BIZMANDU
www.bizmandu.com

भारतमा पहिलो विद्युतीय रेलको परीक्षण सुरु, प्रतिघण्टा १७० किमी गुड्यो, बुलेटकै झल्को

२०७५ मंसिर १६


भारतमै निर्माण भएको पहिलो इन्जिन बिनाको विद्युतीय रेल ट्रेन १८ ले परीक्षण यात्रा सुरु गरेको छ। परीक्षण यात्राका क्रममा  रेलले १७० किलोमीटर प्रतिघण्टाको गति क्षमता देखाएपछि यो भारतकै सबैभन्दा तीब्र गतिको रेल बन्ने निश्चित भएको छ।

Tata
GBIME
Nepal Life

परीक्षण चलिरहेको र यसले १७० किलोमीटर प्रतिघण्टाको क्षमता देखाइसकेको उत्पादक कम्पनी इन्ट्रिगल कोच फ्रयाक्ट्री आइसिएफका महाप्रबन्धक सुधांशु मनिले जानकारी दिए। उनका अनुसार रेलवेको परीक्षण यात्रा अब १८० किलोमीटर प्रतिघण्टाको लागि हुनेछ।

भारतकै उत्पादन भएकोले  ट्रेन १८  भारतीय रेलवेको इतिहासमै कोशेढुंगा बन्न सफल हुने रेल बिभागले जनाएको छ। कम्पनीले यसलाई एकसय करोड भारतीय रुपैयाँको लागतमा तयार पारेको जनाएको छ। नियमित उत्पादन हुन थालेपछि यसको उत्पादन लागत घट्ने पनि कम्पनीले जनाएको छ।

 ट्रेन १८ लाई कम्पनीले बुलेट ट्रेनकै स्वरुपमा निर्माण गरेको हो। हाल भारतमा सबैभन्दा तीब्र गतिको रेलवे दिल्लीदेखि झाँसी चल्ने गतिमान एक्सप्रेस हो जुन १६० किलोमीटर प्रतिघण्टाका दरले कुद्छ।

ट्रेन १८ को हाल दिल्ली मुम्बई राजधानी रुटमा परीक्षण जारी छ। रेलवे अधिकारीहरुका अनुसार रेललाई हाल त्यसको अनुमानित गतिभन्दा १० प्रतिशत मात्र उच्च गतिमा चलाइएको छ। डिसेम्बर महिनाभरमा परीक्षण सकिएपछि रेल बिभागले  प्रतिवेदन सार्वजनिक गर्ने तयारी भैरहेको छ।

ट्रेन १८ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया  परियोजना अन्तर्गत चेन्नई स्थित कम्पनी आइसिएफले उत्पादन  गरेको हो। यसलाई  अत्याधुनिक र प्राविधिक रुपमा उत्कृष्ट रेल भनिएको छ । परीक्षण सकिएपछि यसले शताब्दी एक्सप्रेस ट्रेनलाई प्रतिस्थापन गर्ने बताइएको छ।

भारतीय रेल मन्त्रालयले ट्रेन १८ कालागि रुट निर्धारण गर्ने छ। दिल्ली भोपाल रुटबाहेक यसकालागि बनारसको रुट समेत राखिने तयारी भैरहेको छ।

बनारस प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र भएकाले त्यस क्षेत्रमा पनि यस रेलको रुट राखिने भएको हो।

इन्जिन बिनाको यो विद्युतीय रेलका सिटहरु यूरोपियन स्तरका आरामदायी र यात्रुहरुलाई नहल्लाउने र नउफार्ने दावी कम्पनीले गरेको छ।  
चेन्नइ स्थित आसिएफले आगामी फेब्रुअरीदेखि यसलाई ब्यावसायिक रुपमा संचालनमा ल्याउने जनाएको छ। आगामी आर्थिक वर्षमा कम्पनीले थप ४ वटा नयाँ रेल ल्याउने तयारी समेत गरिरहेको छ।


ट्रेन १८ का अत्याधुनिक रेलहरुले राजधानी एक्सप्रेसलाई बिस्थापन गर्ने तयारी भारतीय रेलवे बोर्डले गरिरहेको छ। अटोमेटिक ढोका र  घुम्ने सिट भएको ट्रेन १८ ले भारतीय रेल यात्रामा नयाँ क्रान्ति लिएर आउने विश्वास रेल बिभागले गरेको छ।