Bizmandu
www.bizmandu.com

एफएनसीसीआर्इ अस्थिरतामा फस्यो, वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बनाउने विधान संशोधनको तयारी

एफएनसीसीआर्इ अस्थिरतामा फस्यो, वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बनाउने विधान संशोधनको तयारी


विराटनगर ।सरकारसँग सधै नीतिगत स्थिरताको माग गर्ने नेपाल उद्योग वाणिज्य महासंघ आफै अस्थिर बाटोमा हिड्न थालेको छ।



निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था महासंघ ‘एक पात्र’को गोटी बन्दा अस्थिर बनेको हो।ती एक पात्र हुन महासंघकै पूर्व अध्यक्ष चण्डीराज ढकाल।ढकाल त्यस्ता गोटी हुन जसलार्इ महासंघको विरासत बोकाएर हिडाउन सबै व्यवसायी तयार छन्।उनी त्यही विरासत बोक्दै आफ्नो अनुकुल काम गर्छन् र त्यसलार्इ महासंघका सबै व्यवसायीले सदर गर्छन्।

 केही दिन अघि भएको महासंघको साधारणसभामा ढकालले विशेष साधारणसभामार्फत विधान संशोधनका लागि समिति बनाउन प्रस्ताव गरे।त्यो प्रस्तावलार्इ महासंघका सबै सदस्यले कर्कलध्वनीले थपडी बजाएर पारित गरे।थपडी बजाएकै मौकामा उनले समितिको संयोजक समेत आफैंलार्इ तोके।



आगामी आठ महिनाभित्र विशेष साधारण सभामार्फत् वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउन विधान संशोधन समिति गठन गरिएको हो। महासंघका उपाध्यक्ष किशोर प्रधानले साधारण सभाले ढकालको संयोजकत्वमा विधान संशोधन समितिको गठन गरिएको जानकारी दिँदै समितिमा आवश्यक पर्ने सदस्यको चयन गर्ने अधिकार पनि ढकाललाई नै दिएको स्पष्ट पारे ।

महासंघका एक पदाधिकारीका अनुसार केही समययता वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र विशिष्ट सदस्य ढकालबीच बढ्दै गएको असमझदारीका कारण विशेष साधारण सभाबाट विधान संशोधन गरेर भए पनि ढकाल गोल्छालाई अध्यक्ष हुन दिने पक्षमा छैनन्।

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा गोल्छासित पराजित भएका किशोर ढकालका तानाबानामा जिल्लानगर उपाध्यक्ष जित्न सफल भएका हुन् । ढकालले प्रधानलाई महासंघको अध्यक्ष बनाइदिने लोभ देखाएका छन् । ढकालले प्रधानलाई जिल्लानगर उपाध्यक्षमा जिताउन कम्मर कस्नुका पछाडि भावी नेतृत्वका आकांक्षीसित कसिलो सौदाबाजी गर्नुरहेको महासंघका एक सदस्यले बताए।

महासंघको भावी नेतृत्वमा हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र उमेशलाल श्रेष्ठबीच भिडन्त हुने देखिएको छ । ढकाल र श्रेष्ठमध्ये जताबाट बढी लाभ पाउँछन् त्यतै ढकाल लाग्नेछन्।महासंघको हरेक निर्वाचनमा चण्डिराज  ढकालले देखाएको प्रवृति यही हो।

‘म तटस्थ छु’
ढकालले निर्वाचनमार्फत अध्यक्ष चयन हुनुपर्ने आवाज आएको बताए।



‘आजभन्दा १८ महिनाअघि मेरै संयोजकत्वमा मस्यौदा गरिएको विधान पारित भएर वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान सुरु भएको हो’, विशिष्ट सदस्य ढकालले बिजमाण्डूलाई भने, ‘यति बेला आएर म वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनुपर्छ वा अध्यक्षको प्रत्यक्ष निर्वाचन नै गरिनुपर्छ भन्ने दुबै लाइनमा छैन । म विधान संशोधन समितिको संयोजक भएका कारण तटस्थ छु ।’

पूर्व अध्यक्ष ढकालका अनुसार विभिन्न जिल्ला र नगर उद्योगवाणिज्य सङ्घबाट प्रत्यक्ष निर्वाचनका माध्यमबाट नै अध्यक्षको चयन हुनुपर्छ भन्ने माग सशक्त रूपमा आइरहेको छ । उनका अनुसार अहिलेकै विधानअनुसार हालका वरिष्ठ उपाध्यक्षलाई आगामी कार्यकालमा अध्यक्ष दिएर अर्को कार्यकालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचनमा जानुपर्छ भन्ने अभिमत राख्नेहरू पनि प्रशस्त छन् । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने वैधानिक प्रावधानलाई जारी राख्नुपर्छ भन्ने तेस्रो धार पनि छ ।

