BIZMANDU
www.bizmandu.com

संघिय संरचनामा योजना आयोगको भूमिका कस्तो हुनु पर्छ? यस्ता क्षेत्र बनाउनु पर्ने कार्यदिशा


संघिय संरचनामा योजना आयोगको भूमिका कस्तो हुनु पर्छ? यस्ता क्षेत्र बनाउनु पर्ने कार्यदिशा
संघिय संरचनामा योजना आयोगको भूमिका कस्तो हुनु पर्छ? यस्ता क्षेत्र बनाउनु पर्ने कार्यदिशा


संघीय निर्वाचनपछिको परिवर्तित परिप्रेक्षमा राष्ट्रिय योजना आयोगलाई परिष्कृत गर्दै मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७४ जारी गरेको छ। अनुसन्धान वा विश्लेषण गरिएका सुचनाका आधारमा सरकारलाई सल्लाह र सहयोग प्रदान गर्ने विशिष्टिकृत निकायको रुपमा राष्ट्रिय योजना आयोगलाई विकास गर्ने व्यहोरा आदेशको प्रस्तावनामा उल्लेख छ। 
 
आयोगको अध्यक्षता प्रधानमन्त्रीले गर्ने र राज्यमन्त्री सरह एक जना उपाध्यक्ष र सहायक मन्त्री सरहको कम्तिमा एक महिलासहित बढिमा ४ जना सदस्य नियुक्त गर्ने व्यवस्था गठन तथा कार्यसञ्चालन आदेश २०७४ ले गरेको छ। 
 
सदस्यहरुको नियुक्ति गर्दा आर्थिक विकास, भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा, प्रकृतिक स्रोत तथा मानव स्रोत व्यावस्थापन  र सुशासन तथा व्यवस्थापन क्षेत्रको प्रतिनिधित्व हुनेगरी विज्ञता र समावेशी आधारमा गरिने आदेशमा उल्लेख छ। 


 
योजना आयोगको नयाँ गठन आदेशमा आयोगको काम कर्तव्य र अधिकार पनि पहिलेको भन्दा अलि फरक छ। 
 
देशको समग्र विकास र समृद्धिका लागि 
 
(क) दीर्घकालीन सोच, तथ्यपरक नीति तथा योजना तर्जुमा गर्ने 
 
(ख) देशको विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको कार्यान्वयन, प्रतिफल तथा प्रभावको विश्वसनीय र प्रभावकारी अनुगमन तथा मुल्याङ्ककन प्रणालीको विकास गर्ने र लागू गर्ने 
 
(ग) संघ, प्रदेश र स्थानीय तयको विकास सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनमा समन्वय, सहयोग र सहजीकरण गर्ने
 
(घ) राष्ट्रिय नीतिको सान्दर्भिकता वा विकास योजना तथा कार्यक्रमबारे विभिन्न पक्षका विषयमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने जस्ता बुँदाहरू नयाँ आदेशमा समावेश गरिएका छन्। 
 
२०१३ सालमा गठन भएको योजना आयोगले ६ दशकको अवधिका १३ वटा आवधिक योजना तयार पारिसकेको छ। अहिले हामी चौधौं योजनाको तेस्रो बर्षमा छौं। तर उहि दीर्घकालिन सोच, उद्देश्य र लक्ष्य प्राप्तीमा नै अल्झीएका छौं। संघ, प्रदेश र स्थानीय तहको निर्वाचन पछिराष्ट्रिय योजना आयोगको औचित्य र भूमिकाबारेमा प्रश्नहरू उठेका छन्।
 
आम जनताको छिटोभन्दा छिटो आफ्नो जीवनस्तर परिवर्तित भएको अनुभुत गर्ने चाहनालाई साकार पार्न राष्ट्रियस्तरका योजना निर्माण गर्दा निकै ध्यान पुर्याउनु पर्ने देखिन्छ। यस्तो परिस्थितीमा राष्ट्रिय योजना आयोगले विगतका अनुभवलाई राम्ररी विश्लेषण गरी नयाँढङ्गबाट विकास र सम्बृद्घिको मार्गचीत्र कोर्नु पर्दछ। आयोगले स्पष्ट मार्गचित्र सहित परिणाममुखी कार्यक्रम जनतासामु ल्याउन सकेमात्र आफ्नो औचित्यमाथि उठ्ने प्रश्नहरुको जवाफ दिन सक्नेछ। सामाजिक आर्थिक रुपान्तरण र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई सम्मानजनक स्थानमा पुर्याउनपनि योजना आयोगको भूमिका महत्वपूर्ण हुनेछ।
 
भर्खरै सम्पन्न निर्वाचन मार्फत जनताले बलियो र स्थायीसरकार गठन गर्ने जनमत दिएको छ। राजनीतिक संक्रमणबाट आजित भएर जनताले विकास र सम्बृद्घिका लागि यस्तो जनमत दिएका हुन्। जनताको यो चाहनालाई पुरा गर्न राष्ट्रिय योजना आयोगको कुशल र दक्ष भूमिकाआवश्यक हुन्छ। त्यसैले उपयुक्त नीति,योजना र कार्यक्रम मार्फत जनताले चाहे बमोजिमको विकास र समृद्धि साकार पार्नथिङ्क ट्याङ्कको अहम भुमिका योजना आयोगले खेल्नु पर्दछ ।यसका लागि राष्ट्रिय योजना आयोगले निम्न पाँचवटा विषयमा ध्यान दिनुपर्ने देखिन्छ–
 
