BIZMANDU
www.bizmandu.com

देशभर बढ्यो पर्यटकको चहलपहल, चितवनले सुरु गर्यो ‘सेभेन्ट पोइन्ट टुर’, पोखरामा पोहोरभन्दा भीड


देशभर बढ्यो पर्यटकको चहलपहल, चितवनले सुरु गर्यो ‘सेभेन्ट पोइन्ट टुर’, पोखरामा पोहोरभन्दा भीड
देशभर बढ्यो पर्यटकको चहलपहल, चितवनले सुरु गर्यो ‘सेभेन्ट पोइन्ट टुर’, पोखरामा पोहोरभन्दा भीड

काठमाडौं। पर्यटक सिजन सुरु भएसँगै मुलुकका विभीन्न पर्यटकीय स्थलमा पर्यटकहरुको आगमन चहलपहल बढेको छ। पर्यटकहरुले अग्रिम बुकिङ थालिसकेको होटलहरुले जानकारी दिएका छन्।  

Tata
GBIME
Nepal Life

गत वर्षको तुलनामा यसपाली धुलिखेलमा बाह्य पर्यटकको आगमन २५ प्रतिशतले वृद्धि भएको धुलिखेल लज रिसोर्टका वित्तिय प्रमुख सुशील श्रेष्ठले जानकारी दिए।

फ्रान्स, क्यानडा, जर्मनी लगायत मुलुकबाट आउने पर्यटकले दुई साता अघिदेखि नै होटलको अग्रिम बुकिङ सुरु गरिसकेको श्रेष्ठले बताए। ५२ वटा कोठा रहेका होटलमा दुई साताको अवधिमा ७० प्रतिशत कोठा बुकिङ भइसकेको उनको भनाई छ।  

'सुरुवात राम्रै देखिएको छ। प्राय यो सिजनमा बाह्य पर्यटक आउने गर्छन्। एक सात अघिदेखि धुलिखेलमा बाह्य पर्यटक आउन सुरु गरिसकेका छन्। प्राय युरोपेली पर्यटक आउने क्रम बढिरहेको छ' श्रेष्ठले भने। 

होटलमा सिंगल र डबल रुमको ट्याक्स सहित प्रति दिन न्यूनतम ६० डलरदेखि ८० डलरसम्म तिर्नुपर्ने उनले जानकारी दिए। 

गत वर्षको तुलनामा टुरिष्ट सिजनमा पोखरामा पर्यटकको आगमन २५ प्रतिशतले बृद्धि भएको छ। पोखरामा पहिलाको जस्तो 'अफ सिजन' को अनुभव गर्न नपरेको होटल क्राउन हिमालयका प्रवन्ध निर्देशक आग्रह अर्यालले जानकारी दिए। 

दुई साता यता पोखरामा नेदरल्याण्ड, जर्मनी, फ्रान्स, बेल्जियम लगायत युरोपियन मुलुकका पर्यटक आउन सुरु गरिसकेका छन्। अर्यालका अनुसार दुई साताको अवधिमा क्राउन हिमालयमा ७० प्रतिशत रुम बुकिङ भइसकेको छ। 

होटलमा पर्यटकले ट्याक्स सहित तीन हजार रुपैयँदेखि ५५ सय रुपैयाँ सम्ममा कोठा पाउने उनले बताए। होटलमा ४० वटा कोठाहरु रहेको छ। होटलले महिनादिनमै पर्यटक लक्षित चितवन-पोखरासम्मको टुर प्याकेज बनाउन लागेको उनले बताए। उनले भने ‘गत वर्षको तुलना यसपाली पर्यटक आगमनले राम्रो पीक अप लिन सुरु गरेको छ।’ पोखरामा चारसय भन्दा बढी होटलहरु छन्।

पर्यटकको सिजन सुरुभएसँगै चितवनको सौराहामा चिनियाँ पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमीरेले जानकारी दिए। गत वर्षको तुलनामा यो वर्षको सुरुवातमै चितवन आउने पर्यटकको संख्या १५ प्रतिशतले बृद्धि भएको घिमिरेले बताए।  

