BIZMANDU
www.bizmandu.com

कर कार्यालयले निजी कम्पनीका ब्यालेन्स सीटमा सीधा पहुँच राख्ने, यस्तो छ तयारी

२०७५ मंसिर १५

कर कार्यालयले निजी कम्पनीका ब्यालेन्स सीटमा सीधा पहुँच राख्ने, यस्तो छ तयारी
कर कार्यालयले निजी कम्पनीका ब्यालेन्स सीटमा सीधा पहुँच राख्ने, यस्तो छ तयारी


काठमाडौं। चार्टर्ड एकाउन्टेन्टले तयार गरेको निजी कम्पनीका वासलातमाथि कर कार्यालयको सीधा पहुँच हुने गरी संयन्त्र विस्तार गरिने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र आन्तरिक राजस्व विभाग दुवैको पहुँचमा वित्तीय विवरण उपलब्ध हुने गरी अनलाइन संयन्त्र तयार गर्न लागिएको हो।चार्टर्ड एकाउन्टेन्टहरुले एउटै कम्पनीको दुईवटा वासलात तयार गर्ने र थोरै कारोबारको विवरण मात्रै कर कार्यालयमा बुझाई राजस्व छली गर्न सहयोग गरेको आशंकामा सरकारले आइक्यानसँग मिलेर संयन्त्र निर्माण गरी नियमनको तयारी गरिएको हो। 'दोहोरो वासलात तयार गर्नेमाथि कडाई गर्न र राजस्व चुहावट नियन्त्रण गर्न आइक्यानसँग सहकार्य गरेर प्रणाली विकास गर्न खोजिएको छ,' आन्तरिक राजस्व विभागका एक अधिकारीले भने।

आफूले तयार गरेको वित्तीय वितवरणको जानकारी चार्टर्ड एकाउन्टेन्टहरुले अनलाइन प्रणालीमा 'इन्ट्री' गराउनुपर्ने र त्यसमाथि कर कार्यालयको पहुँच हुने गरी व्यवस्था मिलाउन खोजिएको स्रोतले जानकारी दिएको छ। 'चार्टर्ड एकाउन्टेन्टले त्यसरी वित्तीय जानकारी राखेपछि एउटै कम्पनीका दुईथरी वासलात तयार हुने र त्यसबाट बैंकमा एउटा र कर कार्यालयमा अर्को बुझाउने अवस्थाको अन्त्य हुनेछ,' विभागका एक अधिकारीले भने।

यो प्रणालीको विकास भएपछि एउटै कम्पनीको दुईवटा वासलात तयार गर्ने चार्टर्ड एकाउन्टेन्टमाथि निगरानी बढाउन सजिलो हुने विभागले जनाएको छ। 'यसले उहाँहरुलाई अफ्ठेरोमा पार्ने भन्दा पनि पारदर्शिता बढाउँछ,' विभागका ती अधिकारीले भने। आइक्यानको बोर्डमा रहेका एक चार्टर्ड एकाउन्टेन्टले विभागसँग छलफल भएको र त्यसैको आधारमा प्रणाली विकासको तयारी गरिएको पुष्टी गरे। 'चार्टर्ड एकाउन्टेन्टले आफूले तयार गरेका वित्तीय विवरणका जानकारी अनलाइनमा इन्ट्री गराउनुपर्ने र त्यसको पहुँच कर कार्यालयमा हुने गरी प्रणाली बनाउने तयारी गरिएको हो,' आइक्यानका ती पदाधिकारीले भने।

स्रोतका अनुसार चार्टर्ड एकाउन्टेन्ट संस्थाले यसका लागि गृहकार्यसमेत थालेको छ। आइक्यानका अनुसार वासलात तयार गर्ने चार्टर्ड एकाउन्टेन्टले आइक्यानबाट निश्चित कोड पाउँछ र उसले त्यसमा विवरण उल्लेख गर्दछ। त्यही कोड कर कार्यालयलाई पनि दिइनेछ। कर कार्यालयले कोड प्रयोग गरी वित्तीय विवरण हेर्न सक्छ।

अहिले कम्पनीहरुले वासलातमा उल्लेखित विवरण कर कार्यालयमा बुझाउने गरेका छन्। कार्यालयले पनि चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित वासलात मात्रै हेर्छ। यो प्रणाली विकास भएपछि प्रत्येक चार्टर्ड एकाउन्टेन्टले तयार गरेको वित्तीय विवरण कम्पनीअनुसार नै कर कार्यालयले हेर्न सक्छ। यसअघि विभागअन्तर्गकै ठुला करदाता कार्यालयले घाटाको वित्तीय विवरण देखाउने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण प्रवाह भइरहेको भन्दै निगरानी थालिएको जनाएको थियो। कर कार्यालयमा कमजोर कारोबार विवरण देखाएका केही कम्पनीमा ठूलो रकम ऋण गएको देखिएको भन्दै ठूला करदाता कार्यालयले प्रश्न उठाएको हो।

दुई किसिमका वित्तीय विवरण तयार गरी कर छली गरेको आशंकामा कर कार्यालयले कम्पनीले कर फाइलिङ गर्दा बुझाएको विवरण र बैंक तथा वित्तीय संस्थामा ऋण लिँदा बुझाएको विवरण दुवैमाथि छानबिन गर्ने तयारी गरेको हो।

सरकारले चालु आर्थिक वर्षबाट व्यवसायिक प्रतिष्ठानले कर कार्यालय र बैंकमा पेश गर्ने विवरण छानबिन गर्ने घोषणा गरेको थियो। कर छल्नका लागि घाटाको विवरण कर कार्यालयमा पेश गर्ने तर बैंकबाट ऋण लिँदा नाफाको वासलात पेश गर्ने गरेको भन्दै सूचना आदानप्रदानको माध्यमबाट छानबिन गर्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए।