BIZMANDU
www.bizmandu.com

हवाइ रुट तय गर्न नेपाल र भारतका अधिकारीबीच छलफल सकारात्मक,कहाँ कहाँ थपिएला रुट

२०७५ जेठ ३१

Tata
GBIME
Nepal Life

काठमाडौँ। नयाँ हवाई रुट तय गर्नका लागि  नेपाल  र भारतका उच्च अधिकारीहरुबीच राजधानीमा आजदेखि  छलफल सुरु भएको छ।

नेपाल उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा भारत उड्डयन प्राधिकरणका उच्च पदाधिकारीबीच छलफल चलिरहेको प्राधिकरणले जनाएको छ।

चार वर्ष अघि भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नेपाल भारतबीच हवाई रुट थप्ने योजना बनेको थियो। नेपाल-भारत हवाई प्रवेशका लागि हालसम्म एकमात्र स्थान सिमरा  रहेको छ।

नेपालले विराटनगर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरलगायतका क्षेत्रमा समेत हवाई रुटको  माग गरेको छ।

'आज वैठकमा प्रारम्भिक छलफल गरिएको छ। पश्चिम र पूर्व क्षेत्रमा पनि रुट परमिट दियो भने गौतमबुद्ध, पोखरा, नेपालगञ्जबाट उडान गर्न सजिलो हुने कुरा हामीले राखेका छौँ। माहोल सकारात्मक छ। अहिले सहमति भएर रुट परमिट पाइहाल्ने अवस्था छैन। यसपछि थप प्रक्रिया बाँकी नै रहनेछ।' प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने।

भारतीय एयर नेभिगेसन प्रमुख  लगायतको सहभागिता रहेको वैठकमा नेपालको तर्फबाट नागरिक उड्डयन प्राधिकरणका पदाधिकरी तथा मन्त्रालयका अधिकारीहरु सहभागी छन्। वार्ता  भोलिसम्म चल्ने छ।