BIZMANDU
www.bizmandu.com

किन बग्छ गण्डक नहरमा सम्झौताभन्दा कम पानी? अरु बेला सुख्खा बर्षातमा बढ्दैछ जोखिम

२०७५ साउन २८


वीरगंज।गण्डक नहरमा सम्झौताभन्दा कम पानी आउने गरेको छ । नारायणी सिचाँई डिभिजन कार्यालय गण्डक वीरगंज अन्तर्गतको गण्डक नहरमा नियमित मरम्त सम्भार र साइफनको सफाई हुने गरेको छैन।

Tata
GBIME
Nepal Life

पर्सा देखि रौतहटको बागमती खोलासम्म फैलिएको ८१ किलोमिटर लम्बाईको गण्डक नहरमा ८ वटा साइफन छन् । साइफन भनेको खोलाको मुनिबाट पानी बग्ने बनाइएको क्यानल(सुरुङ संरचना)हो ।

यहि साइफन जाम हुदाँ पानी सही हिसाबले पास हुँदैन,जसले गर्दा गण्डक नहरमा पानीको घनत्व र बहाव दुरी पिच्छे कम हुदैँ जान्छ । अहिले पानी बाराको ११ नम्बर ब्लक सम्म मात्र जान सक्छ ।

भारतले गण्डक नहरमा वर्षको धान र गहुँको सिजन गरी दुई सिजनका लागि प्रति सिजन साढे ८ सय क्यूसेक पानी दिने सम्झौता गरेको छ ।

तर गण्डक नहरको मुहान  बिहारको भैँसालोटनस्थित दोन नहरको ठाउँठाउँमा पुगेको क्षति र जारी मर्मतका कारण गण्डक नहरमा पानी कम आउँछ। त्यसैले आएको पानी पनि सही किसिमले किसानको खेतसम्म पुग्न सकेको छैन।

कुनै बेला साइफन अत्यधिक जाम हुँदा पानी नहरको डिल माथिबाट बगेर नहर भत्किने गर्छ । नारायणी सिचाँईका ईन्जिनियर सुरेश साहले यसपाली गण्डक नहरमा भारतीय पक्षको ढिलो पानी दिएको तर दिएको पानी सही किसिमले बाराको पूर्वी क्षेत्रसम्म लैजान समस्या भइरहको बताए ।

बर्षातको बेला साढे ६ सय क्यूसेक पानी गण्डक नहरमा राख्न पनि समस्या हुन्छ,१५ वटा केवाडाहरु छन्,बर्षातको बेला ठाउँठाउको केवाडा(चेकपोस्ट) खोलेर पानी नहरको दक्षिणी क्षेत्रमा झार्नु पर्छ ।

बजेटको अभावमा साइफनको सफाईमा समस्या भएको उनले स्पष्ट पारे ।सफाई नहुदाँ साइफनमा पात, कसिंगर, प्लाष्टिक बोतलका थुप्रो र फोहोर थुनिंदा गण्डक नहरको डिल भत्काउने जोखिम पनि छ ।

पर्साका किसान सोनालाल साह भन्छन् नहरको मर्मत र सफाइ भएन भने पानी कसरी आउँछ? साइफन जामले धेरै समस्या नित्याउन सक्ने प्राविधिकहरुको भनाई छ ।

पर्साको ओरिया खोला, तिलावे, भेडाहा, श्रीसिया, बाराको बंगरी, पसाहालगायत खोलाका साइफनहरु फोहोर तथा माटोले जाम भएको छ ।

गत वर्षको बाढीमा गण्डक नहर ठाउँठाउँमा भत्किनुमा बाढीको पानी त छँदै थियो, साइफन जाम हुनु पनि मुख्य कारण हो। गत वर्ष बाढीले करिब ७२ करोडको क्षति पुगेको थियो ।
 

साइफनको सफाइको लागि अनुभवी प्राविधिक र गर्मी सिजनमा मड पम्पसेट लगाएर झारपात तथा माटो भिक्ने गरिन्छ । तर साइफनको सफाई नियमित हुन नसकेको ईन्जियिनर साह स्वीकार्छन् ।

नयाँ संरचना अनुसार डिभिजन कार्यालयको बजेट एउटा गाउँपालिकाको बजेटभन्दा पनि एक चौथाई मात्र भएकोले समस्या भइरहेको उनले बताए ।

हाल गाउँपालिकाको बजेट १७–१८ करोड छ, तर सिंचाई डिभिजनको बजेट जम्मा ४ करोड उनी भन्छन्- नहर मर्मत, कर्मचारीको सेवा सुविधा तथा प्रशासनिक खर्च गर्दा साइफन सफाईमा बजेट अपुग भैरहेको छ।