BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री ओलीको सचिवसँग सवालजवाफ, मन्त्रालयका काममा ओली असन्तुष्ट, काम गर्ने यही हो तरीका?

२०७५ साउन २

प्रधानमन्त्री ओलीको सचिवसँग सवालजवाफ, मन्त्रालयका काममा ओली असन्तुष्ट, काम गर्ने यही हो तरीका?
प्रधानमन्त्री ओलीको सचिवसँग सवालजवाफ, मन्त्रालयका काममा ओली असन्तुष्ट, काम गर्ने यही हो तरीका?


Tata
GBIME
Nepal Life

काठमाडौं । ३० असार, शनिवारको दिन, अपरान्ह। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालय सिंहदरवारमा मन्त्री र सचिवसँग साउन १ गतेदेखि लागू हुने बजेट कार्यान्वयनको सन्दर्भ  पावर पोइन्ट प्रिजेन्टेशन लिइरहेका थिए।

विभिन्न मन्त्रालयका सचिवले पावर पोइन्ट प्रिजेन्टेशन दिइरहेका थिए। प्रधानमन्त्री ओली सचिवले प्रस्तुत गरिरहेको पावर पोइन्टको अर्को कपीमा आफ्ना टिप्पणी लेखिरहेका थिए।

प्रिजेन्टेशन चलिरहेको थियो। प्रधानमन्त्री ओलीले यहाँ पर्यटन सचिव कता हुनुहुन्छ भन्दै प्रश्न सोधे। पर्यटन सचिव कृष्ण देवकोटा म यता छु हजुर भन्दै उठे। प्रधानमन्त्रीले प्रश्न सुरु गरे।

त्यो नेपाल एयरलाइन्सको नयाँ विमान किन उडिरहेको छैन?

सचिवले जवाफ दिंदै थिए, प्रक्रिया मिलाउँदै छौं।

प्रधानमन्त्रीले टिप्पणी सुरु गरे।

अर्बौँ रुपैयाँ लगानी गरेर विमान किनेर ल्याएको छ। त्यो नयाँ विमान विमानस्थलमा थन्काएको छ। अर्बौँ रुपैयाँ ऋणको व्याज चढिरहेको छ। अनि बिजनेश प्लान बनाउने, अनुमतिका प्रक्रिया मिलाउने, टेष्ट फ्लाइट गर्ने। काम गर्ने तरिका यही हो? विमान आउनुभन्दा अघि काम गर्न कसले रोकेको थियो?

प्रधानमन्त्रीले पर्यटन सचिवलाई फेरी प्रश्न सोधे, कहिलेदेखि उड्छ।

देवकोटाले जवाफ दिन खोज्दै थिए, अब पाइलट छैनन्, खोज्दै छौं भन्ने त होला नि, प्रधानमन्त्रीले आफैँ जवाफ फर्काए।

दिउँसोदेखि चलेको प्रिजेन्टेशन राती अबेरसम्म चलेको थियो। विभिन्न मन्त्रालय, संवैधानिक निकाय, राष्ट्रिय योजना आयोगले आफ्नो कार्ययोजनाका बारेमा प्रधानमन्त्रीलाई ब्रिफ गरिरहेका थिए।

अर्थसचिव राजन खनालले पनि आर्थिक वृद्धिदर कसरी बढाउन सकिन्छ, मूल्यवृद्धि कसरी नियन्त्रण गर्न सकिन्छ भनेर प्रस्तुती दिए। तुलनात्मक रुपमा राम्रो रहेको प्रस्तुती पनि फितलो थियो भन्नका लागि प्रधानमन्त्री ओलीले एउटा उदाहरण नै दिए।

एउटा मान्छे बाटोमा जाँदै थियो। उताबाट आएको अर्को मान्छेलाई उसले सोध्यो, त्यो पल्लो गाउँमा जान कति समय लाग्छ।

तपाईं एक छिन हिंड्नुस् अनि मात्रै म जवाफ दिन्छु, उताबाट आउँदै गरेको मान्छेले जवाफ दियो।

सोध्ने मान्छे ट्वाल्ल पर्यो। जवाफ दिने मान्छेले भन्यो, तपाईं विस्तारै जानुहोला त्यहाँ पुग्न दुई घण्टा लाग्ला। तपाईं लमकलमक हिंड्नुहोला, त्यही गाउँमा पुग्न एक घण्टा लाग्ला। होइन, तपाईं दौडिनु भयो भने आधा घण्टामा पुग्नुहोला।

अब तपाईंको हिंडाइको चाल नहेरेसम्म मैले कति समयमा त्यहाँ पुग्नुहुन्छ भनेर उत्तर दिने।

ओलीले जवाफ दिए, अब हामीले आर्थिक वृद्धि त भनेका छौं। तर त्यो वृद्धिको चाल कस्तो हुन्छ? के-के गर्दा कति आर्थिक वृद्धि हासिल हुन्छ? प्रिजेन्टेशनमा त्यो पाइएन।

प्रिजेन्टेशन चल्दै थियो। एक जना सचिवले भने, अब हामी प्रभावकारी रुपमा काम अघि बढाउँछौं। अर्का सचिवले भने अब यसमा ध्यान दिन्छौं।

प्रधानमन्त्री ओलीले सचिवको सातो टिपे। यो प्रभावकारी भनेको के हो?, ध्यानमा कसलाई राख्ने हो। मलाई यस्ता अमूर्त कुरा होइन्, कुन समयमा के काम कसरी सम्पन्न गर्न सकिन्छ, त्यसका लागि कति रकम चाहिन्छ। ती आयोजना समापन गर्दा हुने समस्या के हुन्, निराकरणको उपाय के हो। मलाई त्यसको मूर्त जवाफ चाहियो।

