Bizmandu
www.bizmandu.com

'बजार पूण्य विक्रम राणाभन्दा माथि उठ्न सकेन': नेप्सेमा पहिलो कारोबार गर्ने टिवरेवालाको अनुभव

'बजार पूण्य विक्रम राणाभन्दा माथि उठ्न सकेन': नेप्सेमा पहिलो कारोबार गर्ने टिवरेवालाको अनुभव


 
‘खुसुक्क किनबेच हुने शेयर संस्थागत गर्न निकै पापड बेल्नुपर्यो, म आफैँले कमिसन दिन्छु भनेपछि बल्ल उनले माने,’ शेयर बजारका पहिलो कारोबारी निरन्जन टिवरेवालको अनुभव
---
शेयर पहिला राजदरबार र राणा परिवारको व्यक्तिसँग मात्र थियो। रघुपति जुटमिल, साल्ट ट्रेडिङ, नेपाल बैंकमा अधिकांश शेयर राणा परिवारको हातमा थियो। राणाहरु मात्र नभई उनीहरुका नजिकका व्यक्ति, सरकारी कर्मचारीहरुसँग पनि थियो। पछि राणा परिवारले आफूसँग भएको शेयर बिस्तारै  बिस्तारै बेच्न थाले। 
 
राणाहरुले आफ्नो शेयर बेच्ने बेलामा उनीहरुका नजिकका मानिसमार्फत बिक्री गर्ने गर्थे। उनीहरु हल्ला गरेर सार्वजनिक रुपमा थाहा दिएर बेच्दैनथे। उनीहरुले बिक्री गरेको शेयर पूण्यविक्रम राणाले बाहिर ल्याउँथे। उनी लगनखेलमा बस्थे। उनीमार्फत नै राणाहरुको शेयर बाहिर आउँथ्यो। उनले त्यसरी बाहिर ल्याएको शेयर हामीहरु किन्थ्यौं। 
 
त्यतिबेला शेयर हस्तान्तरण गर्दा एउटा शेयर खरिद बिक्रीको फारम हुन्थ्यो। त्यहि फारममा हस्ताक्षर गरेर खरिदबिक्री हुन्थ्यो। त्यो कम्पनी सचिवकोमा पठाएपछि नामसारी हुन्थ्यो। 
 
यसको अभ्यास करिव २०२४ साल देखिनै हुने गरेको थियो। मैले त्यतिबेला पढ्दाखेरिनै विकास बैंकको भुमिकामा उद्योगहरुलार्इ कर्जा प्रवाह गर्ने संस्थाहरु विश्वा थिए। त्यहि सिद्धान्तका आधारमा नेपालमा पनि एनआइडिसी डेभलपमेन्ट बैंकको स्थापना भएको हो।
 
त्यस्ता विकास बैंकले उद्योगमा लगानी गर्ने भन्ने थियो। यस्तै उदयोगको स्थापना पूँजी बजारबाट गर्ने भन्ने मान्यता थियो तर पूँजी बजारको विकास भैसकेको थिएन। यसैको सुरुवात सरकारले एनआइडिसी डेभलपमेन्टको शेयर निष्काशन गरेर भयो। यसको केही शेयर बिक्रीका लागि खुला पनि गरियो। त्यस्तै राष्ट्रिय बीमा कम्पनीको शेयर पनि बिक्री गर्यो। यो २०४२ सालको कुरा हो। 
 
बीमा कम्पनीले प्रति शेयर ४०० रुपैयाँमा निष्कासन गर्यो। तर शेयर महंगो भयो। महंगो भए पनि सैद्धान्तिक रुपमा त्यो शेयर राम्रो थियो। तर त्यो शेयर पूरै बिक्री हुन सकेन। त्यतिबेला एकजना व्यक्तिलार्इ ५० कित्ताभन्दा धेरै नदिने भनेसँगै किन्न चाहेर मात्र पनि नपाउने अवस्था थियो। त्यतिबेला मानिसको शेयर प्रति खासै आकर्षण पनि थिएन। 
 
त्यतिबेला रामविनोद भट्टराई उद्योग सचिव हुनुहुन्थ्यो। हामीले एनआइडिसीमार्फत पूँजी बजारको विकासको पहल गर्यौं। सचिव भट्टराइले पूँजी बजारको विकास एनआइडिसी मार्फत गर्ने भन्ने कुनै पनि कानुन छैन भन्दै ‘कस्तो कानुन बनाउने हो आफैं केही ड्राफ्ट गरेर ल्याउनुस्’ भने। मैले र अमृतनाथ रेग्मी मिलेर ऐन ड्राफ्ट गर्यौ यसमा भट्टरार्इले केहि संशोधन गरेर पास गराउनु भयो। 
 
