BIZMANDU
www.bizmandu.com

पर्यटन मन्त्री अधिकारी भन्छन्, ‘निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने प्रक्रिया थालेका छौँ,’

२०७५ मंसिर १९

पर्यटन मन्त्री अधिकारी भन्छन्, ‘निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने प्रक्रिया थालेका छौँ,’
पर्यटन मन्त्री अधिकारी भन्छन्, ‘निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने प्रक्रिया थालेका छौँ,’

काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ। निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न उसको सम्पत्ती तथा दायित्वको मूल्यांकन (डिडिए) गर्ने प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

Tata
GBIME
Nepal Life

निगममा नेपाल सरकारले शेयर लगानी बढाएर कम्पनी मोडलमा सञ्चालन गर्ने र त्यही कम्पनीले नै रणनीतिक साझेदार वा लगानीकर्ता भित्र्याउने भन्ने निर्णय गर्ने अधिकारीले बताए। उनले निगमलाई बलियो संस्थाका रुपमा विकास गर्न सरकारले आवश्यक कदम अघि बढाउने पनि जानकारी दिए। 

डिडिए सकिएपछि कम्पनीको संरचनाबारे निर्णय हुने पनि उनले जानकारी दिए। 'सम्पत्ती र दायित्व मूल्यांकन भएपछि हामी आवश्यक निर्णय गर्नेछौँ,' उनले भने। 

मन्त्री अधिकारीले रणनीतिक साझेदार खोजेर निगमलाई बलियो संस्थाका रुपमा विकास गर्न कम्पनी मोडलमा जाने निर्णय गर्न ढिलाई गर्न नहुने पनि बताए। 'निगमलाई बलियो संस्थाका रुपमा विकास गर्ने हो, त्यसका लागि रणनीतिक साझेदार खोज्ने एउटा विकल्प हुन सक्छ,' अधिकारीले भने, 'यी सबै कामको तयारीका लागि पनि कम्पनीमा रुपान्तरण गर्न ढिला गर्नु हुँदैन।' 

चरम वित्तीय संकटबाट गुज्रिएको पूर्ण सरकारी स्वामित्वको संस्थानलाई प्रभावकारीरुपमा अघि बढाउन सरकारले कम्पनी मोडलमा जाने र त्यसपछि रणनीतिक साझेदार ल्याउने तयारी अघि बढाएको हो। कम्पनीमा रुपान्तरण भएपछि निगमको शेयर बिक्री गर्ने वा रणनीतिक साझेदार मात्रै भित्र्याउने भन्ने निर्णय कम्पनीले नै गर्नेछ। 

असार र साउनमा दुईवटा वाइडबडी जहाज किनेपछि त्यसलाई सञ्चालन गर्न नसक्दा चरम वित्तीय संकटबाट गुज्रिएको निगमले सरकारसँग ऋण मागेको थियो। तर अर्थमन्त्री डा. युवराज खतिवडाले निगमलाई ऋण दिन नसक्ने बताएपछि निगम सञ्चालनका लागि नयाँ विकल्प खोजिएको हो। 

अर्थमन्त्री खतिवडाले निगमको ५१ प्रतिशत शेयर बेच्ने सुझाव पर्यटन मन्त्रालय र निगम व्यवस्थापनलाई दिइसकेका छन्। खतिवडाले तत्काल पुँजी बढाउन वा ऋण दिन नसक्ने भन्दै शेयर बिक्रीको सुझाव दिएका हुन्। 

जहाज खरिदको ३९ अर्ब रुपैयाँ ऋण बोकेर बसेको निगम अहिले वित्तीयरुपमा संकटग्रस्त अवस्थामा छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको त्रैमासिक साँवा र ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्थामा पुगेको संस्थानलाई कम्पनी मोडलमा सञ्चालन गर्ने निर्णयमा अधिकारी पुगेका हुन्। 

नेपालको ध्वजावाहक वायु सेवा निगमको रणनीतिक साझेदार बन्न धेरै अन्तर्राष्ट्रिय कम्पनी ईच्छुक देखिएका छन्। तर नेपालले रणनीतिक साझेदार भित्र्याउने गरी कुनैपनि कम्पनीलार्इ प्रस्ताव गरेको छैन। 

हाल इत्तेहाद, एमिरेट्स, कतारलगायत विभिन्न ठूला कम्पनीले साझेदारका लागि निगमसँग अनौपचारिक छलफल गर्दै आएका छन्। निगम व्यवस्थापनले भने रणनीतिक साझेदार भित्र्याउने निर्णय प्रतिस्पर्धामार्फत गर्ने गरी काम गरिरहेको जनाएको छ।