Bizmandu
www.bizmandu.com

बैंकमा नाफा लुकाउने नयाँ फण्डा: एकै पटक खाएर पछि भोकै बस्ने कि, थोरै थोरै गरेर सँधै खाइरहने?

बैंकमा नाफा लुकाउने नयाँ फण्डा: एकै पटक खाएर पछि भोकै बस्ने कि, थोरै थोरै गरेर सँधै खाइरहने?



 
काठमाडौं। दुई बर्षदेखि नगद लाभांस चाख्न नपाएका सञ्चालक तथा संस्थापक शेयरधनीहरु बैंकले कति नाफा गर्ला भनेर लेखाजोखा गरी बसेका छन्।

 
दुई अर्बको चुक्ता पूँजी ८ अर्ब पुगेकाले पहिले पाएजति (प्रतिशतमा) यसपाली नपाइएला की भन्ने आशंका उनीहरुको छ। त्यसैले उच्च नाफा गरेर उपयुक्त लाभांस (खासगरी नगद) दिनु पर्छ भन्ने दवावमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरु छन्।
Sipradee
LOTSE
 
गरेजति नाफा बाँड्दा भोली त्यहीस्तरको दिन नसकिएला। वा बैंकलाई राम्रो बिजिनेस आएका बेला जगेडा कोष कमजोर भएर त्यसलाई समात्न नसकिने हुन सक्ला। 
 
केही 'स्मार्ट' बैंकरले उपयुक्त लाभांस दिने र रिजर्भलाई पनि बलियो राख्ने शुत्र फेला पारेका छन्। त्यो शुत्रलाई कार्यान्वयन गर्न हिजोआज बैंकका प्रमुख कार्यकारीहरु राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा वाक्लै भेटिन थालेका छन्। 
 
राष्ट्र बैंकले ऋणको गुणस्तर अनुसार त्यसलाई पाँच वर्गमा वाँडेर नोक्शानी ब्यवस्थापन गर्न लगाउँछ। असल ऋणमा एक प्रतिशत, सुक्ष्म निगरानी (वाच लिस्ट) मा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खरावमा १०० प्रतिशत नोक्शानी ब्यवस्थापन गर्नु पर्ने ब्यवस्था छ। 
 
तीन महिना नाघेको ऋणमा २५, ६ महिना नाघ्दा ५० र बर्ष दिन नाघ्दा सत् प्रतिशत नोक्शानी ब्यवस्थापन गर्नु पर्ने राष्ट्र बैंकको नियम हो। यही ब्यवस्थाको आड लिएर बैंकरले नाफालाई लुकाउने उपाय गर्न थालेका हुन्। नाफा लुक्दा सञ्चालक र शेयरधनीलाई प्रमुख कार्यकारीले जति बाँड्न खोजेको हो त्यति नै बाँड्न सक्छन्। बाँकी पैसा 'ब्याकअप' का लागि राख्न सक्छन्।
 
'नाफा धेरै देखाइ दियो भने सञ्चालकहरुको आँखा लागिहाल्छ। त्यही भएर कतिपय राम्रै ऋणको पनि प्रोभिजनिङ (नोक्शानी ब्यवस्थापन) गरिदिएको छु' एक बैंकरले भने, 'यसो हुँदा अर्को बर्षको टार्गेट भेट्टाउन पनि सकिन्छ। सञ्चालकले अचाक्ली पैसा लैजान पनि पाउँदैनन्।'
 
बैंकरले खासगरी आयात निर्यात ब्यापार गर्नेहरुको ऋणमा नोक्शानी ब्यवस्थापन गरेर नाफा लुकाउने गरेका छन्। आयात निर्यातवालाहरुकै ऋणको नोक्शानी ब्यवस्थापन गर्न अलिक सहज छ। 'डाइरेक्टरहरु पनि सब बाठा छन्। उनीहरुलाई यस्तो ऋणमा चै जोखिम बढि हुन्छ भन्ने थाहा छ। त्यसैले यो पैसा उठ्न गाह्रो छ भनेर नोक्शानी ब्यवस्थापन गराउन सजिलो हुन्छ' ती बैंकरले भने।
 
बैंकरहरुले आफुले गरेको चलाखीका बारेमामा पहिले नै राष्ट्र बैंक सुपरिवेक्षण विभागलाई जानकारी दिन्छन्। त्यसो हुँदा बार्षिक प्रतिवेदन पारित गराउँदा उठिरहेको ऋणको किन प्रोभिजनिङ गरेको भन्ने प्रश्न पनि उठ्दैन। राष्ट्र बैंकले पनि 'ब्याकअप' बलियो बनाउन बैंकरले गरेको चलाखीलाई सकारात्मक रुपमा लिन्छन्।
 
बैंकरले रिजर्भ बलियो बनाउनका अलावा आफ्नो परफरमेन्सलाई निरन्तर रुपमा राम्रो देखाउन पनि प्रोभिजनिङ फण्डा अपनाउने गरेका हुन्। 'हरेक बर्ष टार्गेट बढिरहेको हुन्छ। अहिले नै धेरै नाफा गर्दा अर्को बर्ष त्यही अनुसार टार्गेट दिन्छन्' अर्का एक बैंकका प्रमुख कार्यकारीले भने, 'यस पटक २०/३० करोड रुपैयाँ लुकाउँदा पनि नाफा राम्रै देखिन्छ भने त्यो पैसा अर्को बर्षको वासलातमा निकाल्न पाइन्छ।'
 
बैंकरहरु आफ्नो 'लुज फोरम' मा यस बारेमा खुलेरै कुराकानी गर्छन्। साना बैंकहरुलाई प्रोभिजनिङबाट नाफा लुकाउने 'स्पेस' हुँदैन। पछिल्लो समय राम्रो गरिरहेको र ठूलो भनेर स्थापित भएका बैंकहरुले २०/३० करोड रुपैयाँसम्म नाफा लुकाउने बैंकरहरु बताउँछन्।
 
'नाफा लुकाउँदा कसैलाई हानी गर्दैन। बैंक बलियो नै हुने हो' अर्का एक बैंकरले भने, 'तत्काल खाने की थोरैथोरै गरेर खाइरहने भन्ने कुरा हो। थोरैथोरै गरेर निरन्तर दिइरहने उपाय नै ठिक हो।' पुराना र ठूला बैंकहरुको तेस्रो त्रैमाससम्म आउँदा ठिकै रहेको प्रोभिजनिङ चौथोमा आएर अलिक बढ्नुले पनि नाफा लुकाउने फण्डाले काम गरेको ती बैंकरले बताए।