Bizmandu
www.bizmandu.com

प्लास्टिक जेनेरेशन, 'योङ व्यवसायमा योङ्गर' पुस्ता, प्लास्टिक उद्योगमा १० अर्ब लगानी

प्लास्टिक जेनेरेशन, 'योङ व्यवसायमा योङ्गर' पुस्ता, प्लास्टिक उद्योगमा १० अर्ब लगानी


काठमाडौं । युवा उद्यमी भरत आचार्य ४० कटेका छैनन्। उनको जति उमेर छ उनले सम्हालिरहेको विजनेश अझ ‘योङ’ छ। आचार्य प्लास्टिकसँग सम्वन्धित उद्योग चलाउँछन्। आचार्यको टिएसएन विजनेश समूह छ। यो समूहले वोतल, प्याकेजिङ, मेडिकल सम्वन्धी प्याकेजिङका ६ वटा उद्योग चलाउँछ।

ती सबै उद्योगले मुलुकभित्र संचालित अन्य धेरै उद्योगलार्इ प्लास्टिक सम्वन्धि सामान बिक्री गर्छ। आचार्य मात्रै होइन प्लास्टिककै काम गर्ने विनित अग्रवालको उमेर पनि ४० कटेको छैन। 


विनितको आइटिपिएफ उद्योग छ। त्यो उद्योगबाट विभिन्न पाइप तथा फिटिङ उत्पादन हुन्छ। यो उद्योगका निर्देशक रहेका विनितले पिभिसी,एचडीपी पाइप ल्याइसकेका छन्। शिवशक्ति प्याकेजिङ प्रालिका राहुल अग्रवालको उमेर पनि ४० कटेको छैन। उनले शिवशक्ति प्याकेजिङ सम्हालिरहेका छन्।

शिवशक्ति समूहमा रहेका अन्य उद्योग परिवारका वरिष्ठ सदस्यहरुले चलाएका छन्। तर प्याकेजिङ उद्योग भने अग्रवालको वागडोरमा छ। प्लास्टिक उद्योग चलाउने अधिकांश उद्योगी युवापुस्ताका छन्। 

नेपालमा प्लास्टिकका सामान उत्पादन गर्ने उद्योग आएको धेरै समय पनि भएको छैन। नेपालको औद्योगीकरणमा धेरैपछि मात्रै प्लास्टिकका उद्योग स्थापना हुन थालेका हुन्। अझ प्याकेजिङ लगायतका उत्पादन गर्ने उद्योग स्थापना भएको केही दशक मात्रै भएको छ। अझ कतिपय उद्योग स्थापना हुने क्रममा छ। ‘प्लास्टिक उद्योग नयाँ पुस्ताले चलाएको उद्योग हो। 

प्लास्टिक सम्वन्धि सामान उत्पादन गर्ने उद्योग आउने क्रम केही वर्ष अघिबाट मात्रै भएको हो’ उद्योगी आचार्यले बिजमाण्डूसँग भने,’त्यही भएर व्यवसायिक घराना भएपनि कान्छा सदस्यले यो उद्योग सम्हालेका छन्। व्यवसायमा छिर्ने पनि कम उमेरकै छ।’ उनका अनुसार प्लास्टिक सम्वन्धी उद्योगको सम्भावना धेरै छ। तर यो सम्भावनाका बीच पनि सरकारी नीति र हल्ला भने चुनौतीको रुपमा रहिरहेको छ।

‘प्लास्टिक भन्ने वित्तिकै पोलिथिन ब्यागको रुपमा लिइन्छ। यसलार्इ सरकारले पनि हेयको दृष्ट्रिकोणबाट हेर्छ’ आचार्यले भने, 'हाम्रो दैनिकीमा उठ्दादेखि सुत्दासम्म प्रयोग गर्ने सबै प्लास्टिकका सामान छन् भन्ने विर्सिएर एकोहोरो प्लास्टिक उद्योगलार्इ पर्यावरणको रुपमा लिँदा हामी हत्तोसाहित बनेका छौं।’ उनका अनुसार ब्रश, सिरिन्ज, कुर्ची टेवलसम्म प्लास्टिककै भएपनि पोलिथिन ब्यागसँग दाजेर उद्योगलार्इ हेयको दृष्ट्रीकोणबाट हेरिन्छ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा प्लाष्टिक बिना मानिसको जीवन असम्भव जस्तो भइसकेको बताउँछन् । ‘प्लाष्टिक भन्नसाथ धेरैले बातावरणीय मुद्धा उठाउने गरेका छन् तर, प्लाष्टिक बिना दैनिक गतिविधि नै असम्भव भइसक्यो’,  गोल्छाले भने, ‘एक पटक मात्रै प्रयोग गरिने प्लाष्टिकले वातावरण बिग्रने हो। त्यसको पुनः प्रयोग गर्न सक्दा सबैभन्दा सजिलो बस्तु नै प्लाष्टिक हो।’ 

भूकम्पपछि त प्लाष्टिकको प्रयोग झन धेरै बढेको व्यवसायीहरुले बताएका छन्। प्रयोगको लागि हलुका र अन्य बस्तुको तुलनामा सस्तो पनि हुने भएकाले व्यवसायीहरुले रुचाएको उनीहरुको तर्क छ। 

हुन पनि अहिले प्लाष्टिकको पुनः प्रयोग गर्न सकिने विभिन्न प्रविधि विकास भइसकेका छन्। पुनः प्रयोगको सबैभन्दा सजिलो बस्तु पनि प्लाष्टिक नै भएको यस सम्बद्ध व्यवसायीहरु बताउँछन्। अहिले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र पुर्नउत्पादनमा सचेतना अभिवृद्धीको काम पनि हुन थालेको छ। 

‘प्लास्टिकलाई चिनौं’ भन्ने मुल नाराका साथ  काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय प्रदर्शनी पनि यसैमा लक्षित भएको प्रदर्शनीका संयोजक विवेक तातेडले बताए ।

समस्या प्लाष्टिकको व्यवस्थापनमा
प्लाष्टिकको प्रयोगभन्दा पनि व्यवस्थापनमा धेरै समस्या भएको प्लाष्टिक उद्यमी बताउँछन्। गोल्छा पनि यसमा सहमत हुँदै भन्छन्, ‘प्लाष्टिकको प्रयोगले वातावरण बिग्रने होइन, यसको व्यवस्थापन प्रभावकारी नहुँदा समस्या सिर्जना हुने हो। प्लाष्टिकलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ।’ 

प्लाष्टिकको क्षेत्र सबैभन्दा तीब्र रुपमा विकसित भइरहेको छ। यसमा निरन्तर लगानी पनि बढिरहेको छ। नेपालमै पनि प्लाष्टिकका उद्योगमा करीब १० अर्ब रुपैयाँ लगानी भइसकेको विशाल प्लाष्टोक्यावका समेत संचालक रहेका विवेक ताडेडको बताउँछन्। प्लाष्टिकका उद्योगहरुले मात्रै एक लाख भन्दा बढी रोजगारी सिर्जना गरेको उनले बताए।