BIZMANDU
www.bizmandu.com

२८ मध्ये २५ वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्यो, बाँकी तीनले कहिले पूरा गर्लान्?

२०७५ असार २७

काठमाडौं। नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीको तुलनामा वाणिज्य बैंकहरुको संख्या अपेक्षाकृत रुपमा नघटेको जनाएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले गाभिने तथा प्राप्ति एवं चुक्ता पुँजी वृद्धि गर्ने नीति लागू गरेपश्चात् विकास बैंक तथा वित्त कम्पनीहरुको संख्यामा उल्लेख्य कमी आए पनि वाणिज्य बैंकहरुको संख्यामा अपेक्षाकृत कमी नआएको जनाएको हो।

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा राष्ट्र बैंकले वित्तीय क्षेत्रको सुदृढीकरणको लागि बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था गरेको थियो।

यो व्यवस्थाअनुसार २८ वटा वाणिज्य बैंकहरुमध्ये २५ वटाले तोकिएको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याइसकेका केन्द्रीय बैंकले जनाएको छ।

२०७५ असार मसान्तसम्ममा २ वटा वाणिज्य बैंकहरु चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेको र एउटा वाणिज्य बैंकको चुक्ता पुँजी तोकिए बमोजिम नपुग्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

गत जेठ मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी २२७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा अधिकांश विकास बैंक र वित्त कम्पनीहरु पनि तोकिएको चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेको पनि केन्द्रीय बैंकले जनाएको छ।

३३ विकास बैंकहरुमध्ये २१ वटाले तोकिएको चुक्ता पुँजी पुर्याएका, ७ वटा विकास बैंक तोकिएको चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेका ४ वटा विकास बैंकको चुक्ता पुँजी पुर्याउने समयावधि थप गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

एउटा विकास बैंक रिजोलुसनको प्रक्रियामा रहेको जनाइएको छ। यसैगरी २५ वित्त कम्पनीहरुमध्ये ११ वटाले तोकिएको चुक्ता पुँजी पुर्याएका छन्।
३ वटा वित्त कम्पनी चुक्ता पुँजी पुर्याउने क्रममा रहेका र ५ वटा वित्त कम्पनीको चुक्ता पुँजी पुर्याउने समयावधि थप गरिएको छ।

एउटा कम्पनीको भने चुक्ता पुँजी नपुग्ने राष्ट्र बैंकले उल्लेख गरेको छ। यसबाहेक ४ वटा वित्त कम्पनीहरु रिजोलुसनको प्रक्रियामा र एक वित्त कम्पनी खारेजीको क्रममा रहेको पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ।

मर्जर नीति लिएपछि १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका थिए। यसमध्ये १२१ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन्।

२०७२ असारमा वाणिज्य बैंकहरुको संख्या ३० रहेकोमा हाल २८ मा झरेको छ। २०७२ असारमा विकास बैंकहरुको संख्या ७६ रहेकोमा सो संख्या हाल ३३ मा झरेको छ भने वित्त कम्पनीको संख्या ४८ बाट २५ मा झरेको राष्ट्र बैंकले जनाएको छ।