BIZMANDU
www.bizmandu.com

‘प्रदेश १ कै ठूलो’ सिमेन्ट उद्योगले असोजदेखि व्यावसायिक उत्पादन थाल्ने, एक अर्बको लगानी

२०७५ असार २४

Tata
GBIME
Nepal Life

विराटनगर। प्रदेश नम्बर १  कै सबैभन्दा ठूलो र अत्याधुनिक सिमेन्ट उद्योगका रूपमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली.ले आगामी असोज महिनादेखि ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।

विराटनगरका युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिकामा ‘बन्धन’ ब्रान्डको नयाँ सिमेन्ट उद्योग आउन लागेको हो ।

सञ्चालक मारूले नेपाल अल्ट्राटेकजस्तो अत्याधुनिक प्रविधिको सिमेन्ट उद्योग प्रदेश नम्बर १ मा हालसम्म नभएको दाबी गरे ।

मारूले उद्योगमा मल्टिनेसनल कम्पनीबाट खरिद गरिएका मेसिनरी, विद्युतीय उपकरण र लोडिङ–अनलोडिङ मेसिन प्रयोग गरिएको बताए ।

उनले उद्योगको क्षमता ओपिसी, पिपिसी र पिएससी गरी तीन प्रकारकै सिमेन्ट दैनिक २० हजार बोरा अर्थात् १ हजार मेट्रिक टन ‘बन्धन’ सिमेन्ट उत्पादन गर्ने रहेको जानकारी दिए ।

आफ्नै खानी नभएको यस उद्योगले क्लिङ्कर र अन्य कच्चा पदार्थ नेपालभित्र, भारत वा तेस्रो मुलुक जहाँ सस्तो पर्छ उहीँबाट पैठारी गर्ने उनको भनाइ थियो । उनले कच्चा र तयारी मालसामन अटोमेटिक मेसिनबाटै लोडिङ–अनलोडिङ गरिने स्पष्ट पारे ।

‘सबैजसो मेसिनहरू अत्याधुनिक शैलीका र स्वचालित भएकाले कामदार धेरै छैनन्’, मनीषले भने, ‘तत्काल हामी १ सय जनालाई रोजगारी दिएर उद्योग सुरु गर्दैछौँ । कामदारको यो सङ्ख्यामा उल्लेखनीय घटबढ हुने देखिन्न ।’

उद्योगले तयारी माल भण्डारण गर्न छुट्टै साइलु (silo) को निर्माण गरेको मारूले जनाए । साइलुमा राखिएको सिमेन्ट लामो समय नबिग्रने र यसभित्र ओस तथा हावा नपस्ने उनको भनाइ छ। उद्योगको साइलुमा १२ हजार मेट्रिक टन सिमेन्ट सुरक्षित राख्न सकिने उनको दाबी छ ।

उनले नेपाल अल्ट्राटेकबाट उत्पादित सिमेन्टको बजार प्रदेश नम्बर १ र २ रहेको जानकारी दिए ।

‘हाम्रो विशेषता भनेको उच्च गुणस्तर हो’, सञ्चालक मनीषले भने, ‘धेरै समयपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरेको छ र तीन तहका सरकारले पूर्वाधार निर्माणका कार्यलाई उच्च प्राथमिकता दिएका छन् । त्यसैले नेपालभरि सिमेन्ट उद्योगको संभावना र महत्व बढेर गएको छ ।’

सञ्चालक मारू पेट्रोलियम र हार्डवेयरका व्यवसायी हुन् । अर्का साझेदार हरिवंश विराटनगरका पुराना चामल र तेल उद्योग चन्द्रशिव राइस मिल र चन्द्रशिव आयल मिलका सञ्चालक हुन् ।