अहिले माहौल सकारात्मक छ। अहिले हात्ती सफारी, डुङ्गा चढ्ने, जीप सफारीकालागि पर्यटकहरु बढेको उनले बताए। एक महिनाको अवधिमा होटलहरुमा ७० प्रतिशत अक्युपेन्सी राख्ने उद्धेश्य छ घिमिरेका अनुसार दशैं नजिकिँदै गर्दा दिनदिनै पर्यटकको भिडभाड बढिरहेको छ। 

घिमिरेका अनुसार सौराहामा एक सय १० वटा र समग्र चितवनमा एक सय ५० वटा पर्यटक स्तरीय होटल रहेको छ।  

विश्व पर्यटन दिवसको अवसरमा संघले 'चितवन सेभेन पोइन्ट टुर' योजना सार्वजनिक गरेको उनले जानकारी दिए। 'जीप सफारी र हात्ती सफारी गरिसकेका पर्यटकलाई यो योजना नौलो हुनेछ। यो टुर तीन घण्टाको हुनेछ। 

आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकलाई लक्षित गर्दै नजिकका मठ मन्दिर, गुम्बा, देवघाट, थारु संग्रहालय लगायतका सात ठाउँहरुमा घुमाउने योजना बनाएका छौँ। यो नयाँ योजनाले चितवनको पर्यटनसँगै सांस्कृतिक प्रवर्द्धन पनि हुनेछ’ घिमिरेले भने। एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँमा सातवटा ठाउँमा घुम्न सक्ने गरी टुरको योजना बनाएको उनको भनाई छ।

घिमिरेका अनुसार दशैं तिहार योजना अन्तर्गत ग्राहकले जंगल सफारी लजमा छ हजार नौ सय ९९ रुपैयँमा दुई रात तीन दिनको अकोमोडेसन, ब्रेकफास्ट, लन्च, डिनर, जीप सफारी, लगायतको सुविधा लिन सक्नेछन्। यसअन्तर्गत काठमाडौंदेखि जाने पर्यटकले यातायातको व्यवस्था आफैँ गर्नुपर्ने प्रावधान रहेको उनले बताए। 

द्वारिकाज् होटलमा २०२० सम्मको लागि रुमहरु बुकिङ भइसकेको छ। अमेरिका, युरोप  लगायत विभीन्न मुलुकबाट एक वर्ष अगाडीबाट अग्रिम बुकिङ भइसकेको होटलले जानकारी दिएको छ।

होटलका अनुसार काठमाडौंको बत्तिसपुतलीस्थित द्वारीकाज होटल र काभ्रेको धुलिखेल स्थित द्वारिकाज् रिसोर्टमा र अक्टुबर र नोभेम्बरमा रुम पाउन सकिँदैन। 

'द्वारीकाज होटलमा ८३ वटा कोठा रहेको छ भने र द्वारिकाज् रिसोर्टमा ४० वटा कोठा रहेको छ। सिमित कोठा भएका कारण बाह्य पर्यटकहरुले एक वर्षअघि नै अनलाइनमार्फत अग्रिम बुकिङ गरिसकेका हुन्छन्' होटलको बजार तथा बिक्री शाखाका एक कर्मचारीले बताए। 

ठमेलस्थित काठमाडौं गार्डेन होममा अक्टोबरसम्मका लागि प्रि-बुकिङ भइसकेको छ। सेप्टेम्बरसम्म ७० प्रतिशत रुम बुकिङ भएको होटलमा २३ वटा कोठा रहेको संचालक तेजबहादुर गुरुङले जानकारी दिए। 

ग्राहकको माग अनुसार होटलले उही स्तर(तीन तारे)को होटलमा राख्ने व्यवस्था गर्दै आएको उनले बताए।  

पर्यटकको बढ्दो मागलाई मध्यनजर गर्दै होटलले चैत महिनादेखि होटलमा थप २७ वटा कोठा थपेर संचालनमा ल्याउने गुरुङले बताए।

होटलमा आउने ७० प्रतिशत पर्यटक ट्रेकिङमा आउने गरेको र ३० प्रतिशत पर्यटक घुमघामकालागि आउने गरेको उनले जानकारी दिए। 

उनका अनुसार यो वर्ष थाइल्याण्ड,युरोप, इन्डिया, चाइना, बंगलादेश लगायतका मुलुकबाट धेरै पर्यटक आइरहेका छन्। गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले बाह्य पर्यटकको संख्या वृद्धि भएको छ।