३ देखि रु १०५  रुपैयाँ प्रति वर्गफूटको दरमा डिलरलाई बिक्री गरिरहेको छ ।

पोली भेनाइल क्लोराइड भन्ने कच्चा पदार्थलाई १८० डिग्री तापक्रममा पगालेर विभिन्न आकार र रंगमा यो जस्तापाता उत्पादन भइरहेको छ ।कम्पनीले हाल २० फिटे लम्बई र ४१ इन्च चौडाको साइज र तीन प्रकारको रंगमा उत्पादन गरिरहेको छ । शुरुको अवस्थामा ७ जना चिनियाँ प्राविधिक तथा २४ जना नेपालीले रोजगारी पाएका छन् ।


फाइबरको छानोबाट प्रदुषण वा केमिकल वातावारणमा नमिसिने भएकोले यसलाई इको फ्रेन्डली मानिन्छ । यो कम्तीमा २० वर्ष सम्म टिक्ने, वर्षा, असिना परेको बेला ध्वनि तथा घाम लागेको बेला तापक्रम न्यून राख्छ ।

विद्युतको कुचालक भएकोले पनि यसको माग दिनप्रतिदिन नेपालमा बढदै गएको छ । काठमाडौं र पोखरामा यसको उच्च माग रहेको व्यवसायीहरुले बताएका छन् । कर्कट जास्ता पाताको तुलनामा ७० प्रतिशत महंगो हुन्छ ।

तर २० वर्षपछि यसलाई रिसेल गर्न र पुनः प्रयोग गरी उत्पादन हुने भएकोले यसलाई बढी रुचाइएको हो ।