रक्षासचिव विष्णु लम्सालले पनि प्रस्तुती दिए। उनले सेनाका लागि हेलिकप्टर किन्न लागिएको तर अर्थमन्त्रालयले बजेट नदिएको भन्दै टिप्पणी गरे। उनले अर्थले बजेट नदिँदा रक्षा मन्त्रालयको कार्यप्रगति हुन नसकेको समेत सुनाए।

जवाफमा प्रधानमन्त्री ओलीले भने, 'हेलिकोप्टर किन किन्न लागिएको हो? त्यो कुरा मलाई पनि थाहा छ, तपाईंलाई पनि थाहा नै होला। अर्बौँ रुपैयाँका मालसामान किन्नेभन्दा जनताको जीवन फेरिने परियोजनामा लगानी गर्नुपर्छ।'

प्रधानमन्त्री ओलीको संकेत हेलिकोप्टर खरिद गर्दा हुने आर्थिक अनियमिततातर्फ थियो। असारमा रक्षा मन्त्रालयले सेनालाई हेलिकोप्टर खरिद गर्न अर्थसँग चार अर्ब रुपैयाँ मागेको थियो। अर्थले तत्काल आवश्कयता नभएको भन्दै त्यो प्रस्ताव थन्काएको थियो।

प्रिजेन्टेशनका लागि सबै सचिवलाई निश्चित समय दिइएको थियो। टाइम म्यानेजमेन्टको काम मुख्यसचिव लोकदर्शन रेग्मीले बर्जर दबाएर गरिरहेका थिए।

प्रिजेन्टेशन दिनेमध्ये पूर्ननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्की पनि थिए। उनले प्रधानमन्त्रीको ' समृद्ध नेपाल सुखी नेपाली' नाराबाट प्रस्तुती सुरु गरे। सुरुका १० मिनेट यही नारालाई फिट हुने गरी विभिन्न व्याक्तिका प्रेरक पङ्क्ति सुनाएपछि मुख्यसचिव रेग्मीलाई आग्रह गरे, मेरो समय अब बल्ल सुरु हुने गरी व्यवस्था मिलाइदिनुहोला।

उनले घुमाइफिराई आफूलाई फरक राजनीतिक सोंच भएको व्यक्तिका रुपमा चित्रित गरेर पोस्टिङमा पेलिएको संकेत गरे। प्रस्तुती दिएपछि फेरि उनले सुरुकै जस्तो पङक्तिबाट आफ्नो प्रस्तुती अन्त्य गरे।

जवाफमा प्रधानमन्त्री ओलीले भने, मैले कसैको राजनीतिक सोंच, सम्बन्धको पूर्वाग्रह राखेर तपाईंहरुको मूल्याङ्कन गर्दिन्। मैले तपाईंको पर्फमेन्सलाई जज गर्ने हो। त्यसैका आधारमा तपाईंहरुको मूल्याङ्कन हुन्छ। जिम्मेवारी पाउनुहुन्छ, प्रधानमन्त्री ओलीले आश्वस्त पारे।

प्रधानमन्त्री ओली पुर्ननिर्माणको विषयमा अलि बढि भावुक भए। उनले भने, अबको एक वर्षभित्र एक जना भूकम्पपीडित पनि प्लाष्टिकको छानोमा नहोस्। उनले त्यसका लागि समन्वय गरेर तीव्र गतिमा काम गर्न निर्देशन समेत दिए।

प्रधानमन्त्रीको चाहना पूरा गर्ने गरी अर्थमन्त्रालयले चालु आर्थिक वर्ष भित्र सबै निजी घर निर्माणका लागि बजेट पुग्ने गरी रकम समेत विनियोजन गरेको छ।

भूकम्पबाट प्रभावितका आठ लाख घर निर्माण गर्नुपर्नेछ। प्रत्येक घरका लागि तीन लाख रुपैयाँ बजेट अनुदान दिने सरकारको घोषणा छ। आठ लाख घर निर्माणका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बजेट चाहिन्थ्यो।

त्यसमध्ये गत आर्थिक वर्षभन्दा पहिले नै करिब निजी आवास निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढि खर्च गरिसकिएको छ। गतवर्ष निजी आवास निर्माणका लागि सरकारले ६३ अर्ब रुपैयाँ बजेट दिएको थियो।

असारमा फेरि ३४ अर्ब रुपैयाँ बजेट थप गर्यो। यसरी अहिलेसम्म सरकारले निजी आवास निर्माणका लागि मात्रै डेढ खर्ब रुपैयाँ खर्च गरिसकेको छ। यो वर्ष सरकारले निजी आवासका लागि थप ८४ अर्ब रुपैयाँ बजेट छुट्टायाएको छ।

यो बजेटसहित गर्दा दुई खर्च ३१ अर्ब रुपैयाँ हुन्छ। आठ लाखका आठै लाख घर निर्माण भए भने पनि सरकारले अर्को नौ अर्ब रुपैयाँ जति व्यवस्था गरे पुग्छ।

अर्थमन्त्रालय अर्को वर्षदेखि निजी आवास निर्माणमा खर्च हुँदै आएको वार्षिक एक खर्ब रुपैयाँ ठूला आयोजनामा लगानी गर्न चाहिरहेको छ। यसरी वार्षिक एक खर्ब रुपैयाँका दरले पाँच वर्ष पाँच खर्ब रुपैयाँ ठूला आयोजनामा खर्च गर्न सकिन्छ। त्यसले देशकै मुहार फेरिन सक्छ।