BIZMANDU
www.bizmandu.com

विराटनगर विमानस्थल थप डेढ किलोमिटर विस्तार गर्न प्रक्रिया सुरु, अन्तर्राष्ट्रिय स्तरको हुने

२०७५ जेठ २८

विराटनगर विमानस्थल थप डेढ किलोमिटर विस्तार गर्न प्रक्रिया सुरु, अन्तर्राष्ट्रिय स्तरको हुने
विराटनगर विमानस्थल थप डेढ किलोमिटर विस्तार गर्न प्रक्रिया सुरु, अन्तर्राष्ट्रिय स्तरको हुने

Tata
GBIME
Nepal Life

विराटनगर। विराटनगर विमानस्थलको धावनमार्गलाई पश्चिमतर्फ १ हजार ५ सय मिटर विस्तार गर्न प्रदेश सरकारले प्रक्रिया अघि बढाएको छ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पश्चिमतर्फ १ हजार ५ सय मिटर धावनमार्ग विस्तार गर्न सङ्घीय सरकारसित पत्राचार भएको जानकारी दिएका हुन्।

 
विमानस्थलको धावनमार्ग हाल १ हजार ५ सय मिटरको छ । धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने हो भने यसलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन गर्न सकिने विशेषज्ञको राय रहेको राईले बताए। उनका अनुसार धावनमार्गलाई थप १ हजार ५ सय मिटर विस्तार गर्न ६० बिघा जमिन अधिग्रहण गर्नुपर्छ। यसबाहेक भौतिक संरचनाका लागि १० बिघा जमिन छुट्टै अधिग्रहण गर्नु आवश्यक छ।
 
धावनमार्ग विस्तार गर्न सङ्घीय सरकार पनि सहमत भएको जानकारी दिँदै मुख्यमन्त्रीले प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई समावेश गरिएको बताए। पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने राष्ट्रिय कार्यक्रम छ, यो लक्ष्य पूरा गर्न प्रदेश नम्बर १ ले ५ लाख पर्यटक भित्र्याउने छ,’राईले भने, ‘यसका लागि विराटनगर विमानस्थलको स्तरोन्नति र विस्तार गरेर यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउनु आवश्यक छ।’
 
स्तरोन्नतिका लागि आवश्यक पर्ने ७० बिघा जमिनको मुआबजा उपलब्ध गराउन सङ्घीय सरकार सैद्धान्तिक रूपमा सहमत रहेको उनको दाबी थियो। विराटनगर विमानस्थलको रन वे हाल एकोहोरो प्रकारको मात्र रहेको र यसलाई दोहोरो रन वे बनाउन पनि थप जग्गा अधिग्रहण गर्नुपर्ने उनले बताए। दोहोरो रन वेमा विस्तार गरिएपछि हवाई ट्राफिक कम हुने र बढी उडान भर्न सकिने राय विशेषज्ञले दिएको उनले जानकारी दिए
 
विराटनगर–दिल्ली उडान सम्भव
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले विराटनगरबाट हरेक दिन भारतको नयाँ दिल्लीसित हवाई सम्पर्क कायम गर्न सकिने दाबी गर्दै विमानस्थल अविलम्ब विस्तार गर्नु पर्ने माग गरे। उद्यमी मुन्दडाले विमानस्थल तयार भए विराटनगर-दिल्ली उडान अहिले नै सम्भव भएको बताए।
 
उनका अनुसार विराटनगरबाट मात्र दैनिक कम्तीमा ५० यात्रु दिल्लीका लागि जहाज चढ्न पश्चिम बङ्गालको बागडोगरा विमानस्थल जाने गर्दछन्। पूर्वको नाका काँकडभिट्टाबाट बागडोगरा विमानस्थल २० किलोमिटर पूर्वमा अवस्थित छ।
 
वरिष्ठ उपाध्यक्ष मुन्दडाले विराटनगरबाट नयाँ दिल्लीका लागि दैनिक उडान भर्ने हो भने प्रदेश नम्बर २ का यात्रु पनि लाभान्वित हुने उल्लेख गरे। प्रदेश नम्बर २ का सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका यात्रुलाई जहाजमा विराटनगर-दिल्ली यात्रा गर्न सहज हुने उनको राय छ।
 
यसबाहेक भारतको सीमावर्ती क्षेत्र कटिहार, फारबिसगञ्ज, किसनगञ्ज, पूर्णिया, अररिया, भागलपुर, दरभङ्गा र जोगबनीका यात्रुलाई पनि सजिलो पर्ने मुन्दडाले बताए।
 
पूर्वतर्फ अधिग्रहण जारी
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले तत्काल विमानस्थलको पूर्वतर्फको साढे ४ बिघा जमिनको अधिग्रहणको प्रक्रिया सुरु गरिएको जानकारी दिए। आचार्यका अनुसार धावनमार्गको थोरै विस्तार र ट्याक्सी पार्किङको ठाउँका लागि थप साढे चार बिघा जमिन अधिग्रहण गरिएको हो।
 
अधिग्रहणका लागि सङ्घीय सरकारबाट ४० करोड रुपैयाँ प्राप्त भएको छ। थप २९ करोड अपुग हुने उनले बताए। थप रकमका लागि सङ्घीय सरकारसित माग गरिएको र छिटै निकासा हुने आश्वासन प्राप्त भएको आचार्यको भनाइ थियो।
 
विमानस्थलभित्र थप दुई वटा लिङ्क ट्याक्सी वे र ६ वटा जहाज पार्किङ्ग स्थल निर्माण गरिसकेपछि मात्र अन्तरदेशीय उडान सुरु गर्न सकिने छ। तत्काल १ हजार ५ सय मिटरको रन वे भएको यस विमानस्थलमा लिंक ट्याक्सी वे एक र ३ वटा जहाज पार्किङ् गर्ने स्थल रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
 
विराटनगर विमानस्थल अहिलेको ठाउँमा २०२५ सालदेखि सञ्चालनमा आएको हो। विमानस्थल २०२५ अघि अहिलेको स्नातकोत्तर क्याम्पस भएको स्थान पुरानो हवाईफिल्डमा सञ्चालित थियो। विमानस्थलबाट हाल दैनिक १५ उडान भइरहेको र १ हजार ६ सयले सेवा पाइरहेको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ।