BIZMANDU
www.bizmandu.com

अमेरिकामा अर्थमन्त्री खतिवडाले भने-‘नेपालमा विदेशी लगानीकर्तालार्इ कुनै समस्या छैन’

२०७५ साउन २४

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको समष्टिगत आर्थिक सूचकांक अनुकुल रहेकाले लगानी गर्न विदेशी लगानीकर्तालाई कुनै समस्या नरहेको बताएका छन्।

'नेपालमा लगानीको अनुकुल वातावरण तयार भएको छ।करका प्रावधानहरू प्रतिस्पर्धी रहेको छ,उनले भने, 'थप पूर्वाधार निर्माणमा सरकार प्रतिवद्ध रहेकोले निजी क्षेत्रले लगानी गर्न उपयुक्त वातावरण बनेको छ।'अमेरिकाको वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा आयोजना भएको 'नेपाल डे' कार्यक्रममा दातृ निकायका प्रतिनिधि एवं लगानीकर्तालाई सम्बोधन गर्दै उनले लगानी बढाउन आग्रह गरेका हुन्। नेपालको संविधानले अंगीकार गरेको जनताका अधिकारहरूलाइ सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।
 

संघीयता कार्यान्वयन र पूर्वाधार विकासका लागि विश्व बैंक लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको उनले उल्लेख गरे। नेपालमा अहिले विकास र समृद्धिको लागि उत्साहजनक वातावरण रहेकोले सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संस्थाहरू, गैर सरकारी संध संस्था तथा विकास साझेदारहरु मिलेर अगाडि पनि मन्त्री खतिवडाले प्रष्ट पारे।
 
उनले संघीयताको कार्यान्वयन गर्न थप स्रोतको आवश्यकता रहेको र प्रदेश, स्थानीय तहमा स‌विधान प्रदत्त अधिकार उपयोग गर्न सक्षम बनाउन क्षमता अभिवृद्घी आवस्यक रहेको बताए। कार्यक्रममा विश्व बैंकका विभिन्न विभागहरूमा कार्यरत विषय विज्ञहरू र नेपालका अन्य विकास साझेदारहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए ।
 
ती प्रश्नहरूको उत्तर दिदै खतिवडाले प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि अत्यावश्यक रहेको, व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदै निर्यात प्रबर्द्धन गरिने बताए। सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको समेत उनले उल्लेख गरे। 
 
अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले नेपालमा सेवा प्रवाह, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा भएका सुधार र विकास वित्तको थप आवश्यकता बारे प्रस्तुतीकरण दिएका थिए। 
 
 विश्व बैंकको बोर्डबाट पारित भएको विकासको साझेदारी ढाँचालाइ कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा अर्थमन्त्रीको उपस्थितिमा विश्व बैंकका विभिन्न विभागहरूले प्रस्तुतीकरण गरेका थिए ।