Bizmandu
www.bizmandu.com

शिवाज न्यौपाने: हाक्दैछन् साढे तीन अर्बको स्टील उद्योग, 'नेपाली उद्यमीसँग डर लाग्दैन'

शिवाज न्यौपाने: हाक्दैछन् साढे तीन अर्बको स्टील उद्योग, 'नेपाली उद्यमीसँग डर लाग्दैन'


सन् १९८२, हरि (शोभाकर) न्यौपानेले एउटा ट्रेडिङ फर्म खोले जसको नाम थियो अम्बे इन्टरनेशनल ट्रेडिङ फर्म। हङकङ र सिंगापुरबाट सामान आयात गरेर नेपालमा विक्रि गर्नका लागि स्थापना गरिएको यो फर्मको कुल पूँजी थियो, तीन लाख रुपैयाँ।
---
सन् २०१८, टेकुस्थित अम्बे कम्पेलेक्सको छैंठौं तलामा एउटा एक्जुक्युटिभ अफिस छ, यही अफिसको भित्तामा टाँसिएको छ ‘जय अम्बे स्टील उद्योग’ को ब्लुप्रिन्ट। यो उद्योगको  कुल लगानी हो, साढे तीन अर्ब रुपैयाँ। 

हरि न्यौपानेले व्यवसायमा पाइला चाल्दै गर्दा तीन लाख रुपैयाँको लगानीबाट जसरी अम्बे इन्टरनेशलन ट्रेडिङ फर्मलाई अघि बढाएका थिए, ३६ वर्षपछि उनका छोरा शिवाज न्यौपाने यही एक्जुक्युटिभ अफिसबाट साढे तीन अर्ब रुपैयाँ लगानीको जय अम्बे स्टील उद्योगलाई अघि बढाइरहेका छन्।
Sunrise Bank
Sipradee


'डन्डीको डिमान्ड बढ्दै गएपछि नेपालगंजमा नयाँ उद्योग खोल्ने योजना बन्यो। यो उद्योगको स्थापनादेखि नै म इन्भल्भ भएँ। बैंकको ऋण प्रकृयावाहेक सबैमा मेरो सहभागिता छ’ उनले भने, ’केही ठूला मेशिन किन्दा बुबासँग सल्लाह हुन्छ तर डेढ/दुई करोडको सामान खरिद गर्ने निर्णय म आफैले गर्न थालेको छु।’

सन् २०१७ मार्चबाट जय अम्बे स्टील उद्योगको पूर्वाधारको काम सुरु भएको हो। सन् २०१९ को मार्चबाट यो उद्योगबाट डन्डी उत्पादन सुरु हुनेछ। र, अम्बे समूहको टाइमलाइन जर्नीमा थपिनेछ- ‘जय अम्बे स्टील उद्योग।'

लगानी ठूलो भए पनि जय अम्बेका बारेमा उनी धेरै चिन्तित छैनन्। 'डन्डी उद्योगमा हामी स्थापित छौं, त्यसै कारण हामीलाई नयाँ उद्योग स्थापित गर्न पनि त्यति धेरै कठिन हुँदैन्', उनले भने । 

तर नयाँ नयाँ लगानीका ठूला-ठूला उद्योग आउने क्रमले केही समस्या आउनेमा भने उनी आशंका गर्छन्। 'यो मेरो आशंका मात्रै हो तर म अहिले त्यति चिन्तित नै छैन्', उनले भने। उमेर कम भएकाले समेत कन्फिडेन्स बढी भएको होला’ उनले भने।



शिवाजलाई यो कन्फिडेन्स भने भैरहवाको अम्बे स्टील उद्योगले दिएको हो। सन् २००९ मा स्थापना भएको अम्बे स्टील बजारमा स्थापित ब्राण्ड थियो। शिवाजले दुई बर्षअघि अम्बे स्टीलको जिम्मेवारी लिए। व्यवस्थापनको जिम्मेवारी लिएपछि उनी भैरहवा पुगे। 

भैरहवामै घर भए पनि उनले उद्योग भित्रै फ्ल्याट तयार पारेर त्यहीँ बस्न थाले। अम्बे स्टीलको उद्योग भित्र चार महिना बस्दा उनले व्यवसायका धेरै पाना पल्टाउन पाए। ‘त्यो उद्योग मेरा लागि लर्निङ एक्सपेरियन्स भयो,' उनले भने। 'म कुनै अफिस बसेर होइन उद्योगमै बसेर डिटेलमा बुझ्ने अवसर पाएँ’ शिवाज भन्छन्,’ त्यो उद्योगले मलाई धेरै कुरा सिकायो।’ ‘अन द फिल्ड’ बसेर काम गर्दा कामदार/कर्मचारीको मनोभावना बुझेँ।

उनले उद्योग भित्र करप्सन समेत भेट्टाए। चार महिनाको अवधिमा उनले पाँच जना सिनियर स्टाफलार्इ करप्सनकै कारण बर्खास्त गरे। ‘मैले पाँच जना सिनियर स्टाफलाई हटाउँदा उद्योगमा उथलपुथल भयो' उनले भने, 'तर त्यसको रिजल्ट राम्रो आयो। काम गर्ने व्यक्ति खुशी भए। उद्योग राम्रोसँग चल्न थाल्यो।

फाइनान्सियल रिजल्ट पनि राम्रो भयो। उद्योगमा लगानीकर्ताले नहेरे ठूलो करप्सन हुने रहेछ भन्ने पाठ पनि उनले सिके। उद्योगमा केही रिफर्म गर्दा काम गर्ने संस्कार पनि वदलियो।

उनले अम्बे स्टील सम्हालेपछि मागअनुसार आपूर्ति नै गर्न नसक्ने अवस्था आयो। उनका अनुसार दैनिक आठ सय टनको डन्डीको डिमान्ड आउँथ्यो तर उद्योगको क्षमता तीन सय टन मात्रै थियो। बजारको मागअनुसार उत्पादन बढाउन उनले भरमग्दुर प्रयास गरे।

उनले मेकानिकलमा समेत उत्कृष्ट मानिएका केशव पोखरेललाई सिइओको रुपमा ल्याए। उनले एक्जिस्टिङ क्यापासिटीमा उत्पादन बढाइदिए। त्यसबाट पनि माग पूरा हुन सकेन।



शिवाजले मेशिनबाट आउने उत्पादकत्वभन्दा मान्छेको उत्पादकत्वलाई परीक्षण गर्न चाहे। कर्मचारीको कामका आधारमा तलब समायोजनको रणनीति अख्तियार गरे। उत्पादनका आधारमा तलब निर्धारणको रणनीतिले काम गर्न थालेको छ। 

अहिले मासिक १२ हजार टन डन्डी उत्पादन हुन थालेको छ। पहिले मासिक १० हजार टन मात्रै डन्डी उत्पादन हुन्थ्यो। ‘मैले उद्योग भित्र सामान्य रिफर्म गर्दा मासिक त्यही क्षमताको उद्योगबाट २० प्रतिशत उत्पादन बढि आउन थाल्यो। तलबसँग कामलाई जोड्दा उत्पादकत्वमा धेरै फरक आयो’ उनले भने, 'कामलाई तलबसँग लिंक गरेर इन्सेन्टिभ दिंदा उत्पादन बढ्यो।' 

काम नगरे पनि तलब आइहाल्छ भन्ने संस्कारलाई बदल्न मात्रै खोज्दा उनी सफल भए। उनी अम्बेमा ज्वाइन गरेपछि कम्पनीले अहिलेसम्म कै सबैभन्दा धेरै नाफा गर्यो।

तर उनी यो फाइदामा आफ्नो भूमिका खोज्दैनन्। ‘मेरो कारणभन्दा पनि मार्केट नै राम्रो भयो। यो दुई बर्ष हरेक स्टील उद्योगले राम्रो मुनाफा गरे। नाफासँग मेरो सम्वन्ध छैन। फाइनान्सियल राम्रो हुनुमा मेरोभन्दा मार्केटको रोल बढी छ’ उनले भने।

त्योवाहेक कर्मचारीको मनोभावना समेत नजिकबाट नियाल्न पाए। ‘कलेजमा मैले चार वर्ष विताएँ तर मैले एकथोपा पनि प्राक्टिकल कुरा सिकेको होइन। म कसैलाई पनि व्यवसाय सिक्नलागि कलेज जाऊ भनेर सिफारिश गर्दिन। युरोप, अमेरिकी वा विकसित अर्थतन्त्रको प्रभावमा परेर तयार पारेको पाठ हाम्रो जस्तो देशको वास्तविक जीवनमा एप्लिकेवल नै छैन’ उनले भने।

शिवाज भन्छन्, 'मैले कलेजमा गएर अमेरिकीसँग बसेर उनीहरुको थिङकिङ मात्रै बुझ्ने अवसर पाएँ। तर मैले अन द फिल्ड काम गर्दा कम्पनी कसरी चल्दो रहेछ भन्ने नजिकबाट बुझ्ने अवसर पाएँ।’ उनले त्यही उद्योगबाट थाहा पाए कुनै उद्योग वा कम्पनी चल्ने भनेको इन्डिभिज्युल मान्छेको सहभागिताबाट हो।

