Bizmandu
www.bizmandu.com

तारे होटेलजस्तो लाग्ने एउटा उद्योग जसले सिकाइरहेको छ प्रोजेक्ट कसरी बनाउनुपर्छ

तारे होटेलजस्तो लाग्ने एउटा उद्योग जसले सिकाइरहेको छ प्रोजेक्ट कसरी बनाउनुपर्छ


पूर्व पश्चिम राजमार्ग छाडेर १२ किलोमिटर उत्तरतिर हानिएपछि पुगिन्छ बेनिमणिपुर गाउँ। साना बस्ती र जंगल छिचोल्दै यो बाटो एउटा आकर्षक भवन अगाडि पुगेर टुंगिन्छ। अगाडिको पोखरीमा भवनको प्रतिविम्ब तैरिरहेको लोभलाग्दो दृष्य देख्दा जो कसैलाई पनि लाग्न सक्छ नवलपरासीको एउटा कुनाको गाउँमा नयाँ होटल बनेछ। त्यहाँ बगैचा बन्दै थियो, काम गर्नेहरु दुबो रोप्ने ठाउँ तयार पार्दै थिए। 

'एक वर्षपछि यहाँ आइपुग्नु भएको भए तपाईँ यसलाई एउटा पार्क ठान्नुहुन्थ्यो,' गेटमै भेटिएका बिपेङ्ग लाइले भने। 




८० बिगाहभन्दा ठूलो कम्पाउन्डभित्रको फराकिलो सडक, भब्य भवनहरु र पोखरीलाई पार गर्दै ठूलो सिसाको गेटबाट भित्र छिर्दा पनि स्टारवाला होटलको संरचना नै देखियो। कौतुहलता जाग्नु सामान्य नै थियो, किनकि हामी आज तपाईँसँग कुनै स्टार होटलको यात्रा गरिरहेका थिएनौं। हामी यात्रा त एउटा सिमेन्ट फ्याक्ट्रीको गरिरहेका थियौं जहाँ पुग्ने सडकमात्र धुले छ, फ्याक्ट्री पूरै सफा। 



सिमेन्ट उद्योगको यात्रा स्टार होटलतिर लागेजस्तो भान परे पनि यही लोभलाग्दो भवनबाट पश्चिमतिर हेर्दा ठडिएका विशाल संरचनाले भ्रममुक्त गराइरहेको थियो। '१ सय ८० मिटर अग्लो छ यो,' उद्योगको संरचना देखाउँदै लाइ थोरै मुस्काए र भने, 'सर्वोच्च शिखर सगरमाथाको देशमा मानव निर्मित यो सबैभन्दा अग्लो संरचना हो।' 



चीनको होङ्सी होल्डिङ ग्रुप र नेपालको शिवम् होल्डिङ्सको लगानीमा तयार यो सिमेन्ट उद्योग १८ महिनामा तयार भएको हो। ३६ अर्ब रुपैयाँको लगानी रहेको यो फ्याक्ट्री नेपाल भित्रिएको सबैभन्दा ठूलो वैदेशिक लगानी (एफडीआइ) मात्र होइन, इच्छाशक्ति छ भने विकासको गति कुन रफ्तारमा हुन सक्छ भन्ने देखाउने एउटा ऐना पनि हो। 

र, हामीलाई सुरुदेखि नै ब्रिफ गर्दै आएका बिपेङ्ग लाइ हुन्– होङ्सी शिवम् सिमेन्टका प्रबन्ध निर्देशक। आज हामी उनीसँगै नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगको यात्रामा छौं। यो यात्रामा तपाईँहरुलाई स्वागत छ –



कम्पाउन्डभित्र ढलाने बाटो तयार छ। कतै भर्खरै सिमेन्टेड भएकाले चिसो जोगाउन ढाकिएको। फ्याक्ट्रीको प्रशासनिक भवनभन्दा पश्चिमतर्फ छ उद्योग जुन २४ नै घन्टा चल्न थालेको छ। हामी उभिएको यो मध्य भाग हो। 

यहाँ ठूलो आकारको रोटरी क्लिन मध्यम गतिमा घुमिरहेको थियो। यसको काम सिमेन्टको क्लिङ्कर तयार पार्न निरन्तर रुपमा उच्च तापक्रम दिनु हो। यहीबाट पूर्वतर्फको मेसिनमा प्रोसेस पूरा भएपछि क्लिङ्कर तयार हुन्छ। त्यसपछि अन्तिम चरणको प्रकृया र प्याकेजिङको काम हुन्छ। 



मध्य भागमा छ केन्द्रिकृत नियन्त्रण कक्ष अर्थात् सेन्ट्रल कन्ट्रोल सिस्टम। उद्योग कसरी चलिरहेको बुझ्न यही कक्ष काफी छ। यहीबाट यो उद्योग नियन्त्रणमा रहन्छ। माथिल्लो तल्लामा उक्लेपछि केही चिनियाँ र केही नेपाली प्राविधिकहरु काम गरिरहेको देखियो। उनीहरु सिमेन्ट उद्योगका हरेक ठाउँलाई ठूला मोनिटरिङबाट अबलोकन गरिरहेका थिए। मोनिटरमा क्लिङ्कर उत्पादनदेखि, विद्युत उत्पादनसम्मका सबै गतिविधि देखिरहेको थियो। 

'के यो सबै अटोमेसन हो?,' उद्योगभित्रका साह्रै थोरै ठाउँमा मात्र मानिसको उपस्थिति देखेपछि सोधियो। 'सबै पछिल्लो प्रविधिमा आधारित अटोमेसन,' बिपेङ्ग लाइले बताए।



नेपालका अन्य केही क्षेत्र पनि अटोमेसनतिर लाग्दैछ। सिमेन्ट उद्योग 'हार्ड एन्ड हिट' वाला उत्पादन पर्यो , कम्प्युटरमा आधारित स्वचालित प्रविधिमा जानु अस्वभाविक होइन। तर, रोचक चाहिँ आगोका लाप्सा देखाइरहेको मोनिटरतिर आँखा पुगेपछि लाग्यो। यहाँ उत्पादन हुने धुलोको तातोबाट बिजुली निकालिँदै रहेछ। जलविद्युतको अथाह धनी मुलुकमा उद्योगबाट निस्किएको धुलोको तापबाट बिजुली भन्दा अनौठो लाग्नु स्वभाविक पनि हो। 

'२ सय ७० डिग्रीको धुलोलाई १ सय ५० डिग्रीमा झारिन्छ। यही धुलो बिद्युत उत्पादनमा प्रयोग हुन्छ,' मोनिटर देखाउँदै बिपेङ्गले भने, 'खेर जाने तापक्रम र धुलोबाट ऊर्जा निकालिन्छ।' उनले यति भनिरहँदा सामान्य लागे पनि जब उत्पादन हुने ऊर्जाको परिमाण सुनाउँदा भने अचम्म लाग्नेखाले थियो। तातो भट्टीबाट ७ हजार किलोवाट (७ मेगावाट) बिद्युत उत्पादन हुने उनले दावी गरे।



सेन्ट्रल कन्ट्रोल सिस्टमको यो भवन छाडेर अझै पश्चिमतिर लाग्दा अर्को भवन थियो जुन ठाउँ खेर जाने वस्तुलाई ऊर्जामा रुपान्तरण गरेको हेर्न चाहनेका लागि रोचक हुनसक्छ। 

यो ठूलो भट्टी छेउबाट गुज्रिँदा हप्प तापक्रम बढेको अनुभूति भयो। ठीक यसको बाहिर अर्को मोनिटरिङ युनिट थियो जहाँ प्राविधिकहरुले मोनिटरबाट उत्पादित बिद्युतको मात्रा अनुगमन गरिरहेका थिए। हामीले यहाँ मोनिटरिङ हेर्दा विद्युत उत्पादन ७ हजार ३ सय ११ किलोवाट देखाइरहेको थियो। त्यही मोनिटर हेरिरहँदा उत्पादन तलमाथि भएको देखिन्थ्यो। कहिले ६ हजार ९ सयतिर झरेको देखिन्थ्यो भने कहिले ७ हजार ४ सयभन्दा माथितिर उक्लेको। 



