BIZMANDU
www.bizmandu.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बिस्तार पक्का, ठेक्का चिनियाँ कम्पनीलाई जिम्मा

२०७५ कात्तिक १८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बिस्तार पक्का, ठेक्का चिनियाँ कम्पनीलाई जिम्मा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बिस्तार पक्का, ठेक्का चिनियाँ कम्पनीलाई जिम्मा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको ठेक्का चिनियाँ कम्पनीलाई दिइने भएको छ। 

Tata
GBIME
Nepal Life

विमानस्थलको ठेक्का चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनलाई दिइने प्राधिकरणले जानकारी दिएको छ। 

सोमबार नेपाल नागरिक उड्ययन प्राधिकरण र कम्पनीवीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने योजना रहेको आयोजना निर्देशक बाबुराम पौडेलले जानकारी दिए।

‘सम्झौता भएपछि कम्पनीले आवश्यक जनशक्ति, उपकरण, निर्माण सामाग्री जुटाउन सुरु गर्नेछ। पुर्व तयारीका लागि कम्पनीलाई चार महिना समय दिइएको छ,‘उनले बिजमाण्डूसँग भने।  

उनका अनुसार भ्याट बाहेक तीन अर्ब ७५ करोडको लागतमा धावनमार्गको मर्मत सम्भार गरिने छ। सन् १९६७ देखि थपिँदै आएको पिचको लेयर कमजोर हुँदै गएपछि जहाज उवतरण गर्दा उप्कने र फुट्ने समस्या आएपछि भित्रैदेखि पुरानो पिचको ‘विक पोर्सन’ फालेर नयाँ पोर्सन थप्ने योजना रहेको उनले जानकारी दिए। 

उनका अनुसार सन् १९६७ पछि धावनमार्ग मर्मतका क्रममा क्रमशः सन् १९७५, १९८५, १९९५ र २०१० गरी चार पटकसम्म पिच थपिएको थियो।

दैनिक ८० मिटरका दरले धावनमार्गको मर्मत संभार गरिनेछ। काम सुरु गरेको दिनदेखि कम्पनीले रनवे र ट्याक्सीवेको काम १८ महिनाभित्र सक्ने छ।   

धावनमार्ग मर्मत संभारका लागि आउँदो अप्रिल १ तारिखदेखि जुनको दोस्रो सातासम्म विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द गराइनेछ।

कम्पनीको कार्यतालिका आइसकेपछि एयरलाइन्स कम्पनीलाई अन्तर्राष्ट्रिय चलन अनुसार विमानस्थल १० घण्टा बन्द गर्नु ५६ दिन अगाडि पत्राचार गर्ने योजना रहेको उनले बताए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिचमा पटक पटक फुट्ने समस्या देखिन थालेपछि प्राधिरकणले ‘रनवे रिह्याबीलीटेशन’ गर्न लागेको हो। अघिपछि भन्दा बर्षा मौसममा विमानस्थलको धावनमार्गमा विगत ८ वर्षअघिदेखि दैनिक पाँच पटकसम्म फुट्ने र उप्कने समस्या देखिँदै आएको छ।   

वर्षा याममा पानी परिरहरने र घाम पनि लाग्ने भएकाले त्यसले पिचमा असर हुने गरेको थियो। जाडोमा पिचको कन्क्रिट खुम्चिने र गर्मी भएपछि तातेर खुकुलो हुँदा पीच फुट्ने र उप्कने समस्या देखिँदै आएको छ।  

विमानस्थलमा प्राय ठूला जहाज (एयरबस ३३०, बोइङ ७३७, ७५७, ७७७) अवतरण गर्दा पिच उप्किने समस्या देखा पर्दै आएको छ।

विमानस्थलमा सन् २०११ बाट ठूला जहाजको संख्या बढेसँगै पिच उप्कने समस्या दखिँदै आएको प्राधिकरणले जनाएको छ। यो समस्या समाधानका लागि प्राधिकरणले स्थानीय परामर्शदातालाई बोलाएर अध्ययन गराउँदा धावनमार्ग मुनीको संरचनादेखि पिचसम्म पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने निश्कर्ष निकालिएको थियो।

तर, केहि वर्षअघि विमानस्थलको धावनमार्ग पुनर्निर्माणको काम थाल्ने योजना बनाइए पनि भइरहेको जहाज उडान तथा अवतरणमा प्रभाव पर्ने देखिएपछि त्यसलाई रोकिएको थियो।

हाल त्रिभुवन अन्तर्राष्ट्रियम विमानस्थलमा ३१ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका जहाजहरु उडान अवतरण हुँदै आएको छ।