Bizmandu
www.bizmandu.com

एक बैंकर जसले मुक्तिनाथ विकास बैंकलाई गाउँबाट शहर भित्र्याए, अनि फेरि गाउँतिरै आफ्नो बाटो मोडे

एक बैंकर जसले मुक्तिनाथ विकास बैंकलाई गाउँबाट शहर भित्र्याए, अनि फेरि गाउँतिरै आफ्नो बाटो मोडे



 
काठमाडौं। मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएपछि हरेक दिनजसो भरत ढकाललाई उनका साथीभाइहरुले सोध्छन्- दुख लागेको होला है बैंक छाड्नु परेकोमा?
 
प्रश्न अस्वाभाविक होइन। स्याङ्जाको एउटा गाउँबाट सुरु गरेको बैंकलाई १० जिल्ले हुँदै राजधानीमा कार्यालय राखेर राष्ट्रियस्तरको बनाउँदासम्म ढकालले थुप्रै चुनौती सामाना गर्नुपर्यो र अन्तमा त्यसलाई चिर्दै सर्बोत्कृष्टमध्येको बैंक पनि उनैले बनाए।
गाउँगाउँमा गएर सर्वसाधारणलाई बैंकिङबारे ज्ञान बाँडे। हिलोमैलो नभनिकन काम गरे। तीन जिल्लामा काम गरिरहेको बैंकलाई स्याङ्जाबाट पोखरा झारे। पोखराबाट काठमाडौं ल्याए। 
 
काठमाडौं आएको केही महिनामै बैंकको नेतृत्व छाड्दै गर्दा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्षसमेत भइसकेका ढकालले अबको ‘अर्कै बाटो’ तय गरिसकेका थिए। र, त्यही बाटोमा हिँड्नका लागि पनि उनलाई बैंक छाड्न सहज भयो, न की साथीभाइले सोधेजस्तो पीडा।
 
*** 
 
२०५८ सालमा माओवादीको युद्धको दवदवा थियो। स्याङ्जामा त माओवादीले ठूलै वितन्डा पनि मच्चाए। त्यसपछि त्यहाँ रहेका सरकारी बैंक पनि गाउँ छाडेर सुरक्षा खोज्दै शहर पस्न थाले।
 
बैंकिङ कारोबार ठप्प भएपछि स्थानीय ब्यवसायी विस्थापित भए। अलिक हुनेखानेहरु पनि शहर पस्न थाले। कोही सदरमुकामतिर लागे त कोही पोखरा, काठमाडौंसम्मै आए। 
 
ढकाल २०५८ सालताका सहकारी चलाउँथे। उनी केही गैरसरकारी संस्थाहरुमा पनि काम गर्थे। विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसमेत थिए। 
 
ब्यवसायीदेखि केही गर्छु भन्ने सर्वसाधारणसम्मले जिल्ला छाड्न थालेपछि ढकाललाई लाग्यो- बैंक नभएर मान्छेहरु बाहिरिरहेका छन्। 


 
'एउटा बैंक खोल्नु पर्यो भन्ने सोचाइ आयो। राष्ट्र बैंक गएर बुझेँ, विकास बैंक, फाइनान्सकालागि लाइसेन्स खुला थियो,' ढकालले बिजमाण्डूसँग भने, 'तीन जिल्ले बैंक खोल्ने र आफैँ सिइओ हुने योजनाअनुसार काम गर्न थालेँ।'
 
रहर मात्रै गरेर हुँदैन थियो। पैसा पनि चाहिन्थ्यो। उनले साथीभाइसँग बैंक खोल्नेबारे सल्लाह गरे। माओवादीले वितण्डा मच्चाइरहेका बेला बैंक खोल्नु जोखिमपूर्ण हुन सक्थ्यो। कसैले खोलौं न त भनेर उत्साहित भए भने कोहीले अहिले हुँदैन पनि भने। 
 
