काठमाडौं। यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, नाडा र सिप्रदी ट्रेडिङ मिलेर यात्रु सहायता कक्ष सुरु गरेका छन्।
सिप्रदीद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रभाग र नाडासँगको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।
चाडपर्वका लागि टिकट बुकिङसँगै, नागढुंगा, कलंकी, हलचोक, नयाँबसपार्क, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली र बानेश्वरमा यात्रु सहायता कक्ष सुरु भएको कम्पनीले जनाएको छ। दशैंका लागि करिब ३० लाख मानिसले घर जानका लागि उपत्यका छाड्ने अनुमान गरिएको छ।
यातायातको उच्च मागका कारण यात्रुहरुले टिकट बुकिङका क्रममा विभिन्न खालका समस्याहरु भोग्नु परेका उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएका छन्।
उनीहरुले धेरैजसो महँगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्या भोग्नुपर्ने जस्ता गुनासो गर्दै आइरहेका थिए।
एउटै सिटको टिकट धेरैलाई बिक्री गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा थिए।
त्यसैले यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन्। यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन्। साथै, यात्रु सहायता कक्षहरुले उपत्यका भित्रका स्थानीय यातायात र ट्याक्सी सेवाको निरिक्षण पनि गर्ने गरेका छन्।
हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, वाणिज्य विभाग, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन्। सहायता कक्षहरुमा दूरीसहित टिकटको मूल्य पनि राखिएको छ।