काठमाडौं। भारतीय निर्यात-आयात बैंक (एक्जिम बैंक-इन्डिया)ले नेपालमा स्थापना हुन लागेको पूर्वाधार विकास बैंकमा इक्विटी (स्वपुँजी) लगानीको प्रस्ताव गरेको छ।
एक्जिमले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने आफ्नै प्रतिनिधिका रुपमा छुट्टै पूर्वधार बैंक स्थापना गर्ने वा नेपालको कुनै बैंकमा संस्थापक शेयरधनीका रुपमा प्रवेश गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो। सरकारले चिनियाँ कम्पनीसँग मिलेर पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेसँगै भारतीय पक्षले पनि यस्तै संस्थामा लगानीको लागि चासो देखाएको छ।
केही समयअघि मन्त्रिपरिषदको बैठकले चीनको जोङ्झी रिचवे होल्डिङ्स लिमिटेडलाई सरकारले पूर्वाधार विकास बैंक स्थापना गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै भारतीय एक्जिम बैंकमार्फत नेपालमा पूर्वाधार बैंकको प्रस्ताव आएको थियो।
नेपाल सरकारको १० प्रतिशतसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अघि बढिसकेको छ। यही बैंकमा भारतीय पक्षलाई लगानीको प्रस्ताव गरिएको हो। यो बैंकलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको चैतमा बसेको बैठकले ४५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिइसकेको छ।
पूर्व मुख्यसचिव डा विमल कोइराला अध्यक्ष रहेको इमर्जिङ नेपालले गत वर्ष बैंक स्थापनाका लागि राष्ट्र बैंकमा प्रस्ताव पेश गरेका थिए। सरकारले गत वर्षकै बजेटमा उल्लेख गरेको बैंक स्थापनाको प्रक्रियामा कम्पनी अघि बढिसकेको छ।