'मलाई त काम गर्नुपर्ने थियो। राष्ट्र बैंकले पूँजी बढाउँदैछ भन्ने सुचना आयो। हतारहतारमा साथीहरुलाई सहमत गराएँ' उनले सम्झिए, '२०६२ असार मसान्तमा राष्ट्र बैंकमा निवेदन दियौं। बैंक आउन डेढ बर्ष लाग्यो।' 
 
सुरुमा ३० जना लगानीकर्ताबाट एक करोड ३० लाख रुपैयाँ जुटाएर ढकालको समूहले बैंक खोल्यो। बैंकको उद्घाटन गर्न तत्कालिन अर्थमन्त्री डा. रामशरण महत स्याङ्जा पुगेका थिए।
 
ढकालमा उत्साह थियो। तर उनको उत्साह धेरैबेर टिकेन। उनले उद्घाटनकालागि १० हजार कार्डहरु बाँडेका थिए। यसबाट सयौं खाता खोलिन्छन् भन्ने उनको अनुमान थियो। जम्मा २२ वटा मात्र खाता खुलेपछि उनी निरास बने। 
 
'जनता बैंकमा होइन बैंक जनतामा जानुपर्छ' भन्ने चेत उनलाई थियो। उनी सम्हालिए। 


 
बैंक भनेको टाइसुट लाएका कर्मचारी कार्पेट बिच्छ्याएको कोठामा बस्छन् भन्ने थियो। सिसाको ढोका। ढोका बाहिर गार्ड। यही छविका कारण सर्वसाधारणलाई बैंकमा तान्न गाह्रो भएको हो भन्ने अनुमान लगाउन ढकाललाई गाह्रो भएन। 
 
'त्यसपछि बचत गर्नुस्, कर्जा लिनुस् भनेर सडक पुगेका गाउँमा जान थाल्यौं। त्यहीबेलादेखि हामीले वित्तीय साक्षरता सुरु गरेका हौं,' उनले पुराना दिन सम्झिए, 'झलक सुवेदी भन्ने स्टाफको बाइक पछाडि बसेर गाउँगाउँ पुगियो। फर्किँदा धुलैधुलो भएर फर्किन्थ्यौं।'
 
बैंकिङ गरेको अनुभव थिएन ढकालसँग। सिधै प्रमुख कार्यकारी अधिकृत भएका थिए। उनी अन्य बैंकको कार्यालय धाउन थाले। उनीहरुले निकाल्ने प्रोडक्ट पेपर पढ्न थाले।  
 
'उनीहरुको पेपर हेर्दा धनीलाई झन् झन् धनी बनाउने खालको थियो,' उनले भने, 'ग्रामीण खालको प्रोडक्ट थिएन। मैले गाउँलेका लागि भनेर प्रोडक्टहरु तयार पारें। गाउँगाउँमा शाखा खोलें। स्याङ्जामा मात्र हाम्रो १० वटा शाखा छ।' आधुनिक बैंकिङ त भइहाल्यो। लघुवित्त सेवा दिए। सुरुसुरुमा महिलालाई लघुवित्त सेवा दिएकोमा माग बढेपछि पुरुषहरु पनि सहभागी हुन थाले।
 
त्यसपछि मुक्तिनाथ विकास बैंकको नेतृत्वका रुपमा भरत ढकालले पछाडि फर्कनु परेन। बैंकको माग जताततै बढेर गयो। 
 
गाउँलेहरु आएर शाखा खोल्न माग गर्न थाले। तर सुरक्षा र पूर्वाधारका कारण बैंकिङ शाखा पुर्याउन गाह्रो थियो। ढकालले आइडिया लगाए। गाउँले भेला गराए। पैसा सबै बैंकमा राख्नुपर्छ। ऋण कसैलाई तिरो तिर्नु परे बैंकबाटै तिर्नुपर्छ। र, कतै पठाउनु परे बैंकबाटै पठाउनुपर्छ भनेर ढकालले सर्त राखे।
 
गाउँलेहरुलाई पनि त्यस्तै त चाहिएको थियो। पर्रर ताली बजाएर ढकाललाई समर्थन गरे।
 
'त्यहीँको पैसा त्यहीँ परिचालन हुने भएपछि हामीले पहिलो पटक ग्रामीण बैंकिङ सुरु गर्यौं' उनले सम्झिए, 'यो मोडलले हामीलाई गाउँगाउँमा सेवा पुर्याउन प्रोत्साहित गर्यो।'
 
गाउँ र सहर दुबैतिर समानान्तर सेवा पुर्याउन थालेपछि बैंकको ब्यापार बृद्धि हुन थाल्यो। कहिले ब्यापार बढाउन त कहिले नियमनकारी निकायको निर्देशनमा बैंकले ११ बर्षमा ८ पटक हकप्रद शेयर जारी गरेर पूँजी बृद्धि गरिसकेको छ। 
 
बैंक खोलेदेखि ऋण, निक्षेप, पूँजी, जगेडा कोष निरन्तर बढिरहेको छ। 'इन्डिकेटरहरुको बृद्धि दर हेर्ने हो भने हामी सायदै दोस्रो भयौं होला, सँधै पहिलो भइरहेका छौं जस्तो लाग्छ' उनले सुनाए।


 
गाउँमा ग्रामीण बैंकिङ र शहरमा आधुनिङ बैंकिङ विस्तार हुँदै गयो। स्याङ्जा, तनहुँ र कास्की तीन जिल्लालाई आधार बनाएर खोलिएको बैंक पोखरासम्म आउँदा १० जिल्ला कार्यक्षेत्रको भयो। 
 
'ब्यापार बढेपछि पूँजी बढाउनु पर्ने। पूँजी जुटाउनु हाम्रो लागि एकदमै चुनौतीपूर्ण रह्यो' ढकालले सुनाए, 'सामान्य मान्छेहरुले खोलेको बैंक भएकाले पूँजी जुटाउन सहज थिएन। तैपनि सबैलाई पैसा लगाउन कन्भिन्स गरेँ। मैले नहालिकन अरुले नहाल्ने भयो।' 
 
अहिले बैंक ठूलो भइसकेको छ। बैंकसँगै ढकालको आर्थिक आय र नाम पनि बढिरहेको छ। यस्तो बेलामा बैंक छाड्दा पीडा भयो होला नि? उनका साथीहरुले झैँ बिजमाण्डूले पनि प्रश्न राख्यो।
 
एक करोड ३० लाख रुपैयाँबाट सुरु गरेको बैंक जगेडा र पूँजी कोषका हिसावले विकास बैंकहरुमध्ये सबैभन्दा ठूलो भइसकेको छ। 'तीन जिल्ले बैंक देशकै सबैभन्दा ठूलो विकास बैंक बनाएर छाड्दा मलाई त गौरव लागेको छ' उनले सुनाए। 
 
ऋण लगानीदेखि निक्षेप संकलनसम्म आफूहरु नम्बर एक रहेको सुनाउँदै उनले गाउँदेखि शहरसम्म सञ्चालन र विस्तार गरेर बाहिरिनुलाई आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण उपलब्धि ठान्छन् उनी। 'अनि मलाई किन पीडा हुने?' उनले भने, 'मलाई त गौरव लागेको छ।' 
 
***
 
मुक्तिनाथ विकास बैंकले सुरु गरेको लघुबैंकिङ सम्बन्धी एउटा सम्मेलन चलिरहेको थियो। त्यहाँ आएका किसानहरुले ब्याज महँगो भयो र उत्पादन गरेको बस्तुको बजार भएन भन्ने गुनासो गरे। 
 
त्यसको समाधानकालागि केही न केही त गर्नै पर्छ। ढकालले आइडिया लगाए मुक्तिनाथ एग्रिकल्चर रिसर्च कम्पनी खोल्ने। 
 
राष्ट्र बैंकका त्यसबेलाका तत्कालिन कार्यकारी निर्देशक कन्भिन्स पनि भए ढकालको आइडियामा। तर पछि लाइसेन्स पाइएन। 
 
