BIZMANDU
www.bizmandu.com

सरकार र निजी क्षेत्रको लगानीको पूर्वाधार बैंकमा ज्ञवाली नियुक्त हुँदै, शशिनले मानेनन्

२०७५ मंसिर १७

सरकार र निजी क्षेत्रको लगानीको पूर्वाधार बैंकमा ज्ञवाली नियुक्त हुँदै, शशिनले मानेनन्
सरकार र निजी क्षेत्रको लगानीको पूर्वाधार बैंकमा ज्ञवाली नियुक्त हुँदै, शशिनले मानेनन्


काठमाडौं। सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारीमा अनिल ज्ञवाली नियुक्त हुने भएका छन्।  आज साँझ बस्ने सञ्चालक समिति बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी नियुक्त गर्ने स्रोतले बतायो । उनी चार बर्षका लागि नियुक्त हुनेछन्। 

Tata
GBIME
Nepal Life

तीन बर्षअघि ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ज्ञवाली कार्यकाल पूरा हुन दुई बर्ष बाँकी छँदै बाहिरिएका थिए। उनी ०७२ जेठमा ग्लोबल आइएमइ दोस्रो पटक छिरेका थिए।

नबिल बैंकमा चार बर्षे कार्यकाल पूरा गरेलगत्तै उनी ग्लोबल आइएमइ गएका थिए। नबिलअघि पनि ज्ञवाली ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत थिए। उनले त्यस बेला पनि चार बर्षे कार्यकाल सकिनु एक बर्ष बाँकी छँदै छाडेका थिए। 

तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३३ बर्ष अगाडि बैंकिङ करियर सुरु गरेका ज्ञवाली त्यहाँ माथिल्लो व्यवस्थापनमै नियुक्त भएका थिए। उनी बैंकमा आवद्ध हुँदा अरब बैंकले सञ्चालन अनुमति समेत पाएको थिएन। अमेरिकाबाट पढेर फर्किएको केही समयभित्रै उनी बैंकमा गएका थिए।

पूर्वाधार विकास बैंकले अहिलेसम्म सञ्चालन स्वीकृति पाएको छैन। राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर प्रकृया पूरा गर्न सुझाब दिएको थियो। यही सुझाब अनुसार ज्ञवालीलार्इ नियुक्त गर्न लागिएको हो।
 
१९८४ बाट १९९६ सम्म नबिल बैंकमा रहेका उनले त्यसपछि अमेरिकास्थित सिटी बैंकको नेपाल शाखा प्रमुख भएर काम गरे। नबिल छाड्दा उनी त्यहाँ सहायक महाप्रबन्धक थिए। सिटी बैंकले नेपाल कार्यालय बन्द गरेपछि उनी सिटीको दिल्लीस्थित कार्यालयमा गएका थिए। सिटी बैंकमा उनले १२ बर्ष काम गरेका थिए। सिटी छाडेर ग्लोबल बैंक आएका उनी चार बर्षे कार्यकाल पूरा हुन बर्ष दिन बाँकी छँदै नबिल बैंक गएका थिए। नबिलमा पूरै कार्यकाल सकेर उनी ग्लोबल छिरेपनि दुई बर्ष बाँकी छँदै बाहिरिएका थिए। 

बैंकले तीन महिनाअघि बैंकर शशिन जोशी र ज्ञवालीसँग अनौपचारिक कुराकानी गरेको थियो। राष्ट्र बैंकले विदेशी प्रमुख कार्यकारी नल्याउन भनेपछि पूर्वाधार समूहले शशिन र अनिलसँग कुराकानी गरेको हो। शशिनले अरुनै संस्थासँग आबद्धता जनाइसकेको बताएपछि अनिलसँग कुरा मिलेको हो। 
२० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो। प्रस्तावित बैंकको सञ्चालक समिति अध्यक्षमा पूर्व मूख्य सचिव डा. विमल कोइराला छन्। 
 
बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारि गर्ने योजना बनाएको छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक शेयर हुनेछ। १२ अर्बको ४५ प्रतिशत अर्थात ५ अर्ब ४० करोड रुपैयाँ जम्मा गरेका कारण सैद्धान्तिक स्वीकृती पाएको हो।  
 
कम्पनीले ५ अर्ब ४० करोड रुपैयाँ ६ वटा बैंकमा जम्मा गरेको छ। एउटा बैंकमा एक अर्ब रुपैयाँभन्दा बढि राख्न नपाइने ब्यवस्थाका कारण ६ वटा बैंकमा पैसा राखेको हो। 

बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ। बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई, मुरारका ग्रुप लगायतका समूह आवद्ध भएका छन्। बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत शेयर रहनेछ। 
 
पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी यो बैंक स्थापनाका लागि नेपालको निजी क्षेत्र चार वर्ष अघिदेखि गृहकार्यमा थियो। 
 
यो बैंकले संचय कोष र बीमा कम्पनीको निक्षेप २० बर्षसम्म भन्दा लामो समयका लागि लिनेछ। त्यो निक्षेप पूर्वाधार क्षेत्रमा लगानी हुनेछ। त्यसबाहेक स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरि ऋण लिने, डिवेञ्चर जारी गरि स्रोत परिचालन गर्ने, लिजिङ कारोबार गर्ने लगायतका काम गर्ने जनाइएको छ। प्रारम्भमा बैंक सञ्चालक समितिमा सरकारी प्रतिनिधी सहित सात जना रहने व्यवस्था प्रस्ताव गरिएको छ। पुस दोस्रो सातासम्म बैंक सञ्चालनमा ल्याउने ब्यवस्थापनको योजना छ।