BIZMANDU
www.bizmandu.com

राजस्व सचिवको गर्जन्, ‘वित्तीय संस्था र कर कार्यालयमा दुईथरी हिसाब देखाउने दिन गए’

२०७५ जेठ २८

राजस्व सचिवको गर्जन्, ‘वित्तीय संस्था र कर कार्यालयमा दुईथरी हिसाब देखाउने दिन गए’
राजस्व सचिवको गर्जन्, ‘वित्तीय संस्था र कर कार्यालयमा दुईथरी हिसाब देखाउने दिन गए’



काठमाडौं। व्यवसायिक प्रतिष्ठानले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा राम्रो वित्तीय विवरण देखाउने तर कर कार्यालयमा भने आफू नोक्सानमा रहेको वित्तीय विवरण (वासलात र नाफा नोक्सान हिसाब) पेश गरी राजस्व छली गर्ने गरेको पाइएपछि अर्थ मन्त्रालयले त्यसमाथि कडा निगरानी थाल्ने भएको छ। 
 
व्यवसायिक प्रतिष्ठानले कर कार्यालयमा खराब वित्तीय अवस्था देखाउने र वित्तीय संस्थाबाट ऋण लिँदा भने सबल अवस्था प्रस्तुत गर्ने गरेको भेटिएको भन्दै त्यसमाथि कडाई थाल्न लागिएको हो। 
 
व्यवसायीले ऋण लिएको बैंक तथा वित्तीय संस्थाका सूचना नेपाल राष्ट्र बैंकमार्फत आन्तरिक राजस्व विभागलाई उपलब्ध गराउने र त्यसैबाट कर छली नियन्त्रण गर्ने अर्थ मन्त्रालयको योजना छ। 
 
बैंकबाट धेरै ऋण लिनका लागि अधिक सम्पत्ति र नाफाको विवरण तयार पार्ने व्यवसायीले राजस्व तिर्ने बेलामा भने नोक्सानको विवरण पेश गर्ने गरेको भेटिएको अर्थ मन्त्रालयका अधिकारीहरुले नै बताउने गरेका छन्। 
 
'बैंकबाट ऋण लिने बेलामा रिक्वाएरमेन्ट पुरा गर्न कम्पनी सबल देखाउने तर कर तिर्ने बेलामा अर्कै हिसाब निकालेर नोक्सान देखाउने प्रवृत्ति भेटिएको छ,' आन्तरिक राजस्व विभागका एक अधिकारीले भने, 'त्यसलाई नियन्त्रण गर्न सूचना आदान प्रदान गर्न खोजिएको हो।' 
 
आन्तरिक राजस्व विभाग र नेपाल राष्ट्र बैंकको प्रणाली आवद्धतामार्फत ऋणीको विवरण आदान प्रदान गर्ने तयारी भइरहेको छ। यसका लागि नीतिगत व्यवस्था भइसकेको र छिट्टै राष्ट्र बैंकसँग समझदारी गरेर अघि बढ्ने अर्थका ती अधिकारीले बताए। 
 
'व्यवसायिक प्रतिष्ठानले दुईथरी वित्तीय विवरण बनाउनै पाइँदैन। यदि कसैले त्यसको गरेको रहेछ भने अब सरकारले छाड्दैन। तपाईंहरु पनि तयार रहनुस्,' नेपाल उद्योग वाणिज्य महासंघले गरेको अन्तर्क्रिया कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुंगानाले भने। 
 
अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पनि वित्तीय पारदर्शीताका लागि व्यवसायीहरुकले कर प्रशासनमा पेश गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरणको सूचना आदान प्रदान गर्ने स्वचालित प्रणालीको विकास गर्ने घोषणा गरेका थिए। 
 
फरक फरक वित्तीय विवरण देखाइ राजस्व छली गर्ने गरेको आशंकमा सरकारले व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाउन नयाँ उपाय अवलम्बन गरेको हो। बजेटलगत्तै अर्थमन्त्री खतिवडाले फरक फरक वित्तीय विवरण पेश गर्नु पनि वित्तीय अपराध नै भएको भन्दै त्यसमाथि कडाई गर्ने बताएका थिए।
 
'फरक फरक वित्तीय विवरण तयार गरी राजस्व छल्नु वित्तीय अपराध हो,' खतिवडाले भनेका थिए, 'सरकारले त्यसलाई कडा निगरानीमा राखेर कारबाही गर्छ।'

Tata
GBIME
Nepal Life