BIZMANDU
www.bizmandu.com

देशभर बाढी र पहिरो, पाँचवटा मुख्य राजमार्ग अवरुद्ध, बिहीबार दिनभर नै मौसम सक्रिय रहने

२०७५ असार २८

Tata
GBIME
Nepal Life

काठमाडौँ। बुधबार रातिदेखि परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। वर्षापछिको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन्।

पानी परिरहेका कारण अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा कठिनाइ आएको छ।अरनिको राजमार्ग, विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग लगायतका महत्त्वपूर्ण राजमार्ग बन्द भएका छन्। राजमार्ग बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

राससका अनुसार मदन भण्डारी राजमार्ग बन्द हुँदा हेटौँडा काठमाडौँतर्फको यातायात दुबैतर्फ बिहानदेखि अवरुद्ध भएको छ।
राजमार्गको हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको र इन्द्रसरोवर गाउँपालिका–७ सिस्नेरीमा बाटो अवरुद्ध भएको छ।

दुबै स्थानको पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिएका छन्।

यस्तै वर्षासँगै सडक माथिबाट खसेको पहिराका कारण रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।

बाटो बन्द हुँदा पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधन रातिदेखि नै बीचैमा अलपत्र परेका छन्।

यस्तै पूर्वका लाइफलाइन मानिएका दुबै राजमार्ग बाढी र पहिरोका कारण बन्द भएका छन्। अरनिको र विपी राजमार्ग दुबै पहिरोका कारण अवरुद्ध भएका छन्। बाढीका कारण दुबै राजमार्ग भएर जाने सवारीसाधन भक्तपुरमा नै रोकिएका छन्।

अरनिको र विपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुबै राजमार्ग ठप्प छन्।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनीलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ। यसबाट अरनिको राजमार्ग ठप्प छ। बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए।

यस्तै, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण विपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ। सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए।

यस्तै,  मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ।

सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।

राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ। सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ।

दिनभर पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिनभर देशभर नै मौसम सक्रिय रहने जनाएको छ। देशका मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ।

बिहीबार साँझ  र राति पनि देशभरि नै मौसम बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

बिहिवार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ।