BIZMANDU
www.bizmandu.com

ठूला परियोजनामा लगानी जुटाउन अर्थमन्त्री ‘फर्मूला सेट’ गर्दै, वासिङटनमा ‘लिस्ट’ सार्वजनिक

२०७५ साउन १३

ठूला परियोजनामा लगानी जुटाउन अर्थमन्त्री ‘फर्मूला सेट’ गर्दै, वासिङटनमा ‘लिस्ट’ सार्वजनिक
ठूला परियोजनामा लगानी जुटाउन अर्थमन्त्री ‘फर्मूला सेट’ गर्दै, वासिङटनमा ‘लिस्ट’ सार्वजनिक


 
काठमाडौं। परम्परागत बजेट ल्याएको भन्दै आलोचित अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला ठूला परियोजनामा लगानी जुटाउन ब्यस्त भएका छन्। 
 
विश्व बैंकको बैठकमा वासिङटन उड्नुअघि खतिवडा केही परियोजनाको सूची तयार पार्न ब्यस्त भएका हुन्। वासिङटन बैठकमा उनले तयार पारेका केही आयोजनामा लगानी र बजेटरी सहयोगका लागि छलफल गर्नेछन्।
 
'ठूला परियोजनाहरु छनौंट गरेर त्यसमा लगानी जुटाउने गरी प्रोफाइल तयार पार्ने काम भइरहेको छ' खतिवडाले बिजमाण्डूसँग भने, 'त्यसमा हामीले दुई/तीन वटा लगानीको मोडेलमाथि काम गरिरहेका छौं।'
 
दुर्इ साताअघि खतिवडाले अर्थमन्त्रालयमा विकाससँग सम्वन्धित मन्त्रालयसँग रहेका ठूला परियोजनाका बारेमा छलफल गरेका थिए। डिपिआर भइसकेका र हुन बाँकी रहेका परियोजनाको लिस्ट बनाएर प्रस्ताव गर्न खतिवडाले निर्देशन दिएका थिए।
 
अर्थमन्त्री खतिवडाले त्यस्तो आयोजना सिफारिस गर्न सुझाएका छन्, जसलाई तत्कालै अगाडि बढाउन सकियोस्। उनले आयोजनाको अनुमानित लागत र अप्ठ्यारा लगायतका सबै विषय समेटेर पठाउन आग्रह गरेका छन्। 
 
अर्थमन्त्री डा. खतिवडा ठूला परियोजनाहरु पूर्ण रुपमा ऋण लिएर निर्माण गर्ने पक्षमा छैनन्। सबै आयोजनाहरु अनुदानमै बनाउन सकिन्छ भन्नेमा पनि आशावादी छैनन्। 
 
'आन्तरिक स्रोतबाट ठूला परियोजना बनाउन संभव छैन' खतिवडाले भने, 'त्यसका लागि हामीले केही देशको उदाहरण हेरेका छौं। ऋण, अनुदान र स्वपूँजी मिसाएर परियोजना अगाडि बढाउनु पर्छ भन्ने हाम्रो रणनीति हो।' अर्थमन्त्रीले वासिङटनमा एक दिन नेपालका विकास साझेदारसँग छलफल गर्ने छन्। 
 
'त्यहाँ द्विपक्षीय, वहुपक्षीय कुराकानी हुन्छ' उनले भने, 'मैले आफ्नो प्राथमिकताको बिषयहरु त्यहाँ प्रस्तुत गर्ने हो।'
 
अर्थ मन्त्रालयले प्राथमिकता प्राप्त क्षेत्रका कम्तिमा २० आयोजना छनौट गरी प्रोफाइल तयारीको काम थालिसकेको छ। यी आयोजनाका लागि खतिवडा आंशिक स्वलगानी, केही अनुदान र ऋण लगानी जुटाउन खोजिरहेका छन्।
 
'विशेष सदासयता राख्नेले पूर्ण अनुदानमा निश्चित परियोजनामा बनाइदेला। तर हामीलाई धेरैतिर लगानी गर्नु पर्नेछ, त्यसैले अनुदानबाट मात्रै भनेजति परियोजना अगाडि बढ्दैन' खतिवडाले भने, 'हामीले पनि अलिकति पैसा हाल्नु पर्छ। विदेशी सहुलियत दरको ऋण जुटाउनु पर्छ।'
 
खतिवडाले लाओस र भुटानका विकास परियोजनाहरु पनि ऋण, अनुदान र स्वपूँजीका आधारमा निर्माण भएकाले त्यो मोडेल आफूलाई उपयुक्त लागेको बताए।
 
अर्थमन्त्री खतिवडाको प्राथमिकतामा पूर्वपश्चिम रेल छ। यससँगै आर्थिक वृद्धिमा सघाउँदै रोजगारी वृद्धि गर्ने परियोजनाहरु पनि अर्थमन्त्रीले अगाडि बढाउन खोजेका छन्। 
 
अर्थमन्त्रीले 'प्रोजेक्ट फाइनान्सिङ' को अवधारणा कार्यान्वयनका लागि आयोजनाको भौतिक अवस्था, संभावित वित्तीय लगानी, प्रतिफल र संभाव्य लगानी मोडलसमेत तय गर्न लगाएका छन्। कार्यान्वयनको चरणमा रहेका तथा कार्यान्वयन भैरहेका आयोजनामा पनि लगानी योग्य रकम पर्याप्त नहुने समस्या बढेपछि अर्थले आयोजना केन्द्रित भई लगानी जुटाउन लागिपरेको हो। 
 
निजगढ विमानस्थल, पूर्व-पश्चिम रेल तथा महेन्द्र राजमार्गको विस्तार, सूर्य विनायक-धुलिखेल तथा नागढुंगा-नौबिसे सुरुङमार्ग, प्रसारण लाइन विस्तार, ठुला जलाशययुक्त आयोजना अर्थमन्त्रीको प्राथमिकतामा छन्। यीनै आयोजनाको उनी विस्तृत प्रोफाइल तयार पार्दैछन्। 
 
अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले अर्थ मन्त्रालयले पर्यटन, यातायात र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी व्यवस्थापनको छलफल गरेको बताए। खतिवडाले आफूलगायत मन्त्रालयको 'टीम' लाई यसका लागि विशेष सक्रिय बनाएका छन्। 
 
'पर्यटनतर्फ विमानस्थल निर्माण अहिलेको प्राथमिकता हो,' नेपालले बिजमाण्डूसँग भने, 'यातायातको क्षेत्रमा द्रुत मार्ग, रेल वे र सुरुङ तथा ऊर्जामा ठूला जलविद्युत आयोजना प्रसारण लाइनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।'  
 
ठूला पूर्वाधार आयोजनामा आवश्यकताभन्दा निकै थोरै मात्रै बजेट विनियोजन गर्ने र वर्षौँसम्म नसक्ने परिपाटीको अन्त्य गर्न चाहिने जति रकमको व्यवस्थापनका लागि प्रोजेक्ट फाइनान्सिङको विकल्पलाई जोड दिइएको नेपालले जानकारी दिए। 
 
अर्थतन्त्रमा गुणात्मक फड्को मार्न सहयोग गर्ने पूर्वाधार आयोजनालाई छिटो कार्यान्वयन गर्ने गरी लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले लगानीको नयाँ बाटो खोजेका हुन्। 'जुन आयोजनाले अर्थतन्त्रको मुहार फेर्न महत्वपूर्ण योगदान दिन सक्छ तिनीहरुलाई मात्रै अघि बढाउछौँ,' उनले भने। 

Tata
GBIME
Nepal Life