BIZMANDU
www.bizmandu.com

ब्याज बढ्ने र शेयर बजार घट्ने भएपछि अर्थमन्त्री एक्सनमा उत्रिए, उच्चस्तरीय समिति गठन

२०७५ मंसिर २०

ब्याज बढ्ने र शेयर बजार घट्ने भएपछि अर्थमन्त्री एक्सनमा उत्रिए, उच्चस्तरीय समिति गठन
ब्याज बढ्ने र शेयर बजार घट्ने भएपछि अर्थमन्त्री एक्सनमा उत्रिए, उच्चस्तरीय समिति गठन

काठमाडौं। सरकारले मुद्रा तथा पूँजी बजारमा देखिएको समस्याको अध्ययन गर्नका लागि उच्चस्तरीय समिति बनाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको निर्णयका आधारमा समिति गठन गरिएको हो।

Tata
GBIME
Nepal Life

समितिले सात दिनभित्र अध्ययन गरेर समस्या समाधानका सुझाबहरु दिनु पर्ने छ। बैंकहरुले अन्धधुन्द ब्याज बढाएको र शेयर बजार पनि लगातार घट्न थालेपछि अर्थमन्त्री डा. खतिवडाले बिहीबार समिति बनाएका हुन्।

समितिको संयोजकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छन्। धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, शेयर लगानीकर्ता संघका प्रतिनिधिहरु र अर्थमन्त्रालयका वित्तीय क्षेत्र ब्यवस्थापन हेर्ने सहसचिव समितिका सदस्य छन्।

अर्थमन्त्रालयले स्थानीय निकायको पैसा बैंकहरुलाई चलाउन दिएको भोलीपल्टै मनपरी ब्याज बढाएकोमा अर्थमन्त्री क्रुद्ध बनेका थिए। ब्याज दर बृद्धिका कारण शेयर बजार घट्न थालेको थियो। यसले गर्दा शेयर बजार र मुद्रा बजार दुबै क्षेत्रको समस्या पहिचान गरी त्यसलाई हल गर्ने उपाय खोज्न समिति गठन गरिएको हो।

अर्थमन्त्री खतिवडाको बैंकहरुले मनपरी ब्याज बढाएर ऋणलाई थप महँगो पार्न खोजेको बुझाइ छ। शेयर बजार घट्ने र उत्पादनमूलक क्षेत्रको ऋणसमेत धान्नै नसकिने गरी महँगो हुने उनको विश्लेषण छ। यसले गर्दा लगानी निरुत्साहित भएर आर्थिक बृद्धि दर नै प्रभावित हुने अर्थमन्त्रीको निष्कर्ष छ।

यी सबै समस्याको समाधानका लागि सुझाब दिन उनले उच्चस्तरीय अध्ययन समिति गठन गरेका हुन्। अर्थमन्त्रालयमा काज सरुवामा गएका राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले ब्याजदर वृद्धिका बारेमा मन्त्रालय गम्भिर रहेको बताए।

अर्थमन्त्रालयले स्थानीय तहको बजेटमध्ये ५० प्रतिशत बैंकहरुलाई निक्षेपका रुपमा परिचालन गर्न दिएको भोलिपल्टै ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री खतिवडाले गम्भिर चासो लिएका छन्।

बैंकहरुले स्थानीय तहको ४० अर्ब रुपैयाँ पाएको भोलिपल्टै निक्षेपको ब्याजदर साढे २ प्रतिशत बिन्दुले बढाएर साढे १३ प्रतिशतसम्म पुर्याइसकेका छन्। 'ब्याज दरको स्थिति र यसले शेयर बजारमा पुर्याएको असरका बारेमा गम्भिरताका साथ हेरिरहेका छौं,' डा. खरेलले भने, 'ब्याजदर वृद्धिको समाधान कसरी गर्न सकिन्छ भनेर हेरिरहेका छौं।' 

अर्थमन्त्रीको सकृयतामा ब्याज दरको समस्या अन्त्य गर्दै शेयर बजारलाई पनि स्वभाविक गति दिने उपायको खोजी गरिन लागेको हो।

'स्थानीय तहको पैसा नदिउन्जेलसम्म बैंकहरुले ब्याज बढाएनन्। कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ब्यवस्थापन गर्न गाह्रो भयो, ऋण दिन सकिएन मात्र भनिरहे,' डा. खरेलले भने, 'पैसा पाएलगत्तै भने ब्याज बढाएका छन्। यसलाई हामीले गम्भिर ढंगले हेरेका छौं।'