BIZMANDU
www.bizmandu.com

दशैको सुरुवातसँगै ब्रोकर कार्यालयमा लगानीकर्ता चाप घट्यो, ‘बजार घट्दा किन्नेलाई बम्पर’

२०७५ असोज २५

दशैको सुरुवातसँगै ब्रोकर कार्यालयमा लगानीकर्ता चाप घट्यो, ‘बजार घट्दा किन्नेलाई बम्पर’
दशैको सुरुवातसँगै ब्रोकर कार्यालयमा लगानीकर्ता चाप घट्यो, ‘बजार घट्दा किन्नेलाई बम्पर’


काठमाडौं। दशैको सुरुवातसँगै ब्रोकर कार्यालयमा लगानीकर्ताको चाप घट्न थालेको छ। उपत्यका बाहिरका लगानीकर्ता घर जाने क्रम बढेकोले चाप घटेको हो।

Tata
GBIME
Nepal Life

उपत्यका भित्रका लगानीकर्तामध्ये केही भने नियमित ब्रोकर कार्यालय धाउने गरेको प्रज्ञान सेक्युरिटिजका प्रवन्धक प्रल्लाहद ओलीले बताए। कार्यालयमा आउने तथा फोन इमेलबाट अर्डर टिपाउने क्रम पनि घटेको ओली बताउँछन्। 

बुधबारसम्म शेयर बिक्री गर्नेले मात्रै दशै अगाडि रकम पाउने हुँदा पैसा अत्यावश्यक पर्नेले मात्रै शेयर बिक्री गरेको ओली बताउँछन्। उनले भने 'बजार मूल्य धेरै नै घटेको हुँदा पैसा आवश्यक नपर्ने लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। दशैको लागि आवश्यक पर्ने रकम पनि जोहो गरिसकेको हुँदा लगानीकर्ता आउन छाडेका हुन्।'

बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासपछि ब्याजदर घटाउने भने पनि त्यस अनुसार ब्यवहारमा देखिएको छैन। सञ्चार माध्यममा पनि ब्याज नघट्ने समाचार आउन थालेपछि लगानीकर्ता चिन्तित हुन थालेको उनले बताए। 

हिजोअस्तिको तुलनामा लगानीकर्ता कम देखिन थालिसकेको श्रीहरि सेक्युरिटिजका विशालकृष्ण अग्रवालले जानकारी दिए। 

श्रीकृष्ण सेक्युरिटिजका दिनेश अर्यालका अनुसार फोनबाट अर्डर टिपाउनेको संख्या पनि घटेको छ। गएका दिनमा कारोबार सुरु भएको एक/दुर्इ घण्टामै २०/२५ करोड रुपैयाँ कारोबार भैसक्थ्यो। तर बुधबार कारोबार सुरु भएको साढे दुर्इ घण्टा वितिसक्दा पनि १० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। उनका अनुसार, लगानीकर्ता फेस्टिभ मुडमा आइसकेकाले पनि बजारमा चहलपहल घटेको हो। 

दशैपछि के होला बजार? 
हरेक बर्ष दशै लागेसँगै बजार घट्ने गरेको पाइन्छ। दशै सुरु हुनुभन्दा केहि समय अगाडि अधिकांस लगानीकर्ताले शेयर बजारबाट पैसा जोहो गर्न खोज्दा घट्ने गरेको पाइन्छ। तर दशै सुरु हुनुभन्दा केहि दिन अगाडि भने बढ्ने गरेकोमा यस वर्ष भने दशै अगाडिका अधिकांस दिन बजार घटेको देखिन्छ। 

गत बर्ष दशै अगाडि बाणिज्य बैंकहरुले लाभांस वितरण गर्ने तथा घोषणा गर्ने गरेको पाइन्छ। तर यस वर्ष बाणिज्य बैंकहरुले लाभांस घोषणा नगर्दा पनि बजार बढ्न नसकेको शेयर बजारका जानकार अधिवक्ता ज्योति दाहालले बताए। 

पैसा हुनेहरुको लागि दशै अगाडि शेयर खरिद गर्ने उपयुक्त समय भएको दाहाल बताउँछन्। उनले भने 'प्राय दशै अगाडि शेयर बजार बढ्ने गरेकोमा यस बर्ष घट्दा पैसा हुनेहरुको लागि दशै अफर आएको छ।'

दशै पछाडि बैंक तथा वित्तीय संस्थाले व्याजदर घटाउछन् कि घटाउदैनन् भन्ने अन्योलले गर्दा लगानीकर्ताले शेयर खरिद बिक्रीमा चासो नदिएको उनको तर्क छ।