ऐनसँगै एनआइडिसी बैंकको सहायक संस्थाको रुपमा एनआइडिसी क्यापिटल मार्केटको स्थापना गरियो। क्यापिटल मार्केटको रुपमा स्थापना भएसँगै नेपाल सरकारले जर्मन सरकारसँगै सहयोग माग्यो। त्यसपछि जर्मनको डेग भन्ने संस्था नेपालमा आयो। संस्थासँगै एकजना वाल्टर डिलर नामका चार्टर एकाउन्टेन्ट आए। 
 
उनैले क्यापिटल मार्केटको विकासमा धेरै नै योगदान पुर्याए। जसरी पूण्यविक्रम राणाले राणाहरुको शेयर खरिद बिक्रीको काम गरेका थिए त्यसैगरी वाल्टरले पनि व्यक्तिगत रुपमा ठूलो योगदान पुर्याए। 
 

एनआइडिसी क्यापिटल मार्केटले अहिलेको ब्रोकरको जस्तै गरेर स्टकको काम गर्थ्यो। सन् १९७६ मा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भएको थियो। त्यतिबेला डम्बर ढुङ्गेल र नन्दनहरि शर्मा दुर्इ जनाले दुर्इवटा कोठा लिएर चलाउनु भयो। उहाँहरु नेपाल राष्ट्र बैंकबाट आउनुभएको थियो। 
 
त्यतिबेला शेयर खरिद बिक्री गर्न खुला थियो। शेयर खरिद बिक्रीलार्इ सहजीकरण गर्ने भनेर केन्द्र आफैँले फोन गर्ने गर्थे। कसैले शेयर बिक्री गर्न लाएमा संभावित खरिद गर्ने व्यक्तिलार्इ फोन गरेर बोलाउने गर्थे। यसमा उनीहरुले किन्ने र बेच्ने खोजेर व्यक्तिगत रुपमा तथा बैंकहरुलार्इ खरिद बिक्री गर्थे। यसमा उनीहरुले केही कमिसन लिएर कारोबार गर्ने व्यवस्था मिलाउथे। 
 
शेयर खरिद बिक्री गर्न सेक्युरिटिज खरिद बिक्री केन्द्र आउनु पर्ने आवश्यकता थिएन तर मैले संस्थागत रुपमा कारोबार गर्नुपर्छ भनेर पहिलो कारोबार गरेको हुँ। मैले त्यति बेला साल्ट ट्रेडिङको शेयर खरिद गरेको थिए।
 
पूण्यबिक्रम राणाले फोन गरेर साल्ट ट्रेडिङको शेयर आएको छ भने तर मैले उनलार्इ व्यक्तिगत रुपमा होइन संस्थागत रुपमा खरिद बिक्री गर्नुपर्छ भन्दै सम्झाएँ। अब शेयर बजारलार्इ संस्थागत गरौं भन्ने सल्लाह गरे। तर उहाँले टार्न खोज्नुभयो।  टार्न खोज्दाखोज्दै पनि मैले आफैले समातेर ल्याएर सेक्युरिटी खरिद बिक्री केन्द्रबाट पहिलो कारोबार गरे। कमिसन लाग्छ भन्दै हच्किन खोजेका राणालाई म आफैँ त्यो कमिसन दिन्छु भनेपछि उनी तयार भए। यो २०३३ सालको कुरा हो। 
 
यस सँगसँगै एनआइडिसीको साधारणसभामा पूँजी बजारको विकास गर्नुपर्यो भन्ने आवाज उठाएँ। पछि एनआइडिसीले स्टकको भूमिका निर्वाह गर्न थाल्यो। ‌ओटिसी जस्तो गरेर काम गर्न थाल्यो। एनआइडिसी क्यापिटल मार्केटको त्यतिबेलाको उद्देश्य स्टक एक्सचेन्ज नै चलाउने थियो। 
 
