BIZMANDU
www.bizmandu.com

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल: कुनै अवरोध नआए एक वर्षभित्रै संचालनमा आउने


भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल: कुनै अवरोध नआए एक वर्षभित्रै संचालनमा आउने
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल: कुनै अवरोध नआए एक वर्षभित्रै संचालनमा आउने


Tata
GBIME
Nepal Life

काठमाडौं।पर्यटनमन्त्री रविन्द्र अधिकारीले हरेक कार्यक्रममा भन्दै आएका छन्-'गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १० महिनाभित्रै संचालनमा आउँछ।राष्ट्रिय गौरबको यो परियोजना १० महिनाभित्रै संचालनमा आएमा त्यसले मुलुकको पर्यटन क्षेत्रलार्इ 'यूटर्न' गर्छ।'
 

पर्यटनमन्त्री अधिकारीले भनेको जस्तै १० महिनाभित्र गौतमबुद्ध विमानस्थल संचालनमा आउँछ? विमानस्थल निर्माणको कामले १० महिनामा आउनसक्ने अवस्था छ? अहिले विमानस्थलको काम विहान ६ बजेदेखि राती १२ बजेसम्म भइरहेको छ।चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन  र स्थानीय ठेकेदारले दुर्इ सय कामदार परिचालन गरेर रातीसम्म काम गरिरहेका छन्।विमानस्थल बनाउन चिनियाँ ७० जना र १ सय ३० जना नेपाली कामदार कार्यरत छन्।
 
विमानस्थलका आयोजना प्रमुख ओम शर्माका अनुसार धावनमार्ग माटो हाल्ने र सम्याउने काम भइसकेको छ।वर्षात सकिनेवित्तिकै धावनमार्ग कालोपत्रेको काम सुरु हुन्छ।टर्मिनल विल्डिङको स्ट्रक्चर तयार भइसकेको छ भने तीन महिनाभित्रै छाना हाल्ने काम पनि सकिन्छ।उनका अनुसार चार महिनामा धावनमार्ग र टर्मिनल विल्डिङको काम सकिन्छ।'
 
कुनै अवरोध नभए एक वर्षभित्र यो विमानस्थल संचालनमा आउँछ।अहिले ठेकेदारले राम्रोसँग काम गरिरहेका छन्'शर्माले बिजमाण्डूसँग भने,तोकिएकै समयभित्र संचालनमा ल्याउन सबै संयन्त्र प्रयोग भइरहेको छ।'यो आयोजनालार्इ आवश्यक पर्ने पूँजी अभाव हुन नदिन अर्थमन्त्रालय चनाखो देखिएको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले भैरहवा विमानस्थल एक वर्षभित्रै ल्याउन स्रोतको अभाव हुन नदिन सचेत देखिएका छन्।

त्यही भएर गत आर्थिक वर्षको अन्त्यमा ९ अर्ब ८० करोड रुपैयाँ नेपाल नागरिक उड्ययन प्राधिकरणमा इक्विटी लगानी गर्ने भन्दै रकम अर्थमन्त्रालयले दियो।यो विमानस्थल २०७१ सालमा तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गरेका थिए।तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो।तर मधेश आन्दोलन,नाकाबन्दी र ठेकेदारको आन्तरिक लफडाले आयोजना निर्माणमा लम्बिएको हो।


विमानस्थल संचालनका लागि पूर्व तयारी
भैरहवा विमानस्थल एक वर्षभित्र संचालनमा लागि पूर्व तयारी सुरु भइसकेको छ।अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि पूर्वाधारसँगै आवश्यक जनशक्ति समेत चाहिन्छ।

भैरहवा विमानस्थल संचालनका बारेमा छलफल समेत सुरु भइसकेको छ।पर्यटन मन्त्रालयले विमानस्थल संचालन व्यवस्थापनको जिम्मा कुनै कम्पनीलार्इ दिने बारेमा पनि छलफल अघि बढाएको छ।पर्यटनमन्त्री अधिकारीले भैरहवा विमानस्थल संचालनको जिम्मा अरु कुनै कम्पनीलार्इ दिने बारेमा छलफल भइरहेको बिजमाण्डूलार्इ बताएका थिए।प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले विमानस्थल संचालनका लागि आवश्यक जनशक्तिको टुंगो एक महिनामा लाग्ने बताए।
 