कम्पनी खोलेर केही न केही योगदान गर्नै पर्छ भन्ने त्यसबेलाको सोच ढकालबाट मरिसकेको थिएन। ऋण मात्र दिएर हुँदैन। ऋणलाई सही ठाउँमा प्रयोग गर्नु पर्छ। उत्पादनमूलक क्षेत्रमा जानु पर्छ भन्ने हुटहुटी थियो। 
 
बैंक छाडेपछि ढकाल पुरानो योजनालाई मुर्तरुप दिन खटिएका छन्। मुक्तिनाथ विकास बैंक छाडे पनि बैंकिङभन्दा धेरै फरक जान खोजिरहेका छैनन्। बैंकिङ गर्दाको अनुभव र राज्यले लिएको नीतिलाई सघाउन ढकालले नयाँ कम्पनीमा हामफालिसकेका छन्।
 
'हामीले जहिले पनि कृषिलाई एक नम्बरमा राख्यौं। कृषि सहकारीलाई प्राथमिकतामा राखेर लगानी गर्यौं,' उनले भने, 'बजारका सहकारीले बैंकिङ कारोबार गरिरहेका छन्। गाउँका सहकारीसँग ब्यवस्थापन क्षमता छैन र पूँजी पनि छैन। र उनीहरु निस्कृय छन्। त्यो क्षेत्रमा काम गर्ने गरी अब म अगाडि बढ्छु।'  


 
अब ढकालले ग्रामीण क्षेत्रका सहकारी विस्तार गर्दै अगाडि बढ्ने योजना बनाएका छन्। उनीहरुको ब्यवस्थापनमा भूमिका खेल्दिने। तालिम दिने। हिसाबकिताब सिकाउने। सहकारीलाई चाहिने पैसा उपलब्ध गराइदिने। पैसा परिचालन गरेर उत्पादन बढाउने। ढकालले यसका लागि नयाँ कम्पनी मुक्तिनाथ एग्रो लिमिटेड खोलिसकेका छन्। अब असारबाट कम्पनीले प्रारम्भिका काम पनि थालिसक्छ। 
 
मुक्तिनाथ एग्रो लिमिटेडले मल्टिपल काम गर्ने उनले बताए। 'उत्पादनमा फोकस हुने भएकाले गाउँगाउँमा कृषि सहकारी स्थापना र विस्तार गर्छौं,' उनले भने, 'त्यहाँ उत्पादित सामान बेच्न मुक्तिनाथ मार्ट निर्माण हुन्छ। यसले उत्पादन त बढाउँछ नै बजार पनि प्रबर्द्धन गर्छ।'
 
बैंक र सहकारीलाई जोड्ने काम   कम्पनीले गर्ने बताउँदै उनले उत्पादन गर्ने हातदेखि उपभोग गर्ने मुखसम्मलाई सहजीकरण गर्ने काम कम्पनीले गर्ने सुनाए। 
 
'किसानले सस्तोमा बेचिरहेका छन्। उपभोक्ताले महँगो मूल्य तिरिरहेका छन्,' उनले भने, 'यो चक्रको बीचमा अब कम्पनी हुन्छ। सुरुमा नमुनाका रुपमा गर्छौं। सोसल बिजनेसका रुपमा।'
 
सुरुवात चार नम्बर प्रदेशबाट काम थाल्न लागेका ढकालले योजना अनुसार काम भएमा विस्तार गर्दै लैजाने बताए। 'किसानले  पनि सही मूल्य पाउँछ र उपभोक्ताले पनि महँगो तिर्नु पर्दैन' उनले भने, 'बैंकिङभित्रैको एउटा क्षेत्रमा बसेर काम गर्ने हो। मलाई बैंक छोड्दा पीडा भएको छैन। नयाँ काम गर्ने अवसर जुर्दै गर्दा जिम्मेवारी बढेको अनुभव भइरहेको छ।'