BIZMANDU
www.bizmandu.com

इरानमाथि अमेरिकी प्रतिबन्धले नेपालमा के पर्छ असर, भारतले नगरे तेलको संकट नेपालमा पनि

२०७५ कात्तिक १९

इरानमाथि अमेरिकी प्रतिबन्धले नेपालमा के पर्छ असर, भारतले नगरे तेलको संकट नेपालमा पनि
इरानमाथि अमेरिकी प्रतिबन्धले नेपालमा के पर्छ असर, भारतले नगरे तेलको संकट नेपालमा पनि


आज अर्थात नोभेम्बर ५ देखि इरानमाथि अमेरिकी प्रतिबन्ध लागू भएको छ। अमेरिकी प्रतिबन्धमाथि इरानी राष्ट्रपति हसन रुहानीले कडा प्रतिकृया पनि दिइसकेका छन्। उनले इरानमाथि भएको शड्यन्त्रमा अमेरिका सफल नहुने प्रतिकृया दिएका छन्।

Tata
GBIME
Nepal Life

इरानको अर्थतन्त्र पेट्रोलियम पदार्थको निर्यातमा आधारित छ। प्रतिबन्धका कारण इरानलाई तेल बेच्न गाह्रो हुने छ। इरानसँग ब्यापार गर्ने देश र कम्पनीसँग अमेरिकाले सबै सम्बन्धहरु तोड्ने धम्किदिइरहेका बेला इरानी तेलको बिक्री नहुने सम्भावना उच्च छ।

अमेरिकाको धम्कीका कारण बाँकी विश्वका धेरै  देशहरुले इरानसँग तेल किन्न छाडिसकेका छन्। इरानबाट बढि तेल किन्नेमा चीनपछि भारत दोस्रो देश हो। 

इरानको प्रतिबन्धले नेपाललाई पनि प्रभावित गर्ने देखिएको छ। प्रत्यक्ष प्रभावित नगरे पनि भारतले इरानको तेल किन्छ कि किन्दैन भन्ने कुराले नेपाललाई प्रभावित गर्ने छ। नेपालले भारतबाट तेल आयात गर्छ। 

ट्रम्पले इरानलाई प्रतिबन्ध मात्र लगाएका छैनन् उसँग कारोबार गर्नेसँग पनि भविस्यमा सम्बन्ध नराख्ने घोषणा गरेका छन्। ट्रम्पको नीतिले नेपाललाई के असर गर्छ? नेपाल र इरानका बीच ब्यापारिक कारोबार हुने गरेको छ?
 
भन्सार विभागको तथ्यांक हेर्ने हो भने इरानसँग नेपालले सम्बन्ध नराख्दा खासै फरक पर्दैन। तर अहिलेसम्म इरानसँग नेपालको आयात निर्यात ब्यापार दुबै छ। ब्यापारमा इरानसँग नेपाल घाटामा छ। त्यो घाटा त्यति धेरै भने छैन।
 
भन्सार विभागका अनुसार, बर्षभरीमा नेपालले इरानबाट १ करोड १९ लाख ६२ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ। ८४ लाख ४० हजार रुपैयाँको सामान इरान पठाएको छ। यस हिसावले इरानसँग ब्यापार घाटा १ करोड ११ लाख १८ हजार रुपैयाँ छ।
 
इरानसँग प्रत्यक्ष कारोबार नगर्दा पनि नेपाललाई घाटा छैन। तर भारतले गरेन भने चै अप्ठेरो पर्ने छ। भारतले इरानबाट ठूलो मात्रा कच्चा तेल आयात गर्छ। त्यो तेल रिफाइन गरेर नेपालले भित्र्याउँछ। भारतले इरानको तेल उठाउन छाड्यो भने नेपालमा पनि तेलको संकट आइ पर्न सक्छ।

भारतका लागि कच्चा तेल उपलब्ध गराउने चार प्रमुख देश छन्- इरान, इराक, साउदी अरेबिया र भेनेजुएला। अहिले इरानमाथिको प्रतिबन्धपछि पर्ने असरलाई न्यूनीकरण गर्न केही हदसम्म तयारी गरिसकिएको छ। भारतले भारु-रियालमा कारोबार गर्न सम्झौता गरिसकेका छन्। जसका कारण भारतले भारु भूक्तानी गर्न सक्छ।
 
यसवाहेक खाद्यान्न दिएर तेल ल्याउने पनि समझदारी भएको छ। कच्चा तेल ओसार्न अमेरिकी ट्याङ्कर प्रयोग गर्नै पाइँदैन। अब बीमा सम्झौताले पनि काम गर्दैन। तेल ओसार्नका लागि गरिएको बीमाजति जम्मै अमेरिकी कम्पनीहरुले गरिरहेका छन्। यसले गर्दा इरानी तेल ल्याउन गाह्रो हुने भएको छ। 
 
इरानबाट तेल ल्याउन नपाएपछि भारतको अर्को विकल्प हुन्छ भेनेजुएला। तर भेनेजुएलामाथि पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। यसोहुँदा भारतलाई तेलको लागि अप्ठ्यारो पर्न सक्छ। त्यसैले तेल भित्र्याउन नयाँ विकल्प खोज्नु पर्ने हुन्छ। 

नेपालले भारतबाट बार्षिक एक खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्छ। भारतले अलिकति पनि कटौती गरेमा नेपालका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लाग्ने निश्चित छ। नेपाल आयल निगमसँग बढीमा ३ महिनासम्मको पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने मात्र क्षमता छ। क्षमता भए पनि नेपालले स्टक त्यो मात्रामा गरिरहेको छैन।