नन्दनहरि शर्मा, मदनराज जोशी, दिपक काफ्ले यी तीनजनाको अध्ययन समिति बन्यो। उनीहरुले शेयर बजारको विकास कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेका थिए। उनीहरुको अध्ययनले तीनवटा संस्थाको सिफारिस गर्यो। जसमा स्टक एक्सचेन्ज, नियमनकारी निकाय धितोपत्र बोर्ड र नागरिक लगानी कोष चाहिन्छ भन्ने किसिमले सुझाव दियो। 
 
तीनवटा संस्थाको सिफारिससँगै नागरिक लगानी कोषमा नन्दनहरि शर्मा गए।  धितोपत्र बोर्डमा डम्बर ढुङ्गेल र नेपाल स्टक एक्सचेन्जमा मदनराज जोशी गए। यसरी तीन वटा निकायको विकास भयो। विकास भएपनि नेपाल स्टक एक्सचेन्जबाट मात्रै अनिवार्य कारोबार गर्न पाइने भन्ने पोलिसी थिएन। नेपाल स्टक एक्सचेन्जसँगै ब्रोकरको पनि स्थापना गरियो। 
 
नेपाल स्टक एक्सचेन्जको स्थापनापछि पनि पहिलो कारोबार मैले नै गरेको थिए। २०५० साल पुष २९ गते बिहीबार नेपाल स्टक एक्सचेन्जको फ्लोरमा कारोबार भयो। त्यसै दिन मैले कारोबार सुरु गरे। मैले अनुप श्रेष्ठ भएको ब्रोकर कार्यालय मार्फत नबिल बैंकको शेयर खरिद गरेको थिए। मैले उनलार्इ पहिलो कारोबार गर्ने व्यवस्था मिलाइदिनुस् भनेपछि सबैभन्दा पहिला शेयर खरिद गर्ने अवसर पाएको थिएँ।
 
नेपालमा स्टक एक्सचेन्जको विकास गर्ने भनेर वाल्टर डिलर ल्याइयो तर अलग्गै स्टक एक्सचेन्ज स्थापना हुँदा केही मनमुटाव हुन पुगेको थियो। स्टक मार्केटको विकासमा हाम्रो पनि योगदान छ त्यसैले हामीलार्इ पनि स्टक एक्सचेन्ज दिनुपर्यो भन्नेमा उनीहरु थिए। 
 
नेपालको शेयर बजारमा जहिले पनि चलखेल गर्ने तथा पैसा कमाउने क्षेत्रको रुपमा हेरियो। तर नेपालमा जुन जुन बेला आर्थिक गतिविधि बढेको थियो त्यति बेला शेयर बजार पनि बढेको  छ। जतिबेला आर्थिक गतिविधि बढ्छ कम्पनीले पनि राम्रो प्रतिफल दिन्छन्। त्यसले बजार माथि पुगेको हुन्छ।  
 
खासा बजार फस्टाए सँगै शेयर बजारमा कारोबार बढेको थियो। खासा बजार बढेसँगै धेरै मानिसले पैसा कमाए जसको असर शेयर बजारमा पनि परेको देखिन्छ। आर्थिक गतिविधि बढ्दा शेयर बजारमा सकारात्मक प्रभाव पर्छ। यसले स्वच्छ बजारको विकास गर्छ। 
 
आर्थिक गतिविधि बढ्दा छरिएर रहेको पूँजी एकिकृत गर्ने एउटा राम्रो माध्यम पनि हो। यसलार्इ अवसरको रुपमा लिएर आर्थिक विकासमा प्रयोग गर्न सकिन्छ। 
 
पूँजी बजारको विकास हुँदै गर्दा कम्पनीमा राम्रा व्यवस्थापक आउँछन्। जसले गर्दा कम्पनीमा सुशासन कायम हुन्छ र राम्रो व्यावसाय गर्न सफल हुन्छन्। अहिले जति पनि राम्रा कम्पनी छन् ती कम्पनीको व्यवस्थापन राम्रो छ। जुन कम्पनीको व्यवस्थापन कमजोर छ त्यस्ता कम्पनीले राम्रो गर्न सक्दैनन् र उनीहरुको भ्यालु पनि राम्रो हुन सक्दैन। 
 
नेपालको कानुनमा नै कमजोरी छ। नेपालको जुनसुकै नियम कानुनमा बहुमतले कुनै पनि निर्णय गर्न सक्ने व्यवस्था रहेको छ। यसले गर्दा धेरै राम्रा तथा ब्राण्ड स्थापित भएका कम्पनीलार्इ बहुमतको बलले खारेजी गरिएका उदाहरण छन्। यसले गर्दा कम्पनी नै मर्ने वातावरण बन्यो। 
 