'विमानस्थल संचालनका लागि आवश्यक मानव स्रोत, भन्सार,अध्यागमन, ग्राउण्ड ह्याण्डलिङ, फ्लाइट क्याटरीङ लगायतको अध्ययन सुरु भइसकेको छ।' अधिकारीले बिजमाण्डूसँग भने, 'एक महिनाभित्र सबै अध्ययन सकेर प्रतिवेदन दिन्छौं।'

अर्को मेलम्ची नबन्ला?
यो विमानस्थल अर्को मेलम्ची बन्ला भन्ने चिन्ता पनि उत्तिकै छ।निर्माण सुरु भएको २५ वर्षसम्म पनि मेलम्चीबाट काठमाडौंसम्म खानेपानी आएको छैन।

अझ एक वर्षअघिदेखि मेलम्चीको पानी काठमाडौंमा आउने घोषणा विभिन्न मन्त्रीहरुले गरे।तर अहिलेसम्म मेलम्चीको पानी आउने टुंगो लागेको छैन।

मेलम्चीमा जस्तै यो विमानस्थलमा पनि मन्त्री अधिकारीको घोषणा खोटो सावित हुने त होइन? यो आयोजनाको मूख्य समस्या भनेको चिनियाँ ठेकेदार कम्पनी र स्थानीय ठेकेदार कम्पनीनै हो।यी दुर्इ कम्पनीबीचको विवादले लामो समयसम्म यो आयोजना अघि बढ्न सकेन्।
 
अहिले दुर्इ ठेकेदारबीच राम्रै सम्वन्ध छ र काम पनि राम्रो भइरहेको छ।आयोजनाको अर्को समस्या भनेको जग्गाको मुआब्जा हो।२३ अर्ब मुआब्जा दिनुपर्नेमा ९ अर्ब रुपैयाँ मात्रै वितरण भएको छ।स्थानीयले जग्गाको मुआब्जा कम भएको भन्दै पटक/पटक हड्ताल गर्दै आएका छन्।स्थानीय र ठेकेदारबीच कुनै समस्या नभएमा यो आयोजना समयमै आउँछ।होइन भने यो आयोजना पनि अर्को मेलम्ची बन्ने जोखिम पनि छ।

आयोजना प्रमुख शर्मा मुआब्जा वितरण चालु आर्थिक वर्षभित्रै सकिने दाबी गर्छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले कामदारको आन्दोलन र  मुआब्जाका लागि स्थानीयको आन्दोलन नभए समयमै विमानस्थलको निर्माण सकिने बताउँछन्।
 

विमानस्थल चाँडै आए के हुन्छ?
तीन वर्ष अघि टर्किस विमान दुर्घटनाका कारण चार दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो ।

एउटा घटनाले चार दिनसम्म मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुँदा देशकै वेइज्जत मात्र भएन, अर्थतन्त्रलाई अर्बौको क्षति पनि भयो।भैरहवा विमानस्थल संचालन आउनेवित्तिकै मुलुकका लागि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुन्छ।अहिले त्रिभुवन विमानस्थल मात्रै हुँदा एयर ट्राफिकको समस्या पनि धेरै छ।त्रिभुवन विमानस्थलमा आउने जहाज डाइभर्ट गर्न सकिएमा एयर ट्राफिक कम हुन्छ। 
 

यसरी सुरु भएको थियो अन्तर्राष्ट्रिय बनाउन
यो विमानस्थललार्इ अन्तर्राष्ट्रिय बनाउने प्रमुख भूमिका खेलेका थिए- स्वर्गीय माधव घिमिरेले।अर्थमन्त्रालयको वैदेशिक महाशाखादेखि विभिन्न मन्त्रालयिका सचिव हुँदा यो परियोजनामा लगानी जुटाउन उनले भूमिका खेलेका थिए।

प्रशासक रहेका घिमिरे र राजनीतिक क्षेत्रबाट पूर्व अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रमुख भूमिका खेले।घिमिरे गृहमन्त्री हुँदा पनि उनले यो परियोजनालार्इ अघिनै बढाएका थिए।यो परियोजनाले पश्चिम नेपालको आर्थिक स्वरुपलार्इनै परिवर्तन गर्नेछ।