काठमाडौं। हेभी इक्विपमेन्टको सवारी चालक अनुमतीपत्र(लाइसेन्स) लिन २ वर्ष कुर्न नपर्ने भएको छ।
मंगलबार देखि हेभी सवारीसाधनको सिधै लाइसेन्स लिन पाउने गरि आवेदन खुला गर्न लागेको यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए। उनका अनुसार पहिलोपटक हेभीको सिधै लाइसेन्स दिन लागिएको हो।
यस अघि हेभी इक्विपमेन्टका लागि साना सवारीसाधनको लाइसेन्स लिएको दुर्इ बर्ष भएकै हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको थियो।
गत फागुन १४ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले साना सवारीसाधन चलाएको दुर्इ बर्षपछि मात्रै मझौला र ठूलासवारीसाधनको अनुमती पत्र(लाइसेन्स)वितरण गर्ने व्यवस्थालार्इ पहिलोपटक संशोधन गरेको हो।
सवारी तथा यातयात व्यवस्था नियमावली २०५४ संशोधन गर्दै पहिलोपटक सिधै हेभी इक्विपमेन्टको लाइसेन्स लिन पाउने व्यवस्थालार्इ राजपत्रमा प्रकाशित गरेको हो।
प्रशिक्षण केन्द्रबाट नै हेभी इक्विपमेन्टका दक्ष चालकहरु उत्पादन भैरहेकाले विकास निर्माणको काममा अत्यावश्यक ठूला इक्विपमेन्ट चलाउने चालकलार्इ साना सवारीसाधन सिक्नै पर्ने बाध्यात्मक नियम हटाइएको यातयात व्यवस्था विभागले जनाएको छ।
पुरानो व्यवस्थाका कारण अहिले बजारमा हेभी इक्विपमेन्ट चलाउने अपरेटरको अभाव छ। पुरानो व्यवस्थाका कारण ७५ प्रतिशतभन्दा बढी अपरेटर लाइसेन्सविहीन रहेको विभागले जनाएको छ।
मासिक रुपमा ५० हजारभन्दा बढी कमार्इ हुने यो अत्यावश्यक पेशामा दक्षजनशक्तिको अभाव छ। यो अभावलार्इ कम गर्नका लागि नयाँ व्यवस्थाले सहयोग गर्ने विभागले जनाएको छ।
यातायात व्यवस्था विभागले गत जेठमा नै खुला गर्न भनेपनि प्राविधिक कारणले ढिलार्इएको विभागका इन्जिनियर सन्तोष पोख्रेलले जानकारी दिए।
उनका अनुसार अहिले टेष्टिङको काम भैरहेकाले मंगलबारसम्ममा आवेदन खुला हुने जानकारी दिए।१७ प्रकारका हेभी इक्विपमेन्ट मध्ये पाँच प्रकारका इक्विपमेन्टको लाइसेन्समा क्याटेगोरी नभएकाले अन्यमा राखेर मिलार्इएको विभागले जनाएको छ।
यी हुन लाइसेन्स खुल्न लागेका हेभी इक्विपमेन्ट
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका अनुसार साना सवारीसाधनको लाइसेन्स नै नलिएको भएपनि अधिकांश हेभी इक्विपमेन्टको लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ।
सरकारले राजपत्रमा प्रकाशित गर्दै डोजर, मोवाइल क्रेन,विटुमिन डिस्टिव्युटर,मिनि डम्पर,एक्साभेटर,फोर्क लिफ्ट ट्रक,मोटर ग्रेडर,चिप्स स्पेडर,लोडर,पाइल ड्रार्इभर,रोड मार्किङ मेसिन,रोलर,ट्रेलर ट्रयाक्टर गरी १७ प्रकारका हेभी इक्विपमेन्टको सिधै लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ।