BIZMANDU
www.bizmandu.com

विकासमा निराशा मात्रै छैन आशा पनि छ, मध्यपहाडी लोकमार्ग निर्माणको गतिले देखाएको यस्तो छ आशा

२०७५ कात्तिक १८

विकासमा निराशा मात्रै छैन आशा पनि छ, मध्यपहाडी लोकमार्ग निर्माणको गतिले देखाएको यस्तो छ आशा
विकासमा निराशा मात्रै छैन आशा पनि छ, मध्यपहाडी लोकमार्ग निर्माणको गतिले देखाएको यस्तो छ आशा



काठमाडौं। नेपालका २५ जिल्लालाई जोड्ने मध्यपहाडी लोकमार्गको निर्माणको रफ्तारले देखाउँछ – देशमा विकासको गति निराशाजनक मात्रै छैन! पछिल्लो दुर्इ बर्ष मध्यपहाडी लोकमार्गमा शतप्रतिशत खर्च भएको छ भने भौतिक प्रगति उत्तिकै उत्साहजनक छ।

Tata
GBIME
Nepal Life

पूर्वदेखि पश्चिम नेपालका जिल्ला २६ जोड्ने मध्यपहाडी लोकमार्गमा रफ्तारमा काम भैरहेको छ। विभिन्न खण्डहरुमा केहि अवरोधहरु आएपनि पूर्वदेखि पश्चिम पहाडी जिल्ला जोड्न बनिरहेको मध्यपहाडी लोकमार्ग जनतामा आशा र उत्साह जगाउने परियोजनाका रुपमा अघि बढिरहेको छ। पाँचथरको चियोभन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा गएर टुङ्गिने मध्यपहाडी लोकमार्गले मध्यपहाडका जिल्लाहरुको काँचुली फेर्ने अपेक्षा गरिएको छ।

आर्थिक बर्ष २०६४/६५ बाट  सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्गको लगभग ट्रयाक खुलिसकेको छ। ट्रयाक खोलिएका ठाउमा सडक स्तरोन्नती गर्दै कालोपत्रेको काम अघि बढार्इएको छ। जनतालाई उत्साहित बनाउने गरी मध्यपहाडी लोकमार्गको विकास भैरहेको छ।पहिलेका चलनचल्तीको सडक र नयाँ ट्रयाकसहित सुरु गरिएको मध्यपहाडी लोकमार्गको पूर्व पश्चिम खण्डमा विभाजन गरेर काम भैरहेको छ।
पूर्वमा नेपाल भारत सिमानाको पाँचथर चियोभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २६ वटा पहाडी जिल्ला छिचोल्दै सुदुरपश्चिमको नेपाल-भारत सिमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुङगिन्छ।

यो लोकमार्ग मध्यपहाडका २४ जिल्ला र लगभग ३ सय बस्तीलार्इ सडक संजालमा जोड्दा १ करोड जनतालार्इ प्रत्यक्ष रुपमा फाइदा पुग्नेछ।

यस्तो छ पूर्वी र पश्चिम खण्डको अवस्था:-

पूर्वी खण्ड
मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड पाँचथरको चियोभन्ज्याङदेखि पाँचथरको पातीभन्ज्याङसम्म रहेको छ। जुन  ७ सय २१ किमी लामो छ।

यो खण्डले पाँचपथ-तेह्रथुम-धनकुटा-भोजपुर-खोटाङ-ओखलढुङ्गा-उदयपुर-सिन्धुली-रामेछाप-काभ्रेपलान्चोक र सिन्धुपाल्चोक गरी ११ जिल्लालार्इ जोड्छ।कुल ७ सय २१ किमी लामो पूर्वी खण्डको ५ सय ५१ किमी मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत निर्माण भैरहेका छ भने बाँकी विभिन्न डिभिजन सडक कार्यालय मार्फत निर्माण भैरहेका छन्।

आयोजनाको ट्रयाक खोल्ने काम लगभग सकिने अवस्थामा पुगेको छ।नयाँ ट्रयाक खोल्नकालागि रामेछाप र सिन्धुपाल्चोकमा गरी करिव ४० किमी मात्रै बाँकी रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायण पौडेलले जानकारी दिए। यसै बर्ष ट्रयाक खोल्ने काम सकिन्छ।त्यसैगरी यो खण्डको चियोभन्ज्याङदेखि गणेशचोक ५ किमी, तेह्रथुम ११ किमी, खोटाङ हलेसीमा ३२ किमी, सिन्धुली ६० किमी गरी १ सय ८ किमी कालोपत्रे भैसकेको आयोजनाले जनाएको छ। अरु खण्डमा ट्रयाक मात्रै खोलिएकाले स्तरोन्नतीको काम सुरु गर्न लागिएको छ।

त्यसै गरी आयोजनाले तेह्रथुममा ९२ किमी, धनकुटामा २६ किमी, भोजपुर-खोटाङ ८८किमी, दोलालघाट(सिन्धुपाल्चोक) ३० किमी गरी  २ सय ३६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर काम अघि बढाएको आयोजनाले जनाएको छ। काभ्रे-रामेछाप खण्डमा ९० किलोमिटर सडक स्तरोन्नतीको काम समेत भैरहेको आयोजनाले जनाएको छ।

पूर्वी खण्डमा ५० वटा पुल निर्माण गर्नुपर्नेमा २५ वटा पुल निर्माण सम्पन्न भैसकेको छ। पाँचथरमा ६ वटा, तेह्रथुममा एउटा, भोजपुर-दिक्तेल खण्डमा २ वटा खोटाङमा ४ वटा सिन्धुलीमा १२ वटा पुल निर्माण सम्पन्न भैसकेका छन् भने विभिन्न खण्डमा गरी १५ वटा पुल निर्माणाधीन छन्।१० वटा पुल ट्रयाक खोल्ने र कटान हुदै गरेकाले भर्खर सर्भे र डिजाइनको काम सुरु गरिएको इन्जिनियर पौडेलले जानकारी दिए।

आयोजनाको करिव ५० प्रतिशत भौतिक प्रगति रहेको छ।त्यसैगरी यो आयोजना पूरा गर्नका लागि थप केही बर्ष अरु लाग्ने देखिएको छ।
पहाडी भुभागमा नदीजन्य पदार्थ निकाल्न कठिन हुने, निर्माण सामाग्री अभाव, लैजानकालागि समस्या, ठेकेदारले समयमा काम नगरिदिने, बजेट कम पर्ने जस्ता विविध कारणले ढिला हुन गएको छ।  काम आशा लाग्दो हिसावले अघि बढिरहेको सिडिर्इ नारायण पौडेलको दाबी छ।

पश्चिम खण्ड
काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डँडेलधुरा र बैतडीलार्इ पश्चिम खण्डले जोड्छ।

पश्चिम खण्डका १४ जिल्लामा १ हजार ९७ किमीमध्ये ३ सय ३७ किमी विभिन्न जिल्ल डिभिजन सडक कार्यालयबाट भैरहेको छ भने ७ सय ५१ किमी मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत निर्माण भैरहेको छ।सबै ट्याक खोल्ने काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना पश्चिम खण्डका निमित्त कार्यकारी प्रमुख रमेश दृष्टिले जानकारी दिए। उनका अनुसार जाजरकोटमा ट्याक खुलेपनि मन्ताभिर भन्ने ठाउँमा कडा चट्टान (हार्ड रक) का कारण गाडीहरु संचालन हुन सकेका छैनन्। एक महिनिभत्र उक्त चट्टान हटाउने गरी काम भैरहेको उनले बताए।

आयोजनाका अनुसार करिव २ सय ९० किमी सडक कालोपत्रे रहेको छ। यसमा अधिकांश मध्यपहाडी लोकमार्ग आयोजना र केही डिभिजन मार्फत कालोपत्रे भएको छ। बाग्लुङमा ६३ किमी, अछाममा २६ किमी, डोटीमा ८१ किमी, डडेलधुरामा ४७ किमी, डोटी डँडेलधुरा बैतडीका केही खण्डहरुमा अन्य आयोजनाद्धारा कालोपत्रे भएको छ। यी खण्डहरु अन्य आयोजनाले कालोपत्रे गरेको भएपनि मध्यपहाडी लोकमार्गकै एलाइन्टमेन्टमा पर्दछ।

