Bizmandu
www.bizmandu.com

असारसम्म ७५३ स्थानीय तहमा बैंक पुग्ने अभियानमा लाग्यो ब्रेक, गभर्नर नेपालले के भने?


काठमाडौं। असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुर्याउने अभियान सफल नहुने देखिएको छ। बाणिज्य बैंकहरुले ७५३ स्थानीय तहमध्ये ३८ वटामा पुग्न गाह्रो हुने जनाएका छन्।
 
सक्षम, बैंकर्स संघ र राष्ट्र बैंकबीच भएको छलफलमा बैंकरहरुले शाखा विस्तारमा कठिनाइ भएको बताएका हुन्। कार्यक्रममा गभर्नर डा. चिरञ्जिबी नेपालले सबै प्रदेश र स्थानीय तहको आआफ्नै विशेषता रहेको हुँदा त्यहाँ गएर आर्थिक कृयाकलापमा सघाउन बैंकहरुलाई निर्देशन दिएका छन्।
 
देशभर ७५३ वटा स्थानीय तह छन्। यसमध्ये ४५७ वटा स्थानीय तहमा बैङ्कको शाखा खोल्नु पर्ने थियो। ४५७ मध्ये ९८ वटा स्थानीय तहमा शाखा खुलिसकेका छन्।

३५९ वटा स्थानीय तहमा शाखा खोल्नु पर्नेमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धा अनुसार काम गरिरहेका थिए। बाँकी ११६ स्थानमा शाखा खोल्न बैंकहरु तयार थिएनन्। राष्ट्र बैङ्कले ११६ मा पनि शाखा खोल्न भनेपछि बैंकहरुले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए। बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैङ्क तयार नभएपछि राष्ट्र बैङ्कले ठाउँ तोकेरै बैंकहरुलाई शाखा खोल्न निर्देशन दिएको थियो। 
 
यसमध्ये ३८ वटामा असार मसान्तसम्म शाखा खोल्न नसकिने बैंकरले राष्ट्र बैंकलाई जानकारी गराएका हुन्।