Bizmandu
www.bizmandu.com

बर्षमा १० टन गहना उत्पादन गर्ने एउटा यस्तो उद्योग, जहाँ श्रमिकहरु बिभेद बिर्सेर गहना बनाउँछन्

बर्षमा १० टन गहना उत्पादन गर्ने एउटा यस्तो उद्योग, जहाँ श्रमिकहरु बिभेद बिर्सेर गहना बनाउँछन्


विराटनगर। बिराटनगरको टेक्नो जया ज्वेलर्सले बार्षिक रुपमा १० मेट्रिक टन चाँदीका गहना तथा भाँडाकुँडा उत्पादन गर्दै आएको जनाएको छ।



२० वर्षअघि सुनचाँदीका गरगहना उद्योगको सम्भावना देखेरै आफूले उद्योग खोलेको संचालक बेनी गोपाल मुन्दडा बताउँछन्। २०६४ सालमा २५ श्रमिकबाट सुरु भएको उद्योगमा अहिले दुई सय ४० श्रमिक छन् । यसमध्ये एक सय ६० महिला छन् ।

उद्योगमा श्रमिकहरू अधिकांश स्थानीय र तराई मूलका छन् । श्रमिकले सामान्यभन्दा अलि बढ्ता तापक्रममा काम गर्नुपर्छ । स्थानीय तराई मूलका श्रमिक अलि बढी तापक्रमसित पनि सहज हुन सक्ने भएकाले उद्योगमा तराई मूलका मानिसहरुले नै काम गर्ने गरेका छन् ।

संचालक मुन्दडा भन्छन्- ‘ हाम्रो उद्योगले जातीय छुवाछुतको भावना र सामाजिक विभेदलाई अन्त गर्न मद्दत गरेको छ । गहना बनाउने कथित तल्लो जातिले हो भन्ने सामाजिक मान्यता बिपरित यहाँ सबै जाति र उच्च भनिएका जातिका श्रमिक पनि कार्यरत छन् ।’



चाँदीका गहना बनाउँदा पहिले केडियमको प्रयोग भएको तर यसको प्रयोग हानिकारक भएको  थाहा पाएपछि हाल त्यसको प्रयोगमा बन्देज लगाइएको पनि उनले बताए।

केडमियम मिसाइएका गहना प्रयोग गर्दा छालामा क्यान्सर हुने जोखिम पैदा हुन्छ। उद्योगले जिङ्क र कपरको मिसावट गरी गहना उत्पादन गर्ने गरेको छ। गहनालाई बलियो बनाउन आवश्यकताअनुसार जिङ्क र कपर मिसाउनुपर्ने संचालक मुन्दडाले जानकारी दिए। तर चाँदीका गहना वा भाँडाकुँडामा कति–कति जिङ्क र कपर मिसाइएको छ भनेर ग्राहकलार्इ बिलमै लेखेर दिने गरेको उनले बताए। 



उद्योगले तीन प्रकारका गहना बनाउँदै आएको छ। चाँदीको मात्रा ६८, ८० र ९२ दशमलव ५ प्रतिशत भएको तीन तहका गहनाहरु उद्योगमा उत्पादन हुने गरेको छ।

सरकारले सीप विकास, स्वरोजगार र आत्मनिर्भरताका नाममा करोडौँ बजेट छुट्याउने गरेको भन्दै संचालक मुन्दडाले  सरकारी तवरबाटै श्रमिकहरुलार्इ गहना बनाउने प्रशिक्षण दिए भारतबाट प्रशिक्षक झिकाउनु पर्ने बाध्यताको अन्त्य हुने धारणा राख्छन्।

उद्योगले विराटनगर, इटहरी, बिर्तामोड, काँकडभिट्टा, धरान, राजविराज, सप्तरीको कञ्चनपुर, लाहान, वीरगञ्ज, बुटवल, सिन्धुली र उपत्यकाका तीन वटै शहरमा चाँदीका गहना तथा भाँडाकुँडा बिक्री बितरण गर्दै आएको जनाएको छ।