अन्य भागहरु तिव्रगतिमा काम भैरहेको आयोजनाको दाबी छ। कतै कालोपत्रे, कतै स्तरोन्नती त कतै डिजाइन र सर्भेका कामहरु भैरहेका छन्।
नुवाकोटमा ६२ किमीमध्ये ३८ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का लागेर काम सुरु भैसकेको छ। त्यसैगरी धादिङमा ४२ किमीमा ३८ किमी कालोपत्रेको काम सुरु भएको छ।

त्यस्तै गोरखामा पर्ने ३६ किमी र लमजुङमा ४२ किमी सडकको कालोपत्रे गर्नका लागि ठेक्का लागेर काम सुरु भैसकेको छ।बाग्लुङमा ४५ किलोमिटर खण्डमा कालोपत्रे गर्नका लागि स्तरोन्नती भैरहेको छ। भने अब ठेक्का लगाउन करिव  ५ किमी बाँकी छ। रुकुमा पूर्वमा ५४ किमीमा ठेक्का लागेको आयोजनाले जनाएको छ। जाजरकोटमा ८२ किमीमा ४७ किमी ठेक्का लागेको छ भने दैलेखमा १२६ किमीमा ७५ किमीमा ठेक्का लागेको छ। यसैगरी अछाममा ६० किमीमा निर्माणकालागि ठेक्का लागिसकेको छ ।

बाँकी रहेका खण्डहरु यसै बर्षबाट ठेक्का सम्झौता गरेर काम अघि बढाउने लक्ष्य राखिएको छ। यो आयोजनाको प्रगति उत्साहजनक रहेको निमित्त कार्यकारी प्रमुख दृष्टिले जानकारी दिए। उनका अनुसार यसै बर्ष सकै ठेक्का लगाउन सकिए आर्थिक बर्ष ७८/७९ मा मध्यपहाडी लोकमार्ग सक्ने लक्ष्य पूरा हुनेछ। यो खण्डको करिव ६० प्रतिशत सकिएको आयोजनाको दाबी छ।

मध्यपहाडी क्षेत्रको काँचुली फेरिदै
मध्यपहाडका जिल्लाको जीवनस्तर उकासिनै नसकिने गुनासो बढेपछि राष्ट्रिय यातायात नीति २०५८ मा मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको थियो। परिकल्पना गरेको ६ बर्षपछि आर्थिक बर्ष २०६४/६५ बाट निर्माण काम नै सुरु गरियो।

निर्माणधीन लोकमार्गमा अहिले कतै कालोपत्रे गर्ने काम, पुल निर्माण गर्ने, कतै स्तरोन्ती र कटान, सर्भे र डिजाइनका कामहरु धमाधम भैरहेका छन्। यो लोकमार्गले मध्यपहाडका २५ जिल्लका करिव ३ सय बस्तीलार्इ जोड्दै ७५ लाखभन्दा बढी नागरिकको जीवनस्तर उकास्नमा महत्वपुर्ण भूमिका खेल्ने अनुमान गरिएको छ। लोकमार्ग बनेपछि पहाडी भेगको काँचुली नै फेर्ने आयोजनाको दाबी छ।

निर्माणाधीन लोकमार्गले पहाडका गाउँ र शहरलार्इ नजिक बनाउँदै लगेको छ भने पहाडी क्षेत्रलार्इ एउटै मालामा उनेको छ। यसले पहाडी भेगको जनजीवन सहज बनाउने, उत्पादनले बजार नपाउने किसानका समस्या हल हुने, पहाडी भेगमा उत्पादित कृषिजन्य सामाग्री बजारसम्म लैजान सहज हुने, बसार्इसरार्इमा कमी आउने, यातायातको सहजताका कारण पहाडको जनजीवन सहज हुनेछ।यो लोकमार्ग पूरा भएपछि पहाडी भुभागमा सम्भावना नै सम्भावना ढोका खुल्नेछ।

जहाँ बन्नेछन् नयाँ १० शहर
निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा १० वटा नयाँ शहर विकास गर्न लागिएको छ। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले १० वटै शहरमा अत्यावश्यक शहरी पूर्वाधार निर्माण भैरहेको छ।

नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशक पराग कायस्थका अनुसार तीनवटा शहरको जग्गा एकीकरण भैरहेको र बाँकी सात शहरमा पूर्वाधारको काम भैरहेको छ। निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको वैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौर जहारी, दैलेखको राकम कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा आधुनिक नयाँ शहर निर्माण गर्न लागिएको हो । राकम कर्णाली,चौर जाहरिया र वसन्तपुरमा जग्गा एकीकरणको काम भैरहेको छ।

१० वटै नयाँ शहर निर्माण हुन लागेका सबै ठाउँमा आयोजना कार्यालयनै स्थापना गरेर काम भैरहेको छ। पहाडमा दुर्गम ठाउँहरु भएकाले शहर निर्माणस्थलमै कार्यालय स्थापना गरेर काम अघि बढार्इएको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ।

सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तरार्इतिर बसार्इसरार्इ गर्न नपरोस् भन्ने उदेश्यका साथ आर्थिक बर्ष २०६७/२०६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको निर्माण र आसपासमा १० नयाँ शहरको विकास गर्ने घोषणा गरिएको थियो।  २०७०/७१ बाट यसको निर्माण थालिएको हो।

स्थानीयले गर्ने सहयोगमा नयाँ शहर निर्माण भर पर्ने आयोजनाले जनाएको छ। कुनै समस्या नहुने तथा स्थानीयको सहयोग पूर्ण रुपमा हुने हो भने आगामी १५ बर्षसम्म निर्मांणाधीन मध्यपहाडी लोकमार्गमा सुविधासम्पन्न १० नयाँ शहर तयार हुनेछन्। सम्बन्धित प्रदेश सरकार मार्फत यो आर्थिक बर्षबाट काम सुरु गरिएको छ।

नेपालकै लगानी शतप्रतिशत वित्तीय प्रगति
मध्यपहाडी लोकमार्ग नेपाल सरकारको आन्तरिक स्रोत र साधनबाट सम्पूर्ण खर्च व्यहोर्ने गरी निर्माण भैरहेको राष्ट्रिय गौरवको आयोजना हो।

सरकारले प्रत्येक बर्ष लोकमार्गकालागि बजेट छुट्याउँछ, इन्जिनियर, प्राविधिक र परामर्शदाता कम्पनी पनि नेपालकै छन्। पुँजीगत खर्च कम भएको रिपोर्टहरु सार्वजनिक भैरहेका बेला मध्यपहाडी लोकमार्गले भने शतप्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

सरकारले आर्थिक बर्ष २०७४/७५ का लागि पूर्वी खण्डकालागि ३ अर्ब छुट्याएकोमा शतप्रतिशत खर्च गरेको छ। त्यस्तै चालु आर्थिक बर्षकालागि पनि सरकारले करिव तीन अर्ब छुट्याएकोमा डेढ अर्ब खर्च भैसकेको छ भने फुल फेजमा काम भैरहेकाले थप बजेट माग गर्नुपर्ने अवस्था रहेको आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार फागुनसम्म यो बजेट शतप्रतिशत खर्च भैसक्नेछ।

त्यसैगरी पश्चिम खण्डको पनि वित्तीय प्रगति पनि शतप्रतिशत रहेको आयोजनाको दाबी छ। चालु आर्थिक बर्षका लागि २ अर्ब ९८ करोड छुट्याएकोमा करिव ८२ करोड खर्च भएको छ। भर्खरै ठेक्का लागेर अधिकांश खण्डको काम सुरु  गरिएकाले शतप्रतिशत खर्च हुने आयोजनाको दाबी छ। आयोजनाले यस अघि शतप्रतिशत खर्च र कामलार्इ गति दिएका कारण सडक विभागबाट प्रंशसा पत्र समेत पाइसकेको छ।

१७ सय किमी भन्दा बढी लामो सडक ९ मिटर चौडार्इको हुनेछ। जसमा दुर्इ लेन कायम गरिनेछ। लेन ३.७/३.७ मिटरको हुनेछ। बाँकी दुर्इ मिटर बस्ती भएको फुटपाथ अन्य ठाउँमा नालीको लागि प्रयोग गरिने आयोजनाले जनाएको छ।