‘कर्मचारी आ-आफ्नो भावना अनुसार चल्छन्। सबैको आ-आफ्नो घमण्ड र इगो हुन्छ, सबैको आ-आफ्नो सपना हुन्छ, शिवाजले भने, उनीहरुको त्यही घमण्ड, इगो, सपना र भावनालाई व्यवस्थापनले बुझ्न सक्यो र त्यसलाई सकारात्मकतातर्फ मोड्न सक्यो भने उद्योगलाई'हाइलेभल'मा लैजान सकिने रहेछ। यो मैले किताबमा होइन वास्तविकतामा बुझेँ।'
….
कलेजको किताबी ज्ञानबाट व्यवसायमा उलेख्य भूमिका नभेटेका शिवाजले विजनेश मन्त्र भने किताबबाट लिने गरेका छन्। उनी फूर्सद हुने वित्तिकै किताब पढ्छन्। ‘खाली समयमा गफ गरेर खेर फाल्दिन्। किताबमै मेरो धेरै समय वित्छ। किताब पढेकै कारण अन्डरस्ट्यान्डिङ गहिरो हुने गरेको छ। लङ रनमा त्यसले वेनिफिट हुन्छ होला’ शिवाजले भने।

नेपालको रातो बंगला, भारतको दून स्कुल र अमेरिकाको युनिभर्सिटी अफ मिलिनयोबाट ब्याचलर्स गरेका शिवाजले पहिलो व्यवसायिक परीक्षा भने लाभा फोनमा दिएका थिए। 



सन् २०१५ मा चिनियाँ मोबाइल कम्पनी लाभाको नेपालको अधिकृत बिक्रेता अम्बे मोबाइल बन्यो। अम्बेले अधिकृत बिक्रेता लिँदा नेपालमा लाभा मोबाइल सेट बिक्रीका हिसाबले सामसङपछि दोस्रो स्थानमा थियो। र, त्यो पनि चौधरी समूहको सिजी इलेक्ट्रोनिक्ससँग सम्झौंता रद्ध गरेर चिनियाँ कम्पनी अम्बेसँग जोडिएको थियो। बिक्रीका हिसाबले दोस्रो र ठूला घरानाबाट आएको लाभा मोबाइललाई अघि बढाउनु साच्चिकै चुनौतीपूर्ण थियो।

अमेरिकाबाट ब्याचलर्स सकेर नेपाल आएको छ महिना मात्रै भएको थियो। शिवाजले ६ महिना घुमघाममै विताए। घुमघाम चल्दै थियो, समूहमा भित्रिएको कान्छो व्यवसायको कमान्ड नयाँ पुस्ताका रुपमा उदाएका शिवाजलाई दिइयो। 

त्यो बेला चिनियाँसँग डिल गर्नेदेखि सबै काम मैले गरें। त्यतिवेला स्ट्रङ ब्राण्डका रुपमा रहेको लाभाको रणनीतिक योजना बनाउने जिम्मा उनले पाए। व्यवसायको बारेमा बुझ्न त्यो जिम्मेवारी एउटा महत्वपूर्ण खुड्किलो बन्यो। 
तीन वर्ष अघि लाभा मोबाइलबाट व्यवसायमा प्रवेश गरेका शिवाज परिपक्व हुँदै आएका छन्। त्यही परिपक्वताका कारण कन्फिडेन्स पनि बढ्दै गएको छ। ‘दुई वर्ष अम्बेमा काम गरेपछि उनले शंकर समूहसँग मिलेर स्थापना भएको नयाँ सिमेन्ट उद्योगको मानव संशाधन (एचआर)को काममा पनि सघाए। १० अर्ब रुपैयाँ लगानीमा स्थापना भएको रिद्धसिद्धि सिमेन्टको मिड क्यारिअरका २० जना कर्मचारी उनले नै छाने। रिद्धिसिद्धिलाई आवश्यक फर्नेश आयल पनि उनले नै किने। ठूलो उद्योग भएकाले केही महिना हेटौंडामा नै बसेर उद्योगको बारेमा बुझ्न पनि उनले भ्याए।
….
‘बुबाले व्यवसाय सुरु गर्दा तीन लाख रुपैयाँको ठूलै थियो। अहिले तीन अर्बको लगानीमा स्थापित उद्योगले पनि त्यस्तै व्यवसायीसँग प्रतिस्पर्धा गरिरहेको छ। म माथि नपुगेर मेरो छेउछाउका मान्छे माथि पुगे भने म कमजोर भएँ भन्ने लाग्छ। तर मलाई आत्मविश्वास छ मलाई तल होइन माथि नै हुनुछ,' उनलाई नेपालका व्यवसायीसँग त्यति डर लाग्दैन्, ‘किनकि उहाँहरु धेरैसँग मैले भेटेको छु, उहाँहरुलाई एनालाइसिस गरेको छु।



हामीमा खास धेरै भिन्नता छैन्, शिवाजले भने उहाँहरु मभन्दा अलि बढि अनुभवी मात्रै हो। तर हामी दुवैले बजारमा सँगै प्रतिस्पर्धा गर्नुपर्छ। मैले अहिले नेपालमा जति जनालाई भेटेको छु, म उहाँहरुभन्दा अव्वल हुन्छु जस्तो लाग्छ, त्यो मेरो आत्मविश्वास हो, फेरी आत्मविश्वास भएन भने त व्यवसायमा सफल हुन पनि नसकिएला' उनले आफैसँग प्रश्न गरे।