(१) संगठनात्मक संरचना: राष्ट्रिय योजना आयोगको सफलताको लागिसबभन्दा महत्वपुर्ण भूमिका संगठनात्मक संरचनाको हुन्छ। बिगतको अनुभवमा प्रधानमन्त्रीको अध्यक्षतामा आयोगको पुर्ण बैठक नियमित रुपमा नबस्ने, आयोगका पधादीकारीहरुले अध्यक्षसंग राम्ररी परिचित हुने अबसर नपाउने, संबाद बिरलै हुने जस्ता संगठनात्मक कमजोरी थिए। यसलाई परिवर्तन गर्नुपर्ने देखिन्छ। संगठनको चुस्तताको लागि प्रधानमन्त्रीको अध्यक्षतामा आयोगको नियमित पुर्ण बैठक महिनामा एक पटक बस्ने परिपाटी बसाल्नु पर्दछ। यसले समग्र विकास र समसामयीक बिषयमा छलफल र समीक्षा गर्न मद्दत गर्नेछ। 
 
परिमाणमुखि विकासको जिम्मेवारीबोधका लागिसमयाबधी ताकेरै कार्ययोजनाहरू तयार पार्नु पर्दछ। यसले योजनाहरू कार्यान्वयन भएनभएको अनुगमनमा सहयोग पुर्याउनेछ। आयोगका उपाध्यक्ष र सदस्यहरुको कार्य सुचि र दिइएको जिम्मेबारी अनुसारको प्रगति समिक्षा नियमित गरीनुपर्दछ। विगतमा राष्ट्रिय योजना आयोगको सचिवालय र पदाधिकारीहरु विच कार्यगत सामन्जस्यता नमिल्दा योजना कार्यान्वयनमा अलमल हुने गरेको थियो। 
 
पदाधिकारीहरुलाईकाम गर्न सहयोगी र सहजीकरण गर्न विषयगत र प्रशिक्षित कर्मचारीहरुको आबश्यक हुन्छ। पदाधिकारी अन्र्तगत रहने कर्मचारीको कार्यसम्पादन मुल्याङ्कक सम्बन्धीत पदाधिकारीले गर्ने वा शिफारीस गर्ने परिपाटी हुनसके कार्यसम्पादन गर्न सहज वातावरण सिर्जना हुन सक्ने देखिन्छ। 
 
राष्ट्रिय योजना आयोगको संगठनात्मक संरचना भित्र सार्वजनिक निजि साझेदारी केन्द्रिय तथ्याङ्क बिभाग र राष्ट्रिय विकास स्वयं सेवालाइ समावेश गरीनु पर्दछ। तिनै तहको सरकारको सिमित स्रोत र साधनले मात्र  जनताले चाहे जस्तो विकास र सम्बृद्धि प्राप्त गर्न सकिंदैन। निजि क्षेत्रको ब्यावस्थापकीय सिप, आर्थिक स्रोत र नविनतम् प्रविधिको प्रयोगको लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रवद्र्धन गरिनु पर्दछ। सार्वजनिक र निजि क्षेत्रहरु लाई परियोजना सम्बन्धी अध्ययन गर्न, दस्तावेजहरु तयार पार्न सहयोग गर्न र अनुशिक्षण गर्न एवं न्युन परिपुर्ति कोष निर्माणको लागि विशेषज्ञहरुको सुझाव अनुसार सिफारीस गर्न  सानिसा केन्द्रले टेवा पुर्याउन सक्दछ।
 
केन्द्रिय तथ्याङ्क विभागको हालको संगठनात्मक ढाँचालाई परिवर्तन गरी स्मार्ट एवं सुचना प्रविधि मैत्री बनाईनु पर्दछ। स्थानीय तह, प्रादेशीक तह र संघीय तहमा तथ्याङ्कहरुको एकरुपता र सामन्जस्यता प्रणाली विकास गरि केन्द्रिय तथ्याङ्क भण्डारमा उपलब्ध हुने व्यावस्था मिलाइनु पर्दछ। एकीकृत तथ्याङ्क प्रणालीको विकास गरि तथ्यपरक तथ्याङ्कको सर्वसुलभता बढाउन,  भौगोलिक सुचना प्रणाली मार्फत तथ्याङ्क उपलब्ध गराउन र राष्ट्रिय योजना आयोगलाई तथ्यपरक निति तथा योजना निर्माण गर्न मद्दत पुर्याउन सहयोगी संस्थाको रुपमा केन्द्रीय तथ्यांक विभागको विकास गरिनु पर्दछ। 
 
