Bizmandu
www.bizmandu.com

चमेलियाको जगमा २५० मेगावाट विद्युत उत्पादन सम्भव, चमेलियाकै पूर्वाधार देखेर अर्बौ लगानी

चमेलियाको जगमा २५० मेगावाट विद्युत उत्पादन सम्भव, चमेलियाकै पूर्वाधार देखेर अर्बौ लगानी


बलाँच (दार्चुला)।चमेलिया बन्न दश वर्ष लाग्यो र लागत पनि दोब्बर।३० मेगावाटको चमेलियाको लागत प्रति मेगावाट ५१ करोड रुपैयाँ लागेको छ।तर यो आयोजनाले सुदुरपश्चिममा जलविद्युतको विकासको ढोका खोलेको छ।



भौगोलिक जटिलतालार्इ चिर्दै नेपाल विद्युत प्राधिकरणले चमेलिया निर्माण गरेपछि अहिले निजी जलविद्युत उत्पादकले २ सय ५० मेगावाट बराबरका दर्जनौ आयोजना निर्माण गर्दैछन्।चमेलिया सुदूरपश्चिमको दार्चुला र बैतडी जिल्लाको सिमानामा निर्माण भएको हो।कमजोर भौगोलिक बनावट र अति जटिल भूधरातल भएको ठाउँमा प्राधिकरणले आयोजना बनाएसँगै निजी क्षेत्रको २५० मेगावाट विद्युत उत्पादनको बाटो सहज भएको हो।
 
चमेलिया खोलामा ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना र ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको छ।
 
चमेलियापछि आयोजनै आयोजना
चमेलियाको केही तल ३० मेगावाटकै अर्को आयोजना निर्माणका लागि विद्युत विकास विभागले अध्ययन गरिरहेको चमेलिया आयोजनाका प्रमुख अजय दाहालले बताए।
 
८५ मेगावाटको चमेलिया क्षतिगाड जलविद्युत आयोजना, ६२ मेगावाटको कलंगागाडका तीन जलविद्युत आयोजना, ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना, १३.९ मेगावाटको छतिगाड जलविद्युत आयोजना, १३ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना, ९.५ मेगावाटको नौगाड जलविद्युत आयोजना, १० मेगावाटको मकरगाड जलविद्युत आयोजना,  र अन्य साना ठूला गरि दर्जन बढी जलविद्युत आयोजनाबाट २५० मेगावाट भन्दा बढी विद्युत उत्पादनको बाटो खुलेको आयोजना प्रमुख दाहालले बताए।
 
उक्त आयोजनाबाट उत्पादित विद्युत चमेलियाले बनाएको सवस्टेशन र प्रसारणलाईन मार्फतनै राष्ट्रिय प्रसारणलाईनमा जोडिने दाहालले बताए।
 
प्रशारणलाइन र विदेशी विनिमयले आयोजना महँगो
३० मेगावाटको आयोजना निर्माण गर्न करिव १५ अर्ब रुपैयाँ खर्च भएको छ। चमेलियाको उत्पादन लागत बढ्यो भनेर आलोचना हुन्छ।

तर १ सय ३१ किलोमिटर लामो अत्तरिया-बलाँच १३३ केभी डवल सर्किट प्रसारणलाईन निर्माण (अहिले सिङ्गल सर्किट मात्र सञ्चालनमा), सडक निर्माण, भेरिएसन, क्लेम, विदेशी मुद्रा विनिमयमा आएको परिवर्तन र अन्य प्रशासनिक खर्चमा ६ अर्ब १८ करोड रुपैयाँ बढेको हो।

यो रुपैयाँ घटाउने बित्तिकै आयोजनाको लागत ९ अर्ब रुपैयाँ हाराहारी मात्रै हुने भएकोले अन्य पिकिङ आयोजना सरहनै लागत परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
 
चुनौती माथिको बिजय
ईन्जिनियर, भूगोल र सरकार सबैलाई चुनौती दिएको आयोजनाको निर्माण सम्पन्न गरेर सफलता पाएको उर्जा सचिव अनुपकुमार उपाध्याएले बताए।
 
चमेलियाले बनाएको बाटो, प्रसारण लाईन, सवस्टेशन लगायतका पूर्वाधारको जगमा अन्य २५० मेगावाटका आयोजना बन्न लागेको उनले बताए।
 
२२ आयोजनाको ६५६ मेगावाट विद्युत 
प्रदेश नम्बर ७ मा दुई वटा आयोजनाबाट ३८.५ मेगावाट विद्युत उत्पादन भएका छन्। २२ वटा जलविद्युत आयोजनाको ६५६ मेगावाट विद्युत निर्माणको प्रकृया सुरु भएको छ।
 
१५ वटा आयोजनाले ५१० मेगावाट विद्युतको सर्वेक्षण अनुमति पाएका छन्। ८१ मेगावाट बराबरका ३ आयोजनाले निर्माण अनुमतिको लागि आवेदन दिएका छन् भने ६५ मेगावाट बराबरका ४ वटा आयोजनाले निर्माण अनुमति पाईसकेका छन्।
 
त्यो मध्ये चमेलिया जलविद्युत आयोजनाको पूर्वाधार प्रयोग गरेर राष्ट्रिय प्रसारण लाईनमा जोडिने २५० मेगावाट बराबरका दर्जन बढी जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए।