BIZMANDU
www.bizmandu.com

नेपाल बैंकमा शेयर बेच्न ‘फ्लप’ सरकार पुनर्बीमा र एचआइडिसिएलमा किन स्वामित्व बढाउन खोज्दैछ?

२०७५ साउन १६

नेपाल बैंकमा शेयर बेच्न ‘फ्लप’ सरकार पुनर्बीमा र एचआइडिसिएलमा किन स्वामित्व बढाउन खोज्दैछ?
नेपाल बैंकमा शेयर बेच्न ‘फ्लप’ सरकार पुनर्बीमा र एचआइडिसिएलमा किन स्वामित्व बढाउन खोज्दैछ?



 
काठमाडौं। सरकारको मूख्य स्वामित्व रहेको नेपाल बैंकको एफपिओमा सर्वसाधारण लगानीकर्ताले चासै देखाएनन्। सरकारकै अर्को निकाय कर्मचारी सञ्चय कोषले अन्तिम समयमा एक अर्ब रुपैयाँ लगानी गरेपछि बैंकको कुल एफपिओमध्ये ५४ प्रतिशत मात्र बिक्री भयो।
 
नेपाल बैंकले निष्कासन गरेको एफपिओ बिक्री नहुनुमा धेरैले बजार मूल्य बराबर आउनुलाई माने। यसमा केही सत्यता पनि छ। ठूला लगानीकर्ता र अन्डरराइटरसमेत बैंकको एफपिओ सकार्न हच्किरहेका छन्।
 
शेयर नबिक्नुको मूख्य कारण सरकारी रणनीति हो। वित्तीय क्षेत्र सुधार कार्यक्रमबाट बल्लतल्ल तङग्रिएको बैंकलाई सरकारसहित उसका अन्य साझेदारहरुले हकप्रद शेयर हालेर ब्यूँताए। त्यसबेला बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर स्वामित्व थियो। बाँकी सेयर अन्य बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको थियो। सरकार वाहेककाहरुको कुल पुँजीमा ४९.९४ प्रतिशत सेयर स्वामित्व कायम थियो।
 
बैंकको अवस्था सुध्रन थाल्यो। खराव ऋण कुनै लिलाम गरेर त कुनै सकारेर उठ्न थाल्यो। आफ्नो स्वामित्वमा रहेको अन्य कम्पनीको अर्बौंको शेयर बिक्री गरेर वित्तीय अवस्था सुदृढ हुन थाल्यो। त्यसैबीचमा सरकारले नेपाल बैंकमा अरुको स्वामित्व झारेर आफ्नो लगानी बढाउन थाल्यो।
 
बैंकमा सरकारी स्वामित्व ४०.४९ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुग्यो। त्यो शेयर सरकारले १०० रुपैयाँ प्रति कित्ताका दरमा किनेर स्वामित्व बढाएको थियो।
 
अहिले सरकार आफ्नो स्वामित्व घटाउन खोज्दैछ। १०० रुपैयाँमा किनेको शेयर २८० रुपैयाँका दरले बेचेर उ स्वामित्व घटाउँदैछ। अब सरकारी स्वामित्व ५१ प्रतिशतमा आउने छ। ३८ प्रतिशत हिस्सा बोकेर बसेकाहरुको स्वामित्व ३१ प्रतिशतमा झर्ने छ। एफपिओपछि भित्रिने नयाँ लगानीकर्ताको हिस्सा १७ प्रतिशत हुने छ।
 
एकातिर सरकारले स्वामित्व घटाइरहँदा अर्को निकायमा नेपाल बैंकजस्तै स्वामित्व बढाउन खोजेको छ। नेपाल बैंकमा पैसा हालेर स्वामित्व बढाएको सरकारले नेपाल पुनर्बीमा कम्पनीमा एक रुपैयाँ नहाली आफ्नो स्वामित्व बढाउन खोजिरहेको छ।
 
