BIZMANDU
www.bizmandu.com

ट्रेडवारको जोखिम झेल्न मुद्राकोष र विश्व बैंकको चेतावनी, अमेरिकाले अब चीनबारे नसोच्ने

२०७५ असोज २८


इन्डोनेशिया। अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकको इन्डोनेशियाको बालीमा सम्पन्न बार्षिक बैठकले ट्रेड वार तथा अन्य ब्यापारिक विवादहरुबाट हुन सक्ने संभावित संकटतर्फ विश्वको ध्यान खिचेको छ।  

Tata
GBIME
Nepal Life

विश्वको अर्थब्यबस्थाहरुबीच जारी तनावल निम्त्याउने जटिल परिस्थिति झेल्न तयार रहन पनि  अन्तराष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकले चेतावनी दिएको छ।

विश्वस्तरमै बित्तीय बजारमा देखिएको आरोह अवरोह तथा चीनको उद्योग नीति तथा जारी अमेरिका चीन ब्यापार युद्धले बैठकको अन्य सबै मुद्दाहरुलाई ओझेलमा पारिदिएको थियो।  

विश्वका दुई मुख्य अर्थब्यबस्थाहरु एक अर्का बिरुद्ध ट्यारिफ लगाउने होडबाजीले विश्व आर्थिक बृद्धि नै संकटमा पर्ने तर्फ दुबै संगठनले चिन्ता ब्यक्त गरे।

मुद्राकोषको अन्तराष्ट्रिय मौद्रिक तथा बित्तीय समितिको तर्फबाट जारी बिज्ञप्तीमा यस्तो चुनौतीपूर्ण परिस्थितीमा देशहरुले आफ्नो ऋण प्रवाह नियन्त्रणमा राख्नुपर्ने सुझाव दिइएको छ।

यसैगरी मुद्रा स्फितीदर स्थिर राख्न तथा आर्थिक बृद्धिलाई पनि मजबुत बनाइराख्नकालागि मौद्रिक नीति तय गर्न भनिएको छ। बिज्ञप्तीमा यसैमा नै विश्वका सबै देशको भलाई हुने उल्लेख छ।

बैठकमा मुद्रा कोषका सदस्य राष्ट्रहरुले आफ्नो निर्यातलाई बजार प्रतिस्पर्धामा मद्दत गर्नकालागि मुद्रा अवमूल्यनको नीति अपनाउनबाट जोगिने बताए।

मुद्राकोषकी प्रबन्ध निर्देशक क्रिष्टिन लेगार्डले बिश्व आर्थिक बृद्धिदर अझै पनि मजबुत रहेको तर एक स्थानमा पुगेर यो रोकिएको बताइन्।

मुद्रा कोषले बाली बैठक को सुरुमै सन् २०१८ मा विश्वको आर्थिक बृद्धिदरको अनुमान घटाएर ३.७ प्रतिशत रहने प्रक्षेपण समेत गरेको छ। यसअघि यसले ३.९ प्रतिशतको बृद्धि प्रक्षेपण गरेको थियो।

लेगार्डले भनेकी छिन् – ‘क्षितिजमा संकटको बादल देखेका कारण बृद्धिदरमा रोकावट आउनु सामान्य हो। विश्वभरमा कर्जाको विद्यमान अवस्थालाई लिएर हामीले केही मजबुत सिफारिस गरेका छौं।’ उनले सबै देशहरुलाई मिलेर एकै दिशामा अघि बढ्न अपिल समेत गरिन्। मिलेर प्रयास गरेमा मात्रै विश्व आर्थिक अवस्था मजबत हुने उनको भनाई छ।

ब्यापर सम्बन्धका बीच जारी तनाव कम गर्न र परस्पर वार्ताको माध्यम अपनाउन पनि उनले आग्रह गरेका छन्।

उनले देशहरुलाई कर्जाको बोझ नियन्त्रणमा राख्नुकासाथै सबैको बृद्धि होस् भन्ने किसिमको नीति अपनाउन पनि भनेकी छिन्।

बैठकमा चीनका केन्द्रीय बैंकका गभर्नर यी गंङले संरक्षणबाद र ब्यापारिक तनावनै हाल बिश्व अर्थब्यबस्थाकालागि सबैभन्दा ठूलो संकट बनेको बताए।

अमेरिकाका अर्थमन्त्री स्टीफन न्यूचिनले भने चीनसँगको ब्यापारिक तनावको जोखिमले आफ्नो देशलाई खासै फरक नपर्ने दावी गरे। उनले चीनले अमेरिकी बण्डहरु बेच्न सक्ने संभावना देखिएकै कारण अमेरिकाले आफ्नो रातको निन्द्रा नबिगार्ने बताए।

अर्को महिना चीनियाँ समकक्षीसँग ब्युनर्स आयर्समा भेट गर्ने कि नगर्ने भन्नेबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले नै तय गर्ने पनि उनले जानकारी दिए।