‘म महासङ्घको विधान संशोधन समितिको संयोजक तेस्रो पटक भएको हुँ’, ढकालले भने, ‘यसअघि संयोजक नहुँदा पनि विधान संशोधनमा महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गरेको थिएँ । त्यसैले महासङ्घको विधानमा कहाँ व्यवधान छ र यसलाई कसरी सच्याउनु पर्छ भन्ने कुरामा मेरो भिजन क्लियर छ । तर त्यो भिजन अहिले मैले भन्न मिल्दैन ।’

उनले देशभरिका जिल्ला नगर, वस्तुगत, एसोसिएट तथा अन्य जानकारविज्ञ र पूर्व पदाधिकारी समेतको वृहत् अन्तरक्रिया र सल्लाहमा विधान संशोधन गरिने स्पष्ट पारे ।

‘संशोधन आवश्यक छैन’
महासङ्घका पूर्व अध्यक्ष पशुपति मुरारकाले १८ महिनाअघि मात्र संशोधन गरिएको महासङ्घको विधानलाई विशेष साधारण सभा बोलाएर संशोधन गरिनु नहुने अडान राखे।



‘अध्यक्षको प्रत्यक्ष निर्वाचनमा जान खोजिँदैछ भन्ने गाइँगुइँ मैले पनि सुनेँ’, पूर्व अध्यक्ष मुरारकाले भने, ‘साँच्चै यसो गर्न खोजिएको हो भने दुर्भाग्य हुन्छ । महासङ्घभित्रको राजनीति अझ विकृत हुन्छ ।’

प्रत्यक्ष निर्वाचनको सामना गरेर विजयी भएको अध्यक्षमा अनुभवको कमी हुने र निर्वाचनको तात्कालिक रागद्वेषले सौहाद्र्रपूर्ण रूपमा कार्यसम्पादन गर्न नसक्ने उनको ठहर थियो ।

पशुपतिको भनाइ थियो, ‘दुई वर्ष वरिष्ठ उपाध्यक्षमा काम गरेको व्यक्तिमा यथेष्ट अनुभव हुन्छ । निर्वाचनको रिसराग पनि हुँदैन । त्यसैले उसले स्वाभाविक र निर्विघ्न लयमा अध्यक्ष पद सञ्चालन गर्न सक्छ ।’

‘हो, म अध्यक्षको उम्मेदवार हुँ’
ढकालको साथसमर्थनबाट जिल्लानगर तर्फका उपाध्यक्ष भएका किशोरले बिजमाण्डूसित अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन गरिनुपर्ने माग गर्दै आफू उक्त पदको प्रत्याशी हुने घोषणा गरे ।



‘शेखरजी महासङ्घको वरिष्ठ उपाध्यक्ष भएपछि उहाँले खासै सक्रियता देखाउनु भएको छैन’, प्रधानको आरोप थियो, ‘अध्यक्ष पदका लागि उहाँ परिपक्व देखिनु भएन । संस्थाको मर्म र मान्यताका बारेमा पनि जानकारजस्तो लागेन । धननै सबै थोक होइन ।’महासङ्घको प्रदेश नं. १ का अध्यक्ष एवम् केन्द्रीय समितिका पदेन सदस्य नरेन्द्र खड्काले विधान संशोधन जसरी गरे पनि आगामी कार्यकालका लागि शेखरलाई नै अध्यक्ष बनाउनु पर्ने धारणा राखे।

‘जुन विधानको प्रावधानअनुसार उहाँ अध्यक्ष हुन्छु भनेर वरिष्ठ उपाध्यक्षमा जित्नुभयो, त्यो विधानको मर्म र मान्यतालाई कायम गर्दै उहाँलाई अध्यक्ष पद सञ्चालन गर्न दिनुपर्छ’, अध्यक्ष खड्काको सुझाव थियो, ‘अध्यक्षको प्रत्यक्ष निर्वाचनमै जाने हो भने गोल्छालाई अध्यक्ष बनाइसकेपछि जानुपर्छ ।’

प्रदेश अध्यक्षमा पनि चण्डीको स्वार्थ
सम्बद्ध स्रोतका अनुसार विशिष्ट सदस्य ढकालले महासङ्घको प्रदेश समितिको अध्यक्षको मापदण्ड  पनि आफ्नो स्वार्थ लाद्न खोज्दैछन् ।

हालको विधानअनुसार जिल्लानगर उद्योगवाणिज्य सङ्घको अध्यक्ष भइसकेको व्यक्ति मात्र प्रदेश समितिको अध्यक्षको उम्मेदवार हुन पाउँछ । तर विधानमा यो शर्तका कारण चण्डीको स्वार्थअनुकूलका व्यक्तिहरू प्रदेश अध्यक्षमा निर्वाचित हुने छैनन् । त्यसैले जिल्लानगर उद्योगवाणिज्य सङ्घको कार्यसमितिको कुनै पनि पदमा एक पटक निर्वाचित भइसकेको व्यक्ति प्रदेश समितिको अध्यक्ष हुन पाउने गरी विधान संशोधन गर्ने तयारी ढकाल गरिरहेका छन् ।