Bizmandu
www.bizmandu.com

भारुसँगको विनिमय दर परिवर्तन गर्न कति आवश्यक छ? औपचारिक अध्ययन छैन

भारुसँगको विनिमय दर परिवर्तन गर्न कति आवश्यक छ? औपचारिक अध्ययन छैन


 
काठमाडौं। एक अमेरिकी डलरको मूल्य ११० रुपैयाँ ६२ पैसासम्म पुग्यो। डलरको भाउ निरन्तर उकालो लागेपनि मुलुकको केन्द्रीय बैंक राष्ट्र बैंकले यसमा कुनै हस्तक्षेप गर्न सक्दैन।
 
डलरको भाउ उकालो लाग्दा त्यसको प्रत्यक्ष प्रभाव आयातित वस्तुमा पर्छ। आयात भएका सबै वस्तु महँगिन्छ र त्यसको मार उपभोक्तामा पर्छ। आयातको तुलनामा निर्यातको अंश अत्यन्तै न्यून रहेकोले त्यसको फाइदाभन्दा बढी वेफाइदा मुलुकले भोगिरहेको छ। डलर बलियो भएपनि नेपालको केन्द्रीय बैंकले किन हस्तक्षेप गर्न सक्दैन?
 
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन आयात–निर्यातको परिमाणले भन्दा भारतसँगको स्थिर सटही दरका कारण भएको हो। यो परिस्थितिबाट मुक्ति पाउन भारतीय मुद्रासँगको सटही दर परिवर्तन गर्नुपर्ने हुन्छ।
 
कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण भारु कमजोर हुँदै गएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले पछिल्लो विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमा समस्या देखिन थालेको संकेत गरेको थियो, त्यसको असर पनि मुद्रा बजारमा परेको विश्लेषण गरिएको छ।
 
पछिल्लो समय भारतमा आयात फराकिलो हुँदै गएको छ। आयातका लागि उसँग भएको विदेशी मुद्राको भण्डारणमा पनि कमी आएको छ। यसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको विश्लेषण सञ्चार माध्यमहरुले गरेका छन्। यसैसन्दर्भमा कतिपय विदेशी लगानीकर्ताले आफ्नो पैसा झिकेर फिर्ता लैजान थालेको समाचार सार्वजनिक भइरहेका छन्।
 
विनिमय दर पुनरावलोकन गर्दा नेपालका लागि कतिको लाभदायक छ/छैन कसैले अध्ययन भने गरेको छैन। 
 
६ बर्षअघि साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) ले सार्वजनिक गरेको अध्ययनमा औसत विनिमय दर २ प्रतिशतले अधिमूल्यन भएको उल्लेख गरेको थियो। गत बर्ष राष्ट्रिय योजना आयोगले भारतीय मुद्रासँगको विनिमय दर पुनरावलोकनबारे अध्ययन गर्न सुरु गरेको थियो।
 
तत्कालिन उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले रणनीतिक हिसाबले पनि विनिमय दर पुनरावलोकन गर्नका लागि अध्ययन थालेको बताएका थिए। उनी बाहिरिएसँगै पुनरावलोकन मुद्दा पनि सेलाएको छ।
 
'अहिले जे छ त्यसलाई स्वीकार्नुबाहेक हामीसँग अर्को विकल्प छैन,' नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर बाहिरिएका एक पूर्व डेपुटी गभर्नरले अनौपचारिक गफगाफमा भने,  'जोखिम धेरै हुने भएकाले यसबारेमा छलफल गर्न सरकारलाई पनि गाह्रो छ।' उनका अनुसार, विनिमय दरको पुनरावलोकन सुरु गर्दा भारतीय मुद्रा हराउने/लुकाउने क्रम बढ्न सक्छ। उच्च तहको राजनीतिक सुझबुझविना अध्ययन गर्नु बेकार हुन जान्छ। 
 
नेपाली मुद्राको क्रयशक्ति घट्दा आयात घट्ने र निर्यात बढ्ने सम्भावना हुन्छ। अहिले नेपालको आयात ब्यापार निर्यातभन्दा १४ गुणा बढी छ। बढ्दो डलर भाउले निर्यातलाई सहयोग गर्छ। तर आयातमूखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा मुलुकलाई निकै समस्या पर्छ। 
 
'अहिले निर्यातभन्दा आयात बढी भएकाले तत्काल विनिमय दर परिवर्तन गर्दा नेपाललाई घाटा हुन्छ,' राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले कुराकानीक्रममा भनेका थिए, 'छोटो समयमा डलर माथि गएका बेला बिनिमय दर पुनरावलोकनका बिषयहरु उठ्न सक्छन्। तर अहिले विनियम दर परिवर्तन गर्नतिर लागियो भने समस्या अझ ठूलो हुन्छ।'
 
नेपाली मुद्रा बलियो बनाउन भारु एक बराबर १ रुपैयाँ ५०/५५ पैसा गर्न सकिए पनि यसले नेपाललाई फाइदा नगर्ने मानन्धरको तर्क थियो। 'अहिल्यै नेपाली वस्तु तथा सेवाले भारतीयसँग प्रतिस्पर्धा गर्न सकेको छैन,' छलफलमा उनले भनेका थिए, 'नेपाली रुपैयाँ महँगो पारियो भने हामी त्यसलाई थेग्न सक्दैनौं।' 
 
वैशाखसम्मको तथ्यांक अनुसार, ९ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ। निर्यात ब्यापार ६६ खर्ब ६५ करोड रुपैयाँ पुगेको छ। 
 
