BIZMANDU
www.bizmandu.com

मोटरसाइकलपछि अब अन्य सवारी साधन पनि प्रदेशको आधारमा दर्ता गरिने, प्राविधिक तयारी सुरु

२०७५ कात्तिक १२

काठमाडौं। यातायात व्यवस्था विभागले सबै किमिसका सवारीसाधन प्रदेशिक संरचनाअनुसार दर्ता गर्ने तयारी थालेको छ। प्रदेशअनुसार सवारी साधन दर्ता गर्न विभागले प्राविधिक काम थालेको छ। 

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था विभागका निर्देशक गोकर्ण उपाध्यायले दैशेभर प्रदेशका आधारमा सवारीसाधन दर्ता सुरु गर्ने तयारी भइरहेको बताए। 'अञ्चलअनुसार दर्ता भएका सवारीसाधनहरुलार्इ प्रदेशमा दर्ता गर्न नयाँ प्रणाली बनाउनुपर्छ, यसका लागि हामी सफ्टवेयर अपग्रेड गर्दैछौं,' उनले भने, 'प्रविधिक टोलीले काम गरिरहेको छ ७/८ दिनमा सकिन्छ।' 

असोज १६ गते बागमती अञ्चलस्थित साना तथा ठुला सवारी कार्यालयले मोटरसाइकल दर्तामा ९९ सय लट पुगेपछि १०० लटमा प्रवेश गर्न कानुनी अड्चन परेको भन्दै दर्ता रोकको थियो। यही अड्चनलार्इ फुकाउन मन्त्रिपरिषद बैठकले अञ्चलका आधारमा हुदै आएको सवारी साधन दर्ता प्रादेशिक संरचनाअनुसार गर्ने निर्णय गरेपछि विभागले सोहीअनुसार प्रदेश मातहतमा दर्ता गर्ने तयारी सुरु गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा भएको नम्बर प्लेट सम्वन्धी पुरानो व्यवस्थालार्इ हेरफेर गरेर प्रदेशका आधारमा नम्बर प्लेट हुने व्यवस्था गरेको छ।

कस्तो हुनेछ नयाँ नम्बर प्लेट ?
अहिलेको नम्बर प्लेटमा अंचलको संकेत, लट नम्बर र सवारी साधनको प्रकार/किसिक को संकेत उल्लेख गरि दुर्इ लाइनको दर्ता नम्बर रहेको छ। अब प्रदेश अनुसार दर्ता हुने सवारीसाधनमा पहिलो लाइनमा प्रदेशको नाम र प्रदेश मातहतमा रहेका दर्ता कार्यालयको कोड नम्बरसमेत हुनेछ।

दोस्रो लाइनमा सवारी साधनको लट नम्बर र सवारीसाधनको किसिम प्रकार हुनेछ भने तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख गरिनेछ। अगाडिपट्टी दुर्इ लाइन र पछाडिपट्टी तीन लाइनको नम्बर प्लेट हुनेछ। साथै सवारी साधन जनाउने (लट) अकं अहिले १ देखि ९९ सम्म मात्रै रहेको छ तर अब आवश्यकताअनुसार ००१ देखि ९९९ सम्म हुने व्यवस्था गरिएको छ।

नामाकरण भएको प्रदेशको पुरा नाम लेखिनेछ भने हुन बाँकी प्रदेशमा प्रदेश नम्बर मात्रै लेखिनेछ। नामाकरण भएपछि सोहीअनुसार नम्बर प्लेटमा लेखिनेछ। अन्य सवारी साधनको गाडीको हकमा पनि यहि नियम लागु हुने विभागका निर्देशक उपाध्यायले जानकारी दिए। उनका अनुसार यो व्यवस्था सबै प्रदेशमा लागु हुनेछ।

प्रदेश नम्बर ३ मा सवारी साधन दर्ता गर्ने एउटा मात्रै कार्यालय रहेको छ। विभागले एउटा कार्यायल रहेको कार्यालयलार्इ ०१ कोड  दिएको छ।

प्रदेश दुर्इमा लाहान,जनकपुर, वीरगंज गरि तीनवटा कार्यालय रहेका छन्। एक भन्दा बढी कार्यालय रहेका ठाउँमा ०१,०२ र ०३ क्रमश: कार्यालय सङख्या अनुसार कोड हुँदै जानेछ। यातायात व्यवस्था विभागले सबै कार्यालयलार्इ कोडसहित पत्राचार गरिसकेको जानकारी दिएको छ। अब दर्ता हुने सबै खालका सवारीसाधनहरु प्रदेश अनुसार दर्ता हुनेछन्।

पुरानो नम्बर प्लेट के हुन्छ ?
राजपत्रमा प्रकाशित सूचनाअनुसार नयाँ सवारी साधन दर्ताका लागि मात्रै नभएर पुराना नम्बर प्लेट पनि प्रदेशअनुसार नै हुनुपर्ने देखिन्छ। तर यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालका  अनुसार अहिले लाखौ पुराना नम्बर प्लेट कै परिवर्तन गर्दा भन्द्रगोल हुन सक्ने भन्दै केहि समयका लागि यथावत राख्न लागिएको हो। तर विस्तारै सबै सवारी साधन प्रदेश मातहतमा दर्ता हुनेछन्।

विभागका अनुसार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको विकल्प छैन्। त्यसकारण बीचमा इम्बोस्ड नम्बर प्लेट आए त्यसलार्इ लागु गरिनेछ। सरकारले गत बर्ष इमबोस्ड नम्बर प्लेट कार्यान्वयन ल्याएको भएपनि अदालतमा मुद्दा परेपछि रोकिएको थियो।