जलविद्युत आयोजनाको उत्पादनगृहमात्र देखेकालाई धुलोको तापबाट निकालेको बिजुली देख्नु अनौठो थियो। यसले एकातिर धुलोलाई कम्प्रेस गरेर नियन्त्रण गरेको थियो भने अत्याधिक तापक्रमको शक्तिलाई खेर जान नदिइ ऊर्जामा रुपान्तरण गरेको थियो। यही पावर हाउसले उत्पादन गरेको ऊर्जा फ्याक्ट्रीले प्रयोग गर्छ जुन आवश्यकताको एक तिहाई हिस्सामात्र हो।

अटोमेसनमा आधारित हुँदाहुँदै पनि यहाँ ४ सय ४५ जनाले रोजगारी पाएका छन्। २ सय २० ट्रकहरु खानीबाट कच्चा पदार्थ ल्याउनमात्र परिचालित छ। करिब २८ किलोमिटर दुरीमा रहेको आफ्नै खानीबाट सिमेन्टको कच्चा पदार्थ ल्याइन्छ। र, हरेक दिन हजार टन अर्थात् बजारमा उपलब्ध हुने (५० किलोको बोरा) हिसाब गर्दा १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्छ। ३ सिफ्टमा २४ घन्टा नै उद्योग चलिरहेको छ। चीनको होङ्सी ग्रुपको ७० र नेपालको शिवम् ग्रुपको ३० प्रतिशत लगानीमा बनेको यो उद्योग १८ महिनामा तयार भएको हो।



साना आयोजनामा समेत अलपत्र परेर बस्ने नेपालको अनुभवका सामु यो उद्योग आफैँमा एउटा चमत्कार हो। हामी पहिलो यो उद्योगको यात्रामा हुँदा आफैँ अचम्मित हुनु स्वभाविक हो। व्यवस्थापनमा सक्रिय नेपालीहरु पनि यसबाट निकै उत्साही देखिए। यति ठूलो उद्योग यति तिब्र गतिमा बन्न सक्ने रहेछ भन्ने देखियो। 

हामी त पहिलो पटक यस ठाउँमा थियौं पहिले कस्तो थियो त? कम्पनीका फाइनान्स प्रमुख विकास अग्रवालले सँगै थिए। उनले भने, '२०७३ सालमा यहाँ आउँदा खाली जग्गाबाहेक केही थिएन। तलदेखि माथिसम्मै खाली।' 

अनि सिकाइ के भयो त?
'टेक्नोलोजी,' उनले जवाफ दिए। सँगै उनले दिएको अर्को एउटा जवाफ अप्रत्यासित लाग्यो। फ्याक्ट्रीको सिमेन्ट अनलोड हुने ठाउँमा पुग्नै लाग्दा उनले भने, 'दक्षता र लगनशीलता।' त्यसपछि खेर जाने ऊर्जाको खपत र पुन: प्रयोग आफैँमा नयाँ सिकाइ हुने नै भयो।



यहाँनेर छ, प्याकिङ भएका सिमेन्टलाई अपलोड गर्ने ठाउँ। ट्रकहरु लाममा छ। सिमेन्ट अटोमेसन सिस्टमबाटै माथिल्लो तलाबाट तलतिर झरिरहेको छ। अपलोड गर्ने मेसिनको चलायमान भाग ट्रकभित्र पसेको छ। ट्रकभित्र दुई जना कामदार छन् जसले मेसिनलाई चाङ लगाउन सघाइरहेका छन्। गफिँदै गरेका अग्रवालले भने, 'ओपिसी र पिपिसी दुवै सिमेन्ट उत्पादन भइरहेको छ। तीन सिफ्टमा चौबीसै घन्टा यसरी नै काम भइरहेको छ।'

उनका अनुसार चिनियाँसँगै नेपालीहरु पनि दक्ष कामदारका रुपमा उद्योगमा सक्रिय छन्। '५० जना भन्दा धेरै स्टाफले चीनमा गएर तालिम लिएका छन्,' उनले भने, 'होङ्सीका सिमेन्ट फ्याक्ट्री ४० वटा छ। त्यो ज्ञान सानो कुरा होइन।' 



यहाँ सबै हेरिसकेपछि हामीसामु केही जिज्ञासा थियो। त्यसमा जवाफ दिन तयार भए प्रबन्ध निर्देशक बिपेङ्ग। सन् २०१७ को जनवरीमा सुरु भएको आयोजना अहिले पूर्ण रुपमा चलिरहेको छ। र, केही वर्षमा यसको क्षमता दोब्बर हुँदैछ। डिजिटल म्यानेजमेन्ट सिस्टमबाट संचालन हुने भएकाले कम स्रोत साधनमा उद्योगले अधिकतम उत्पादन दिनसकेको छ। उनले यसलाई हरित प्रोजेक्ट नै दावी गरे। हुन पनि उद्योग परिसरमा भुइमा धुलो देखिएन भने आकाशतिर धुँवाको मुस्लो पनि थिएन, उद्योग चलिरहेकै थियो।  

नेपालमा सबैभन्दा ठूलो लगानीसँगै भित्रिएको यो कम्पनीका संचालकले कुनै समस्या भोगेनन् त? नेपाली उद्योगीले त धेरै नै सिके। चिनियाँले के सिके? 

सुरुमा त बिपेङ्ग लाइले नेपाल सरकारलाई धन्यवाद नै दिए। सँगै सरकारको प्रतिवद्धता पनि साटे हामीसँग। 'सरकारले हामीलाई २४ महिनाभित्र सडक र बिद्युत् लाइन उपलब्ध गराइदिन्छु भनेको अहिले २७ महिना भयो,' उनले भने, 'ऊर्जा नै अहिले हाम्रा लागि सबैभन्दा महँगो विषय बनेको छ। एक तिहाई बिद्युत त हामीले आफैँले सुल्झाइसक्यौं। बाँकीले उत्पादन खर्च महँग्याएको छ।' 

जलबिद्युतको ऊर्जा नपाएपछि उद्योगमा अरु इन्धन प्रयोग गरेर बिद्युत उत्पादन गर्नुपरेको छ। 'महँगोमात्र होइन पेट्रोलियमबाट बिद्युत उत्पादन भनेको वातावरण विनास पनि हो,' उनले भने। 



यो कम्पनीले खानी क्षेत्रमा रहेका २६ घरलाई त्यहाँबाट उद्योग नजिकै स्थापित गरेको छ। उनीहरुलाई खानीको भिरमा जति जग्गा छ त्यति नै जग्गा यो सुगम स्थानमा उपलब्ध गराएको छ। अनि सँगै चार कोठाका घरहरु पनि बनाइदिएको छ।

सरकारले पूर्ण सहयोग गरेको स्वीकार्दै उनले वैदेशिक लगानीका लागि प्रकृया सरल बनाउनुपर्ने पनि सुझाव दिए। 'तपाईँहरुमार्फत् सरकारले पूरा गर्छु भनेको काम छिटो अगाडि बढाउन भन्छौं,' उनले भने। 

सरकारको काम कहिले जाला काम भन्ने त उखान नै छ। त्यसलाई जुनसुकै अड्डाबाट पनि पुष्टि हुन्छ नेपालमा। यहाँ रोचक त के भने सरकारले बनाउने भनेको कनेक्टिङ रोड समेत कम्पनी आफैँले तयार गर्योल। खानीदेखि उद्योगसम्मको २८ किलोमिटर र पूर्व पश्चिम राजमार्गदेखि उद्योग सम्मको १२ किलोमिटर सडक होङ्सी शिवम् ले नै तयार पारेको छ। 

आफैँ गर्थेन भने यतिखेर यो आयोजना पनि नेपाल सरकारका कुनै आयोजनाभन्दा कम हुने थिएन। मतलब आयोजना चलिरहेको छ, काममात्र नचलेको हो। 

बिपेङ्गसँगै रहेका कम्पनीका उप महाप्रबन्धक गौरव मोरले भने, 'सरकारले २ वर्षमा बन्छ भनेको थियो। २७ महिना पूरा भइसक्यो अब पनि चाँडैमा ८ महिना लाग्छ बिद्युत आउन।' सडक बनाउने जिम्मेवारी सरकारको भए पनि आफैँ सक्रिय भएर सडक चौडा गराउने काम हामी फर्किँदा जारी नै थियो।