Bizmandu
www.bizmandu.com

कमल ज्ञवाली: सर्वसाधरणको पैसाबाट खडा भएको साम्राज्य, १२ करोड ब्यवस्थापन नगर्दा तहसनहस

कमल ज्ञवाली: सर्वसाधरणको पैसाबाट खडा भएको साम्राज्य, १२ करोड ब्यवस्थापन नगर्दा तहसनहस


काठमाडौं। 'कमलजी तपाईसँग अर्जेन्ट कुरा गर्नु छ, तर फोनमा होइन।'

साँझका बेलामा फोन आएकोले कमल ज्ञवालीले भोली विहानै भेट्ने जवाफ फर्काए।


भोलिपल्ट चक्रपथको कफी पसलमा फोन गर्ने व्यक्ति र कमलबीच भेट भयो। 

भेट्नु अघिनै फोन गर्ने व्यक्तिले आत्तिदै भनेका थिए-‘तपाईलाई पक्राउ गर्ने अन्तिम तयारी भइरहेको छ। तपाईले ऋण तिरे केही समस्या सल्टिन्छ।‘

कमललार्इ भेटेर गोप्य सूचना दिने अरु कोही नभएर नेपाल राष्ट्र बैंककै एक कार्यकारी निर्देशक थिए। राष्ट्र बैंकभित्रको गोप्य सूचनाबाट कमल हताश देखिएनन् बरु रवाफकै शैलीमा जवाफ फर्काए-‘ युवराजले (तत्कालिन गभर्नर) मलाई समाउन सक्दैनन्। अख्तियारका अगाडि उनको कुनै जोर चल्दैन।मसँग अख्तियारको शक्ति छ। 

किष्ट बैंकको प्रवन्ध निर्देशक भएर उनले सबै शक्ति केन्द्रलार्इ रिझाएका थिए। राजनीतिक, प्रशासनिक र अख्तियारजस्तो भष्ट्राचार नियन्त्रण गर्ने संस्थासम्म उनको सहज पहुँच थियो। बैंकिङ क्षेत्रको शक्ति प्रयोग गरेकै कारण उनको रवाफ वेग्लै थियो।

उनको अहकांरका वावजुद फेरी कार्यकारी निर्देशकले कमललार्इ सम्झाउने प्रयास गर्दै भने-‘तपाईको भलो चिताएर १२/१३ करोड रुपैयाँ तिर्नुस भनेको हो। राष्ट्र बैकले फाइल सिआइबी (प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो) मा पठाउँदैछ। महाजी (तत्कालिन डेपुटी गभर्नर महाप्रसाद अधिकारी) र गभर्नर साब जसरी पनि तपार्इलार्इ थुन्ने पक्षमा हुनुहुन्छ।

यो आग्रहलार्इ पनि उनलार्इ छोएन।

कमलले दोहोर्याएरै भने-'हैन केही पनि हुँदैन। म अख्तियार लगाएर तिनलार्इ कहाँ टिक्न दिन्छु र।' 

राष्ट्र बैंकका कार्यकारी निर्देशकले गोप्य सूचना दिएको केही दिनमै कमलकी श्रीमती पक्राउ परिन्।ज्ञवालीलाई प्रहरीले खोज्न थाल्यो। श्रीमती पक्राउ परेको चार दिनपछि उनी फरार भएका थिए। 

मुद्दा अदालत पुग्यो। उनी दोषी ठहरिए। त्यही मुद्दामा कमललाई विहिबार भारतबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्यायो।
+++
कमललाई नजिकबाट चिन्नेहरु भन्छन्, उनी १० हजार रुपैयाँ बोकेर गुल्मीबाट ०५२ साल काठमाडौं उक्लिएका थिए। उनलार्इ फाइनान्स कम्पनी खोल्ने लहड चल्यो। उनकै पहलमा खुल्यो किस्ट फाइनान्स, पूँजी ३ करोड।

नेपाल राष्ट्र बैंकको नियमन बलियो थिएन। उनले तीन करोडको संस्थालाई ५ करोड, २० करोड हुँदै ८० करोड रुपैयाँको बनाए। ज्ञवालीको महत्वाकांक्षाले उडान लिन थालिसकेको थियो। किष्टलार्इ वाणिज्य बैंक बनाउन उनी कसरतमा जुटे।  

बजारमा हकप्रद शेयर बाँड्ने हल्ला फिँजाइयो। हल्लाका भरमा कम्पनीको शेयर बढ्न थाल्यो। मूल्य आकासिएका बेला उनले १०० रुपैयाँको शेयर महँगोमा बेच्न थाले। बजारबाट उठेको पैसाबाट उनले बाँकी शेयरको हकप्रद भरेर आफ्नो 'स्टेक' बढाउन थाले।

बैंक २ अर्बको बनाउने बेलामा उनले रियलस्टेटमा पनि राम्रो लाभ गरिरहेका थिए। कुमारी, प्राइमजस्ता बैंकहरुबाट ऋण लिएर उनले शेयर बजार र  रियलस्टेटमा खेलेर राम्रो पैसा कमाए। निजी क्षेत्रका बैंकमध्ये सर्वाधिक शाखा सञ्जाल भएको बैंक किष्ट भयो। पूँजीका हिसाबले पनि बैंक बलियो हुन थाल्यो।

ज्ञवालीलाई पैसा कमाउने र 'टप बैंकर' हुने भूत सवार हुन थाल्यो। त्यसका लागि उनले शक्तिकेन्द्रहरु रिझाउन थालेका थिए। बजारबाट क्षमताभन्दा बढि ऋण उठाउन थालेका थिए।

तर, दिन सँधै एकनासको कहाँ हुन्छ र? शेयर बजारमा मन्दी सुरु भयो। रियलस्टेट बजार पनि घट्यो। ज्ञवाली बजार सँधै बढिरहन्छ र रियलस्टेटबाट कमाइ भइनैरहन्छ भन्ने हिसावले ऋण उठाउँदै लगानी गर्न पल्किएका थिए।

शेयर र रियलस्टेट क्र्यास भएपछि ज्ञवालीको ओरालो दिन सुरु भए। उनले त्यसबाट तैरिनलाई किस्ट बैंकलाई दुई अर्बबाट पाँच अर्बको बनाउने हल्ला फिँजाए। उनको हल्लाले काम गरेन बजार घटिनै रह्यो।

ज्ञवालीले बैंक ऋण तिर्ने क्षमता गुमाउँदै गए। उनलाई बैंकहरुले कस्दै लगे। बैंकको ऋण तिर्नका लागि उनी 'फर्जी' काममा लाग्न थाले। यो फर्जी कामले नै ज्ञवाली जेलको चिसो छिडीमा पुगे।
+++
फर्जी कामको सुरुवात जम्को प्रकाशन प्रालिमा भएको ऋण लगानीबाट सुरु भयो।

बैंकहरुले ज्ञवालीलाई पेल्न थालेपछि उनले जम्कोलाई तत्कालिन किस्ट बैंकबाट ऋण लिने प्रपञ्च रचे। किस्टबाट झिकिएको पैसा अन्य बैंकको पैसा तिर्न प्रयोग भएको थियो।

०६७ साल असार सिद्धार्थबाट ऋण झिकिएको थियो। भदौमा ज्ञवालीले आफ्नी श्रीमती गौरी खनालको नाममा रहेको जग्गा जम्कोलाई बिक्री गरे। त्यसलाई पनि पछि धितोमा राखिएको थियो।

सिद्धार्थबाट सुरुमा १२ करोड र पछि ३ करोड गरेर १५ करोड रुपैयाँ ऋण लिइएको थियो। यसरी घुमाएर ऋण दिँदा संस्थागत सुशासनको पनि अवहेलना भयो भने जम्को पनि ऋण तिर्नै नसक्ने गरी थला पर्यो।

जम्कोलाई ऋण दिएको एक बर्षपछि राष्ट्र बैंक स्थलगत अनुगमनमा किस्ट बैंक पुग्यो। सुरुमा १२ करोड र पछि ३ करोड गरेर दिइएको ऋणमध्ये राष्ट्र बैंकले तीन करोडको ऋणमा मात्र कैफियत भेट्टायो। उत्तिनैखेर तीन करोड फिर्ता गराउन निर्देशन दियो। तीन करोड मात्र तिर्न लगाउनुको अर्थ थियो सुरुमा दिएको १२ करोड ऋण राम्रो छ। 