राष्ट्रिय विकास स्वयंम सेवा मार्फत हाल दिइरहेको सेवालाई स्थानीय तहमा विकेन्द्रित गर्दै सुदृढ पार्नु पर्दछ। यस संस्थामार्फत अवकास प्राप्त सरकारी वा निजि क्षेत्रका कर्मचारी वा विज्ञहरुको रोष्टर तयार बनाई राष्ट्रिय विकासमा स्वयंम सेवककारुपमा कामगर्ने अबसरहरु मिलाइनु पर्दछ। 
 
(२) समृद्धि: राष्ट्रिय योजना आयोगको मुख्य कार्य भनेको मुल्यमा आधारीत समृद्धिको खाका तयार गरी कार्यान्वयनमा सहयोग पुर्याउनु हो। दिगो आर्थिक बृद्धि, प्रतिब्यक्ति आयमा बृद्धि, असमानता न्युनीकरण, मौलिकता एवं समावेशीता सहितको विकास र जनतामा खुसिको अनुभुति ल्याउनु पाँच आधार मुल्यमा आधारीत समृद्धि हो। यसको लागि राष्ट्रिय योजना आयोगले आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पुर्वाधार क्षेत्र, प्राकृतिक स्रोत उपभोग र व्यावस्थापन, समन्वय र शुसासन गरी मुख्य पाँच क्षेत्रहरुको रणनैतिक योजना र कार्ययोजना तयार गर्नुपर्दछ। 
 
सन् २०२० मा अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती गर्न, सन् २०३० सम्ममा मध्यम आय बर्गका मुलुकको स्तरमा पुग्न र सन् २०५० सम्म समुन्नत राष्ट्रमा पुग्ने लक्ष्य प्राप्त गर्न कार्ययोजना सहित अल्प, मध्यम र दिर्घकालीन दुरदृष्टिकोणको नेपाल भिजन २०२०, नेपाल भिजन २०३० र नेपाल भिजन २०५० तयार पारी समृद्धिको स्पष्ट मार्गदिशा तयार पार्दै कार्यान्वयनमा केन्द्रित हुनुपर्दछ।
 
(३) संघीयताः संघ, प्रदेश र स्थानिय तहको विकास र सम्बृद्घिको ढाँचालाई एकरुपता र सन्तुलित पार्दै एकिकृत रुपमा मुलुकलाई समृद्धि र विकासको मार्गमा हिंडाउन राष्ट्रिय योजना आयोगको अहम भूमिका हुन्छ। संघीयताको मर्मलाई मनन गरी विकास र समृद्धि हासिल गर्न आबश्यक पर्ने बजेट र योजना तर्जुमाको लागि तीनै तहलाई राष्ट्रिय योजना आयोगले आबश्यक सहयोग पुर्याउनु पर्दछ।
 
(४) समन्वय र शुसासनः संघ, प्रदेश र स्थानिय तहहरुको विच, प्रदेश–प्रदेश विच र स्थानिय तहहरु  विच, प्रदेश र संघ विच, मन्त्रालय र सम्बन्धीत कार्यालयहरु विच विकास कार्यको लागि समन्वय आबश्यक पर्दछ। समन्वय र शुसासन मार्फत विकास र समृद्धिले गति प्राप्त गर्दछ। यो भूमिका परिवर्तित राष्ट्रिय योजना आयोगले प्रभावकारी रुपमा नागरीकले महसुस गर्ने गरी गर्न सक्नुपर्दछ।
 
(५) साझेदारीः विकासको लागि ठूलो आकारको साधन र स्रोतको आबश्यक्ता पर्दछ। सरकारी तहबाट मात्र जनताको चाहानाअनुरुप  विकासलाई आबश्यक पर्ने स्रोत र साधन उपलब्ध हुन सक्दैन। सार्वजनिक निकाय र निजि क्षेत्र, गैर सरकारी संघ संस्थाहरु विचको साझेदारीले विकास र समृद्धिको बाटोमा छिटो पुग्न सकिन्छ। यसको निमित्त राष्ट्रिय योजना आयोगको महत्वपुर्ण भूमिका हुनुपर्दछ। समुदायदेखि विकास साझेदार सम्म विकास र समृद्धिको लागि साझेदारी गरी अगाडि बढ्न राष्ट्रिय योजना आयोगले मार्ग दर्शन गर्न सक्नु पर्दछ। 
 
राष्ट्रिय योजना आयोगले समृद्धि र विकासका खम्बाहरु कृषि, पुर्वाधार, जलस्रोत, पर्यटन, शहरी विकास इत्यादिमा रणनैतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भूमिका निभाउनु आबश्यक देखिन्छ। राष्ट्रको समृद्धिको लागि आबश्यक पर्ने राष्ट्रिय गौरव एवं राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको अध्ययन गरी बिस्तृत विवरण सहित परियोजना बैंक तयार पार्ने र आन्तरीक स्रोतको खोजी एवं वैदेशीक लगानिको समेत निक्र्यौल गरी कार्यान्वयनमा ल्याउने प्रमुख भूमिका राष्ट्रिय योजना आयोगले खेल्न सके आयोगको औचित्य पुष्टि हुन सक्दछ। 
 
(श्रेष्ठ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन्।)

Tata
GBIME
Nepal Life