कम्पनीमा सरकारको ४६ र अन्य निजी क्षेत्रका कम्पनीको ५४ प्रतिशत शेयर लगानी छ। कम्पनीले १५ प्रतिशत सर्वसाधारण र एक प्रतिशत आफ्ना कर्मचारीका लागि साधारण शेयर जारी गर्न खोज्दैछ। 
 
सरकारले बठ्याइ गरेर सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो। सरकारले आफ्नो साबिकको ४६ प्रतिशतलाई यथावत राखेर ५४ प्रतिशत शेयर बोकेका निजी क्षेत्रका कम्पनीबाट १६ प्रतिशत शेयर खोसेर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्न खोजेको हो। यसोहुँदा निजी क्षेत्रका बीमा कम्पनीहरुको स्वामित्व ५४ बाट ३८ प्रतिशतमा झर्छ।
 
सरकारले निजी कम्पनीको हिस्सा घटाउनुको मूख्य कारण भने बढ्दो बिजिनेस हो। सरकारले नेपालका बीमा कम्पनीहरुलाई कम्तिमा २० प्रतिशत पुनर्बीमा यही कम्पनीसँग गर्न निर्देशन दिइसकेको छ। त्यो सुरक्षित बिजिनेसबाट हुने नाफालाई सरकारले निजी क्षेत्रलाई बाँड्न नखोजेको हो।
 
अहिले नै पनि कम्पनीमा सरकारले ४६ प्रतिशत शेयर बराबर ३ जना सञ्चालक आफ्नो राखेको छ। जबकी ५४ प्रतिशत शेयर हुनेलाई २ सञ्चालक मात्र दिइएको छ।
 
यसैबीच नेपाल जलविद्युत लगानी तथा विकास कम्पनीले १० अर्ब रुपैयाँको हकप्रद शेयर जारी गर्दैछ। यसमा २ अर्ब आमसर्वसाधारणले हाल्नु पर्छ। अहिलेसम्म परियोजनामा लगानी नगरी बैंकमा पैसा राखेर ब्याज आम्दानी गरिरहेको कम्पनीले फेरि १० अर्ब रुपैयाँ बजारबाट उठाउनुमा पनि शंका गर्न थालिएको छ।
 
'सर्वसाधारणले सरकारी लगानीलाई पत्याउँदैनन् भन्ने नेपाल बैंकबाट देखिइसकेको छ' एक लगानीकर्ताले भने, 'सर्वसाधारणले नहालेको पैसा सरकारले आँफै हालेर आफ्नो लगानी बढाउने भित्री उद्देश्य देखिन्छ।'
 
उनका अनुसार, नाफा हुने र कमाउने क्षेत्रमा सरकारको सहभागिता भएमा अब निजी क्षेत्रमा त्यसमा लगानी गर्न तयार हुँदैनन्। 'आँफू सस्तोमा उठाएर सर्वसाधारणलाई महँगोमा बेच्ने रणनीति सरकारको देखिएको छ' पुनर्बीमा कम्पनीमा सम्मिलित एक लगानीकर्ता कम्पनीका प्रमुखले भने, 'त्यसमा पैसा र समय लगाएर आँफू किन बर्बाद हुने। अब सरकारी परियोजनामा सघाउन सोच्नु पर्ने अवस्था आएको छ।'
 
पुनर्बीमा कम्पनीमा सरकारले जबर्जस्ति गरेपछि त्यसका साझेदार लगानीकर्ताहरु अदालत जाने तयारीमा रहेको उनले जानकारी दिए। उनका अनुसार, नेपाल जलविद्युत विकास कम्पनीमा पनि शेयर हिस्सा सस्तोमा बढाएर पछि महँगोमा बेच्ने रणनीति लुकेको छ। 
 
'सरकारका कारण पूँजी बजारप्रति लगानीकर्ता सशंकित छन्। सरकारको डबल स्ट्यान्डर्ड रणनीतिले अन्य क्षेत्रका लगानीकर्ता पनि तर्सिने अवस्था आएको छ' उनले भने।

Tata
GBIME
Nepal Life