राष्ट्र बैकले राम्रो भनेको ऋण घुमाएर दिएको बारे धेरैलाई थाहा थिएन।  सिद्धार्थबाट ऋण तत्कालिन अध्यक्ष शेखर अर्यालले मिलाइ दिएका थिए। ज्ञवाली र अर्यालका बीच राम्रो सम्बन्ध थियो। 

पैसाको बलमा टिकेको सम्बन्ध धेरै दिन टिक्न सकेन। उनीहरु निकट स्रोतहरुका अनुसार, चार लाख कित्ता शेयरका कारण ज्ञवाली र अर्यालबीच सम्बन्ध बिग्रिएको थियो। यही बिग्रिएको सम्बन्धले 'एक आपसलाई पोलापोल' गर्दा ज्ञवाली अप्ठ्यारोमा परे।

अर्यालको ४ लाख कित्ता शेयर ज्ञवालीको आफन्तको नाममा थियो। अर्यालले त्यो शेयर फिर्ता गर्न माग्दा ज्ञवालीले मानेन्, सम्बन्ध विग्रियो। किस्टले दिएको ऋण पनि उठ्न सकेन। त्यसपछि मात्रै राष्ट्र बैंकले ऋण घुमाएर दूरुपयोग भएको भन्ने भेउ पायो।

राष्ट्र बैंकले बैंकिङ कसुरको अनुसन्धान गर्न फाइल सिआइबीलाई जिम्मा लगायो। सिद्धार्थको ऋणको मुद्दा ०७० जेठमा अदालतमा पर्यो। किस्टको ऋण मुद्दा ०७० मंसिरमा पर्यो। उच्च अदालत पाटनले ज्ञवालीलाई कुल साढे १२ करोड विगो र चार बर्ष जेलको फैसला गरेको थियो। 
+++
अख्तियारमा आफ्ना मान्छे छन्, त्यसैले मलाई राष्ट्र बैंकले केही गर्न सक्दैन भन्ने ज्ञवालीमा 'ओभर कन्फिडेन्स' थियो। तर तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई एउटा बिषयले मनमा नराम्रोसँग घोचेको थियो।

दोस्रो प्रयासमा गभर्नर भएका खतिवडाले त्यहाँ पुग्न नदिन ज्ञवालीले भूमिका खेलिरहेका छन् भन्ने सुचना पुगेको थियो। ज्ञवालीले गभर्नरका लागि वीरविक्रम रायमाझीलाई बोकेर हिँडेका छन् र उनका लागि 'ब्रिफकेस' को व्यवस्थापन गरिरहेका छन् भन्ने रिपोर्टिङ खतिवडालाई पुगेको थियो।

त्यसैले गभर्नर भएर आएपछि खतिवडाले ज्ञवालीलाई छुट्टै लिस्टमा राखेर हेरिरहेका थिए। त्यहीबीचमा ऋण दूरुपयोगको फाइल भेट्टिएपछि खतिवडालाई कारवाही गर्न सजिलो भयो। सुरुमा उनले पाँच लाख रुपैयाँ जरिवाना गराएर कारवाही गरे। सिआइबीमार्फत मुद्दा अदालत पुगेपछि ज्ञवालीलाई चार बर्षकै कैद फैसला नै भयो।

अहिले ज्ञवालीले दूरुपयोग गरेको ऋणको भरपाइ भइसकेको छ। ज्ञवालीको नाममा रहेको २३ लाख कित्ता शेयर बिक्री गरेर बैंकको ऋण उठिसकेको छ। ज्ञवालीको सबै शेयर प्रभु समूहले किनेको थियो। तर कमलको यो प्रकरणले एउटा पाठ र सवक सिकाएको छ।‘ बैंक भनेको सर्वसाधरणको हो। सर्वसाधरणको पैसालार्इ व्यक्तिगत प्रयोगमा लगाएर सानशौकत र शक्ति प्रयोग गर्ने कठघरामा उभिनुपर्छ।’