BIZMANDU
www.bizmandu.com

नागरिक लगानी कोषले स्टक डिलरको लागि सहायक कम्पनी खोल्दै, ५० अर्बको बास्केट फण्ड

२०७५ मंसिर २९

नागरिक लगानी कोषले स्टक डिलरको लागि सहायक कम्पनी खोल्दै, ५० अर्बको बास्केट फण्ड
नागरिक लगानी कोषले स्टक डिलरको लागि सहायक कम्पनी खोल्दै, ५० अर्बको बास्केट फण्ड


काठमाडौं। नागरिक लगानी कोषले स्टक डिलरको काम गर्नको लागि सहायक कम्पनी खोल्ने भएको छ। नेप्सेले नयाँ अनलाइन प्रणालीको विकास गरेसँगै स्टक डिलरको काम गर्नको लागि आवश्यक प्रकृया अगाडि बढाइएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए। 

Tata
GBIME
Nepal Life

स्टक डिलरको काम गर्दा छिटो निणर्य लिनु पर्ने र निर्णयको लागि अहिलेकै संयन्त्रबाट ढिलाइ हुने भएकोले सहायक कम्पनी खोल्नु परेको नेपालले बताए। सहायक कम्पनी खोल्दा कम्पनीको प्रवन्धपत्र, नियमावली, पूँजी संरचनाको आवश्यकता पर्दछ। यसको लागि आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको नेपालले बताए। 

कोषले यसअघि बजार निर्माताको काम गर्ने भन्दै बोर्ड र नेप्सेसँग सल्लाह गरेको थियो। तर बोर्ड र नेप्सेले बजार निर्माताभन्दा स्टक डिलरको प्रकृया सुरु गर्न सल्लाह दिएको थियो। कोषले स्टक डिलरको काम गर्न नेप्से र बोर्डमा निवेदन दिएको भए पनि नेप्सेको पुरानो सफ्टवेयरमा स्टक डिलरको व्यवस्था नभएको भन्दै प्रकृया अड्किएको थियो। 

नेप्सेले कात्तिक २० गते अनलाइन प्रणालीको उद्घाटन गरेसँगै बजार निर्माता र स्टक डिलरको लागि बाटो खुलेको हो। अनलाइन प्रणाली आएसँगै कोषले भइरहेकै संचरनाबाट काम गर्ने भन्दा प्रभावकारी हिसावले काम गर्न सहायक कम्पनी हुनु पर्ने माग गरिएको कोषका निमित्त प्रवन्धक रोजनजंग कार्कीले बताए। 

शेयर कारोबार गर्दा अनलाइन प्रणाली अनुसार 'टि प्लस थ्रि' मा राफसाफ हुन्छ। तर स्टक डिलरको लागि यो व्यवस्था उपयुक्त नहुने भएकोले स्टक डिलरको लागि एकै दिनमा राफसाफ हुने व्यवस्था आवश्यक पर्ने कार्कीको तर्क छ। 

सरकारी स्तरको स्टक डिलर बजार सुधारको लागि भएको हुँदा सानासाना सुचनाले पनि असर पार्छ, त्यसैले एकै दिनमा राफसाफ हुने व्यवस्था आवश्यक रहेको उनको तर्क छ।  

कोषले सुरुमा छुट्टै शाखामार्फत दुर्इ अर्ब रुपैयाँबाट स्टक डिलरको काम सुरु गर्ने तयारी गरेको थियो। नेपालको पूँजी बजारमा दुर्इ अर्ब रुपैयाँले खासै प्रभाव नपर्ने भएकाले अहिलेको अवस्थामा कम्तिमा पनि ५० अर्ब रुपैयाँभन्दा माथिको फण्ड आवश्यक पर्ने देखिएको कार्कीले बताए। 

स्टक डिलर आफैले शेयर खरिद बिक्री गर्न पाउँछ। तर उसले अरुको शेयर खरिद बिक्री गरिदिन पाउँदैन। ठूला ठूला संस्थागत लगानीकर्ताको शेयर भने खरिद बिक्री गर्न पाउनु पर्ने व्यवस्था आवश्यक पर्ने सुझाव आएको कार्कीले जानकारी दिए। 

छलफलमा कर्मचारी सञ्चय कोष, सैनिक कल्याणकारी कोष र नागरिक लगानी कोषकै रकमलार्इ बास्केट फण्ड मार्फत प्रयोग गर्ने गरि काम गर्न सुझाव आएको थियो। यस्ता कोषहरुबाट लिएको रकमलाई प्रतिफलको ग्यारेन्टि गर्ने व्यवस्था मिलाउनु पर्ने विज्ञहरुको तर्क थियो। यसले बजारको सुधारको कोषले नियमावली र प्रवन्धपत्र तयार पार्दा नै विज्ञहरु झिकाउने तयारी गरेको नेपालले जानकारी दिए। उनले भने 'पछिल्ला दिनमा यसका विज्ञहरु बोलाएर आवश्यक सल्लाह सुझाव संकलन गर्ने गरिरहेका छौ।' आवश्यक परेमा कोषले कन्सल्ट्याण्टको पनि नियुक्ती गर्ने योजना बनाएको छ। 

सबै प्रकृया पुरा भएर काम अगाडि बढाउन चैत्रसम्म लाग्ने देखिएकोले बैंशाखबाट स्टक डिलरको काम गर्ने कोषको योजना छ। स्टक डिलरको लागि कोषले अध्ययन गर्ने, त्यसपछि सहायक कम्पनीको लागि नियमावली र प्रवन्धपत्र तयार पार्ने काम एक महिना भित्रमा सक्ने योजना बनाएको छ। 

प्रवन्धपत्र र नियमावली सहित नेप्सेमा निवेदन दिएपछि नेप्सेले बोर्डको स्वीकृतिमा प्रारम्भिक अनुमतिको आसयपत्र दिनु पर्छ। यससँगै सहायक कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नु पर्छ। कम्पनी रजिष्ट्रारबाट अनुमति लिएसँगै नेप्से र बोर्डबाट पनि अनुमति आवश्यक पर्छ। यससँगै कोषले स्टक डिलरको काम गर्न पाउँछ। स्टक डिलरले के के काम गर्ने भन्ने कानुनी व्यवस्था नभएको हुँदा नेपाल स्टक एक्सचेन्जले पनि आवश्यक कानुन बनाउनु पर्नेछ।