राम्रो कम्पनी खारेजीमा जाने चरणमा गयो भने त्यसलार्इ टेकओभर गर्न चाहनेलार्इ अवसर दिनुपर्छ। कम्पनीलार्इ नै मर्नबाट बचाउने कानुन पनि सँगै आउनु पर्छ। बहुमतको निर्णय नै सर्वोपरी मान्ने भन्दा पनि कस्तो केसमा बहुमतको निर्णय मान्य हुने र कस्तो केसमा नहुने भन्ने पनि सँगै व्यवस्था हुनु पर्छ। 
 
अन्तराष्ट्रिय स्तरको बनाउनुपर्छ
जसरी सुरुका दिनमा पूण्यविक्रम राणाले शेयर खरिद बिक्री गर्थे आज नेपाल स्टक एक्सचेन्जले पनि त्यहि काम गरिरहेको छ। त्योभन्दा धेरै विकास हुनै सकेन। केहि प्रविधि भित्रिए होलान् कारोबारमा केहि प्रणाली भित्रिए होलान्। तर अन्तराष्ट्रिय स्तरमा जति पूँजी बजारको अभ्यास भएका छन् त्यो नेपालमा हुन सकेन।
 
जति पनि काम भए ति सबै टर्नओभर धेरै बनाउने काम मात्रै भयो तर वास्तविक रुपमा शेयर बजारको विकास हुनै सकेन। वास्तविक रुपमा कम्पनीहरुलार्इ पूँजी प्रवाह गर्ने सहजीकरण गर्ने काम भने हुन सकेन। 
 
अहिले नेपाल स्टक एक्सचेन्जले अनलार्इन प्रणाली विकास गरेर मात्र शेयर बजारको विकास हुँदैन। नेपालको पूँजी बजारको विकास गर्ने हो भने अन्तराष्ट्रिय मान्यता प्राप्त नयाँ स्टक एक्सचेन्जको आवश्यक पर्छ जसलार्इ विश्वकै लगानीकर्ताले विश्वास गर्न सकोस्। हामी ग्लोबल इकोनोमीको कुरा गरिरहेका छौं तर विश्वले विश्वास गर्न सक्ने स्टक छैन। 
 
हङकङ अमेरिकामा किन विश्वका राम्रा राम्रा कम्पनी सूचिकृत हुन्छ। यसको प्रमुख कारण ति कम्पनी राम्रो भ्यालु पाउँछन्। एउटै स्टक एक्सचेन्जले ३५ वटा भन्दा धेरै देशको कम्पनीको कारोबार भैरहेको छ। यो भनेको सर्भिस क्षेत्र हो। नेपालमा पनि यस्तो स्टक ल्याउन नसक्ने भन्ने हुँदैन।  
 
ति स्टक एक्सचेन्जमा आकर्षण बढ्नुको कारण त्यहाँ जनसुकै कम्पनीलार्इ पनि सूचिकृत गरिदैन। लगानीकर्ताले लगानी गर्ने भनेको स्टक एक्सचेन्ज मार्फत हो। स्टकको क्राइटेरिया पूरा गर्ने कम्पनीहरु मात्रै कारोबारकालागि सूचिकृत हुन्छन्। जसले गर्दा लगानीकर्ता फस्ने संभावना हुँदैन। 
 
नेपालले पनि यस्तैगरी विदेशी कम्पनीलार्इ नेपालमा भित्र्याउन सक्छ। यसकालागि शक्तिशाली प्रविधियुक्त स्टक एक्सचेन्ज आवश्यक पर्छ। नेपाल भौगोलिक रुपमा ल्याण्डलक मात्र होइन कि अर्थतन्त्रमा पनि लक छ। 
 
अर्थतन्त्रमा लक हुनुको कारण हामी आफैँ हो। हामी आफैँले आफ्नो हातखुट्टा बाँधेका छौं। पूर्वाधार तयार पार्न सकेनौ। भूमण्डलीकरणको अवस्थामा टेक्नोलोजी प्रयोग गर्दै व्यवस्थापनमा विचार पुर्याउने हो भने नेपाल अर्थतन्त्रमा लक हुनु पर्दैन।    
(बिजमाण्डूका सुवास निरौला र अरुण सापकोटासँगको कुराकानीमा आधारित)