BIZMANDU
www.bizmandu.com

भारतीय बैंकबाट बढिमा ८.२७% ब्याजमा ऋण ल्याउने बाटो खुल्यो, १०.५% सम्म नेपालमा लगानी

२०७५ साउन २३

 
काठमाडौं। बाणिज्य बैंकहरुले भारतीय रुपैयाँमा पनि ऋण लिएर लगानी गर्न पाउने भएका छन्। मौद्रिक नीतिमा भएको ब्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै भारुमा पनि ऋण लिन पाइने ब्यवस्था गरेको हो।
 
बैंकहरुले कुल प्राथमिक पूँजीको २५ प्रतिशतसम्म मात्र भारुमा ऋण लिन पाउने छन्। यसअघि डलरमा ऋण ल्याउने बाटो खोलिदिएको थियो। डलरमा कसैले ल्याइसकेको भए त्योसमेत जोडेर प्राथमिक पूँजिको २५ प्रतिशत ऋण ल्याउन पाइने भएको हो।
 
डलरमा खोलिदिएपछि एनएमबी बैंकले डेढ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय वित्त निगमबाट पैसा ल्याइसकेको छ। अन्य बैंकले पनि प्रकृया अगाडि बढाएका छन्।
 
राष्ट्र बैंकले पूर्वाधार, सुरुङमार्ग, कृषि, पर्यटन लगायतका क्षेत्रमा यो पैसा लगानी गर्नु पर्ने वाध्यात्मक ब्यवस्था गरेको छ। यस्तो ऋण बर्ष दिनदेखि ५ बर्षसम्मका लागि लिन पाइन्छ। 
 
ऋणको ब्याज दर भारत सरकारले जारी गरेको ३६४ दिन ट्रेजरी बिल्सको औषत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरेर ल्याउन पाइन्छ। बुधबार ३६४ दिने ट्रेजरी बिल्सको दर ७.२८१६ प्रतिशत छ। यसमा एक प्रतिशत बिन्दुले प्रिमियम थपेर बैंकहरुले ल्याउन पाउँछन्। बैंकहरुले सवा ८ प्रतिशत हाराहारीमा ऋण ल्याउँदा त्यसमा आफ्नो बाँकी खर्च जोडेर १० देखि साढे १० प्रतिशतसम्म ब्याजमा ऋण लगानी गर्न सक्छन्।

Tata
GBIME
Nepal Life