मीनवहादुर श्रेष्ठले राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख हुँदा पनि विनिमय दरका बारेमा अनुसन्धान गरेका थिए। उनले योजना आयोगमा आएपछि त्यसलाई थप अगाडि बढाउन खोजेका थिए। त्यसयता सरकारी तहबाट कुनै पनि खालको अध्ययन अनुसन्धान भएको छैन।
 
अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा डलर ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। त्यसबेला विनिमय दर पुनरावलोकनको मुद्दा उठेको थियो। मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रममा यस बारेमा प्रश्न उठाउँदा तत्कालिन गभर्नर खतिवडाले- तीनवटा शर्त पूरा नभइ विनिमय दर पुनरावलोकनको बिषय उठाउन जायज नहुने तर्क दिएका थिए।
 
उनले स्थिर सरकार, धनात्मक शोधनान्तर र उच्च आर्थिक वृद्धि दर हासिल भएका बेला मात्र पुनरावलोकन गर्न सकिने तर्क गरेका थिए। उनले भनेजस्तै अहिले स्थिर सरकार र उच्च आर्थिक बृद्धि दर हासिल भएको छ। तर आयात उच्च भएका कारण शोधनान्तर ऋणात्मक छ। 
 
खतिवडाले अन्तर्राष्ट्रिय सञ्चार माध्यम 'फाइनान्सियल टाइम्स' लाई अन्तर्वार्ता दिँदै भारुसँगको विनिमय दर पुनरावलोकनको आवश्यकता औंल्याएका थिए। 
 
विदेशी र स्वदेशी संस्थाहरूले पनि यसबारे विभिन्न अध्ययन प्रतिवेदन निकालेका छन्। ६ वर्षअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अध्ययनले नेपाली मुद्रा भारतीयभन्दा १५ प्रतिशतले महँगो भएको तथ्य सार्वजनिक गरेको थियो। नेपाली राजनीति स्थिर नभएकाले विनिमय दर तत्काल परिवर्तन गर्न नहुने सुझाव दिँदै कोषले राजनीतिक स्थिरतापछि भने विनिमय दर परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।
 
नेपालले २०४९ फागुन १ गतेबाट भारु एक बराबर नेपाली एक रुपैयाँ ६० पैसाको स्थिर विनिमय दर कायम राखेको छ। त्यसअघि पनि अर्थतन्त्रको वस्तुस्थितिअनुसार विनिमय दर सातपटक परिवर्तन भएको थियो। पहिलोपटक विनिमय दर तोक्दा २०१७ वैशाख १ मा भारू १ बराबर नेपाली १ रुपैयाँ ६० पैसा नै तोकिएको थियो। 
 
सन् १९६० 
नेपालले भारतीय मुद्रासँग पहिलोपटक एक रुपैयाँ बराबर एक रुपैयाँ ६० पैसा हुने गरी विनिमय दर निर्धारण गरेको थियो। त्यसअघि आवश्यकताअनुसार नेपाली र भारतीय मुद्राको मूल्य निर्धारण हुन्थ्यो। तत्काल आवश्यक पर्नेले बढी मूल्य हालेर भारू किन्ने गर्थे। एक भारू बराबर नेपाली यति नै भन्ने तोकिएको थिएन। 
 
सन् १९६६–१९६७
भारतमा सुख्खा परेर अर्थतन्त्र समस्यामा परेपछि भारतीय मुद्राको अवमूल्यन भयो। यसले डलरको मूल्य बढ्यो। भारू कमजोर भयो भन्दैमा हामी किन पछि लाग्ने भन्दै नेपालले २०२३ जेठ २४ मा विनिमय दरलाई एक भारू बराबर १.०१ रुपैयाँमा कायम गर्यो। यसले नेपालमा भारतीय सामानको मूल्य सस्तो भयो। नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकेन। भारतीय सामानको आयात बढेर केन्द्रीय बैंकको ढुकुटीमा रहेको भारू रित्तिने अवस्था आयो। पहिलो वर्ष भारू मौज्दात ५६ प्रतिशत र दोस्रो वर्ष ३७ प्रतिशत घट्यो। भारू सकिने अवस्था आएपछि २०२४ मंसिर २२ मा राष्ट्र बैंकले एक भारू बराबर नेपाली १ रुपैयाँ ३५ पैसा विनिमय दर तोक्यो। 
 
सन् १९७२–८५ 
यो अवधिमा विनिमय दर सामान्य परितर्वन भए। त्यसबेला निर्यातकर्तालाई दिइने बोनस दर समायोजन गर्न विनिमय दर परिवर्तन भएको थियो। त्यसपछि आयात र निर्यातको अनुपात मिलाउन पनि विनिमय दर परिवर्तन भएको थियो। समायोजनका क्रममा भारू १ बराबर नेपाली १ रुपैयाँ ३५ पैसा, १ रुपैयाँ ३९ पैसा हुँदै १ रुपैयाँ ४२ पैसासम्म पुग्यो। 
 
सन् १९८६
नेपालको व्यापार घाटा बढेको र लगातार तीन वर्ष नेपालको शोधनान्तर घाटा बढेपछि सरकारले भारू १ बराबर नेपाली १ रुपैयाँ ७० पैसा बनायो। २०४२ मंसिर १६ गते १ रुपैयाँ ७० पैसा पुर्याोइएको नेपाली मुद्राको विनिमय दर १ रुपैयाँ ६८ पैसा हुँदै १ रुपैयाँ ६५ पैसामा समायोजन गरियो। 
 
सन् १९९३
एक भारू बराबर १ रुपैयाँ ६५ पैसा नेपालीको विनिमय दरलाई चालु खाता पूर्ण परिवर्त्य मुद्रामा परिणत गरिएपछि विनिमय दर फेरि १ रुपैयाँ ६० पैसामा समायोजन गरिएको हो। त्यसयता विनिमय दर परिवर्तन गरिएको छैन।