BIZMANDU
www.bizmandu.com

पहिलो ब्यापारबाट टाट पल्टिएका लक्ष्मणको यू टर्न, जस्मिन पेन्ट्सले दिलायो नसोचेको सफलता


पहिलो ब्यापारबाट टाट पल्टिएका लक्ष्मणको यू टर्न, जस्मिन पेन्ट्सले दिलायो नसोचेको सफलता
पहिलो ब्यापारबाट टाट पल्टिएका लक्ष्मणको यू टर्न, जस्मिन पेन्ट्सले दिलायो नसोचेको सफलता


काठमाडौं। ७ बर्षको उमेरमा पाल्पाबाट चितवन झर्दा लक्ष्मण अर्याललाई कता जाँदैछु भन्नेसम्म थाहा थिएन। बसाईं सरेपछि परिवार धान्न बुवाले चितवनमा धानचामलको गल्ला व्यवसाय सुरु गरे। यो २०३७ सालतिरको कुरा हो। 

Tata
GBIME
Nepal Life

गल्लावाला बुवाको ब्यस्तताले लक्ष्मणको कलिलो दिमागमा ब्यापार गर्नुपर्ने रहेछ भन्ने चेत भरिदिएको थियो। तर गल्लाको ब्यापारले अर्याल परिवारमा समृद्धि ल्याउन सकेन। बुवाको गल्ला ब्यापार नराम्ररी डुब्यो। ब्यापार चौपट भएपछि छरछिमेकले पनि नराम्रो ब्यबहार गर्न थालेका थिए। सानै उमेरका लक्ष्मणले यो सबै देखेका थिए तर कारण बुझ्नेगरी परिपक्व भएका थिएनन्। 

बुवाले हरेस खाएनन्। गल्लाको व्यवसाय डुबेको तितो यथार्थलाई बिट मार्दै बुवाले २०४६ सालतिर नारायणघाटमा चौबिसै घण्टा खुल्ने जुनेली होटल खोले।  गल्लाबाट निरासा हात लागेपनि जुनेली होटलले लक्ष्मणको परिवारको गुमेको साख नै फर्कायो। लज र रेष्टुरेन्टका रुपमा सुरु भएको जुनेली होटलले छ सात वर्षमा अर्याल परिवारलाई पुरानो दुख बिर्साउने गरीको सफलता र कमाइ दियो। 

बुवाको यही जुझारुपन देखेका लक्ष्मणको मनमा पनि ब्यापारी बन्ने सपना हुर्कियो तर सपनालाई कसरी आकार दिने उनले ठम्याउन सकिरहेका थिएनन्। भाइको ब्यापारी बन्ने धुन बुझेपछि लक्ष्मणका दाईले साथ दिए। दाजुकै आड भरोसामा २०५२ सालमा जस्मिन प्रोडक्सन प्रालि खडा भयो जसमा लक्ष्मणको परिवारले ऋण काढेर ६० लाख लगानी गर्यो। अरु दुई साझेदार लक्ष्मी अधिकारी र पुरुषोत्तम पौडेलसँग मिलेर सुरु भयो सर्फ, मन्जन, मरमसला लगायतका सामाग्रीको उत्पादन। 

लक्ष्मणका दाइले कलकत्ता पढ्दै गर्दा लक्ष्मीलाई चिनेका थिए। उनी हेटौंडामा मन्जन उत्पादन गर्थिन्। भाइलाई उद्योगी बनाउन उनले पनि लक्ष्मीको सहयोग राम्रै हुने बिचार गरे। 

उनी उत्पादनको काम हेर्थे साझेदारहरु व्यवस्थापन। तर कलिलै उमेरका लक्ष्मणले उद्योगमा आर्थिक हिनामिना र चलखेल हुन थालेको मेसै पाएनन्। लौ उद्योग त खत्तम भएछ भनेर थाहा पाउँदा उनले सम्हाल्न सक्ने अवस्था पार भैसकेको थियो। 

सहयोगीहरुले घात गरेपछि उद्योग टाट पल्टिएछ। ठूलो उद्योगी बन्छु भनेर महत्वाकांक्षा पालेका लक्ष्मण धितोमा राखेको घर लिलाम हुँदा त्यति आँत्तिएका थिएनन् तर त्यति नै बेला बुवाको किड्नी फेल भएको खबरले उनको पैतालामुनिको जमीन भाँसियो। 

बुवाकै कमाईले थालेको ब्यबसाय डुबेको समय बिरामी परेका बुवालाई राख्ने घर समेत लिलाम हुनु। समयले लक्ष्मणसँग कठिन परीक्षा लिँदै गयो। उनी हरेक परीक्षाबाट खारिँदै थिए। एकातिर ऋणको भार अर्कोतिर वुबाको उपचार। लक्ष्मणको दैनिकी झन झन् कठिन हुँदै गयो। एक समय यस्तो पनि थियो लक्ष्मणको परिवारलाई बिहान बेलुकीको छाक टार्नै समेत मुश्किल भयो। 

समय जतिसुकै प्रतिकुल भएपनि लक्ष्मणले  हरेस खाएनन्। सफलता र असफलता दुबै सानैदेखि देखेका लक्ष्मणले काम गर्न भने कहिल्यै छोडेनन्। फेरि गुजारा गर्नकै लागि भएपनि त उनले केही त गर्नु नै पर्थ्यो। साथीभाइसँगको सल्लाहमा उनले घरमै बनाएर चक पाउडर, वाटर प्रुफ पाउडर जस्ता सामाग्री बेच्न थाले। 

केही साथीभाई लक्ष्मणलाई हौसला दिइरहन्थे। उनीहरुकै सल्लाहमा लक्ष्मणले फेरि दरोसँग पाइला टेक्न प्रयास गरे। दोस्रो पटक उद्योगीको रुपमा लक्ष्मणले सुरु गरे ‘जस्मिन पेन्ट्स’। 

यसपटक समयले लक्ष्मणलाई पूरापूर साथ दियो। घरमै उनले रंगरोगनका सामाग्रीहरु उत्पादन थाले। सुरुमा मेटल प्राइमर, पिंक प्राइमर जस्ता सामान उत्पादन गर्दै ग्रो गरेको कम्पनीले बिस्तारै धुलो रंग, इनामेल, डिस्टेम्पर, एस्टेरियर पेन्ट्स र वाल पुटिङ जस्ता सामाग्रीको उत्पादन र बिक्री थाल्यो। 

पहिलो पटक व्यवसायमा हारेका लक्ष्मणले दोस्रोपटक आफ्नै आँगनबाट थालेको उद्योग ‘जस्मिन पेन्ट्स’ आज नेपालकै टप फाइभ रंग उद्योग मध्ये एक हो। यो उद्योगबाट लक्ष्मणले पैसा त कमाए नै तर यसबाट पाएको सबैभन्दा ठूलो खुशी के हो थाहा छ? नोस्टाल्जिक हुँदै लक्ष्मणले भने-‘ जुन घर पुरानो ब्यापार गर्दा लिलामीमा परेको थियो। त्यही गुमेको घर फेरि फर्काएँ।’ 
 

व्यवसायमा हात हालेको दुई दशकभन्दा बढी बितिसकेको छ। हाल लक्ष्मण आधा दर्जन उद्योग संचालन गर्ने मनकामना ग्रूपका अध्यक्ष छन्। सबै उद्योगहरुले राम्रो नाफा दिइरहेको र सफलता पाइरहेको उनी बताउँछन्।

स्वदेशी पेन्ट्समा अब्बल 
अरु कम्पनीभन्दा जस्मिन पेन्ट्सको सफलताको कथा चाख लाग्दो छ । बजारमा उपलब्ध अन्य स्वदेशी ब्राण्ड तथा  मल्टिनेसनल कम्पनीसँग जस्मिन पेन्ट्सले कुशलतापूर्वक प्रतिस्पर्धा गरिरहेको उनले दाबी गरे। 

जस्मिन पेन्ट्सले वार्षिक ३० प्रतिशतले बिक्री बढाइरहेको तथ्यांक प्रस्तुत गर्दा उनी निकै आत्मविश्वासी सुनिए –‘ब्यापार योजना, रणनीति, बजारको आवश्यकता, काम गर्ने शैली र व्यवहारलगायतका कारण हामी टप फाइभ कम्पनी बनेका छौं।’ 

एकै प्रकृतिका उत्पादनसहित विभिन्न कम्पनी बजारमा आइरहेका छन् । जसले प्रतिस्पर्धा बढाउनुको साथै जोगाइ राख्न चुनौती थपिदिएको छ । पाइसकेको नाम र पोजिसन गुम्ने हो कि भन्ने चिन्ता पनि  छ र त्यसलाई कसरी कायम राख्ने भन्ने नै मनमा खेलिरहने लक्ष्मण बताउँछन् । उनी थप्छन्, ‘यो रातारात भएको यू टर्न होइन, निरन्तरको मेहनतपछि भएको ग्रोथ हो ।’   

नेपालमा सञ्चालन भइरहेका प्रायः उद्योगहरु बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न र आफुलाई जोगाउन नसकेर बन्द भएका छन् । तर, जस्मिन पेन्ट्सको सवालमा यो लागू हुँदैन । 

बहुराष्ट्रिय कम्पनीले तय गर्ने रणनीति, अध्ययन/अनुसन्धानमा गर्ने खर्च, उसको ब्राण्ड र विज्ञापनको प्रभाव, जडान गरेको प्रविधि र उपकरण, एचआरको एक्सपोजरले स्वदेशी उद्योगलाई मारमा पारेको उनको अनुभव। लक्ष्मणसँग यी सबैसँग प्रतिस्पर्धा गर्नका लागि एउटै मन्त्र छ -‘संघर्ष गर्नुको विकल्प छैन, आफ्नो उत्पादनको गुणस्तरप्रति ढुक्क हुनुपर्छ।’

कमजोर पक्षहरु केही छैनन् त? आत्ममूल्यांकन गर्दा लक्ष्मणलाई काठमाडौंको बजारमा जस्मिन उपत्यका बाहिरजस्तो एग्रेसिभ हुन नसके झैं लागेको छ। त्यसकै लागि काठमाडौं उपत्यकामा आक्रामक योजना सहित आउने कम्पनीले योजना बनाइसकेको छ। 

बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नकै लागि जस्मिन पेन्ट्सले अनुसन्धान तथा बिकासमा ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको उनले बताए। विस्तारै लगानी बढाउँदै लैजाने र ब्राण्ड–प्रमोसन र एचआरको विकासमा खर्चिने रणनीति अनुसार कम्पनीले काम गरिरहेको छ। योसँगै लक्ष्मणको मनकामना ग्रुपले एक वर्षभित्रमा नयाँ उद्योगको रुपमा सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ।